स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता-Sutra News

स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बैठक सुरु भएको छ। नेकपा स्थायी समितिको बैठकको तयारीका लािग अध्यक्षद्वय बीच बैठक सुरु भएको हो।



नेकपा स्थायी कमिटीको बैठक केहीबेर पछि नै प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ। विहान १० बजेदेखि सुरु भएको अध्यक्षद्वयको बैठक सकिएलगत्तै ११ बजेदेखि स्थायी कमिटीको बैठक सुरु हुने बताइएको छ।

आजको बैठकमा पेश गर्ने प्रतिवेदन अध्यक्षद्वयले यसअघि नै सार्वजनिक गरिसकेका छन्। महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अध्यक्षद्वयले प्रतिवेदन तयार गरेका हुन्।

वैशाख–जेठदेखि पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानमा आजदेखि सुरु हुने बैठक निर्णायक हुने अपेक्षा नेकपाभित्र छ। विवाद समाधानका लागि अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव समेत तयार पारिसकेका छन्।

सो प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने विषय समावेश छन्।

यसैगरी पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको कामबारे थप काम गर्ने र संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने पनि प्रस्तावमा उल्लेख छ।

प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, सीमा समस्या र समाधान सम्बन्धमा गर्ने काम, कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी–पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।

यसबाहेक शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरूको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र एमसीसी सम्झौताको विषयमा निर्णय गर्ने लगायतका विषयमा पनि त्यसमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट