डेढ महिनापछि सुरु भयो नेकपा स्थायी कमिटी बैठक, अग्रभागमा पाँच नेताको कुर्सी-Sutra News

डेढ महिनापछि सुरु भयो नेकपा स्थायी कमिटी बैठक, अग्रभागमा पाँच नेताको कुर्सी

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। १३ साउनमा स्थगित भएको बैठक झण्डै डेढ महिनापछि सुरु भएको हो।



आजको बैठकमा पार्टीका पाँच नेताहरु अग्रस्थानमा देखिएका छन्। अध्यक्षद्वय ओली र प्रचण्डका साथ वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम बैठकको अघिल्लो लहरमा छन्। असार दोस्रो हप्ता सुरु भएको बैठक पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा १३ साउनमा अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो।

खासगरी पार्टीभित्रको बहुमत आफ्नो विपक्षमा गएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक टार्दै आएका थिए। पार्टीको स्थायी कमिटी र केन्द्रीय सचिवालय दुबैमा ओलीको विपक्षमा दुई तिहाई बहुमत देखिएपछि सरकार समेत संकटमा परेको थियो।

तर, एक महिना यता सहमति जुटाउन प्रयासहरु भएपछि स्थायी कमिटीको बैठक हुने वातावरण बनेको हो ।

विवाद समाधानका लागि अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव समेत तयार पारिसकेका छन्। स्थायी कमिटी बैठक हुनुअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा भन्दा बढी वार्ता भएको थियो।

119224340_353372792504791_7679985758233221891_n.jpg

आजको बैठकमा पेश गर्ने प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन्। महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अध्यक्षद्वयले प्रतिवेदन तयार गरेका थिए।

वैशाख–जेठदेखि पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानमा आजदेखि सुरु हुने बैठक निर्णायक हुने अपेक्षा नेकपाभित्र छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट