प्रस्तावित राजदूत अधिकारीको कार्ययोजना : पाकिस्तानमा ‘फुड फेष्टिबल’ आयोजनादेखि छात्रवृत्ति वृद्धि आयोजना गर्नेसम्म-Sutra News

प्रस्तावित राजदूत अधिकारीको कार्ययोजना : पाकिस्तानमा ‘फुड फेष्टिबल’ आयोजनादेखि छात्रवृत्ति वृद्धि आयोजना गर्नेसम्म

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं- सरकारले प्रस्ताव गरेका तीनैजना राजदूतका उम्मेदवारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। प्रस्तावित तीन राजदूतहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतमा नियुक्तिका लागि सुनुवाइ समितिले अनुमोदन गरेको हो।



मन्त्रिपरिषद्को १ भदौको बैठकले भण्डारीलाई बेल्जियम र युरोपेली संघ, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीका लागि राजदूत प्रस्ताव गरेको थियो। सुनवाइ समितिले अनुमोदन गरेलगत्तै सरकारले उनीहरुलाई सम्बन्धित मुलुकमा राजदूत नियुक्त गर्नेछ।

सुनुवाइको क्रममा तीनैजना प्रस्तावित राजदूतहरुले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका थिए। यसमध्ये पाकिस्तानका लागि प्रस्तावित राजदूत अधिकारीले २३ बुँदे कार्ययोजना संसद सामु प्रस्तुत गरेका थिए।

उनले प्रस्तुत गरेका कार्ययोजना बुँदागत रुपमा निम्न बमोजिम रहेका छन्:
उच्च स्तरीय भ्रमणको आदानप्रदान गरेर दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन प्रयास गर्ने जसले सहयोगका क्षेत्रहरूको विस्तार र नयाँ सहयोगका क्षेत्रहरूको पहिचान गरी द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने छ।

१‍. आतिथेय मुलुकमा नेपाली कला, संस्कृति, जनजीवन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम आयोजना, फोटो प्रदर्शनी आदिका माध्यमबाट नेपालको सभ्यताको प्रचार–प्रसार गराइ राष्ट्रिय पहिचान अभिवृद्धिका साथ पर्यटन, ब्यापार, लगानी र नेपाल प्रतिको आकर्षण वृद्धि गराउने।

२‍. राजदूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धित सूचना, जानकारीको शीघ्र र निरन्तर रूपमा प्रवाह गर्ने।

३. आतिथेय मुलुकका सांसदसँग सघन सम्बन्ध स्थापना गर्न संसदीय मैत्री समूह गठन गर्ने, जसले गर्दा दुबै देशका संसद एवं जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने छ । पाकिस्तानमा पाकिस्तान–नेपाल संसदीय मैत्री समूह कार्यरत रहेको।

४. पाकिस्तान सरकारले वार्षिक रुपमा नेपाली विद्यार्थीलाई विभिन्न विधामा उपलब्ध गराउँदै छात्रवृत्तिको संख्या विस्तार गर्न पहल गर्ने।

५. स्थगित सार्क शिखर सम्मेलन आयोजना गर्न पहल गर्ने, फलस्वरूप क्षेत्रीय सहयोग र एकता अभिवृद्धि हुने।

६. आतिथेय मुलुकसँग भएका द्विपक्षीय संयन्त्रहरूको बैठक नियमित गर्न र आवश्यक संयन्त्र स्थापनाको लागि पहल गर्ने, जसले गर्दा द्विपक्षीय सहयोग विस्तार र सहयोगका नयाँ क्षेत्रको पहिचान हुनेछ।

७. आतिथेय मुलुकले नेपाल, भारत, चीन वा दक्षिण एसियाप्रति लिने राजनैतिक, सामरिक, आर्थिक नीतिको सुक्ष्म अध्ययन गरी परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने, फलस्वरूप नेपालले परराष्ट्र नीति एवं अन्य आन्तरिक नीति निर्माणमा आवश्यक पृष्ठपोषण हुनुका साथ देशभित्रका नीतिहरूमा समेत सामञ्जस्य गर्न सकिने छ।

८. नेपाली उद्यमी, व्यापारी सम्मिलित ‘बि टु बि समिट’ आयोजना गर्ने, फलस्वरूप नेपालको निर्यात व्यापार, लगानी र रोजगारी प्रवर्द्धनका सम्भावनाहरू विस्तार हुने।

९. नेपालको पर्यटन, व्यापार बिस्तारका लागि भएका अवैतनिक वाणिज्यदूत परिचालन गर्ने र महत्वपूर्ण ठाउँमा नयाँ नियुक्ति गरी आर्थिक अवसरको खोजी गर्ने।

१०‍. नेपाली ‘फुड फेष्टिबल’ को आयोजना गरी नेपाली खाद्य परिकार प्रवर्द्धनका साथ पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्‍याउने।

११‍. पर्यटन मेलामा भाग लिई नेपालको पर्यटन प्रवर्द्धन गरी नेपाललाई प्रमुख पर्यटन गन्तब्यका रूपमा विकास गर्ने।

१२. पाकिस्तानको उन्नत कृषि प्रविधि, ज्ञान, सीपलाई नेपालको कृषिमा जोडन प्रयत्न गर्ने फलस्वरूप नेपालको कृषि उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन, रोजगारीका अवसरको सिर्जना र नेपालको समग्र राष्ट्रिय उत्पादनमा वृद्धि हुने।

१३. नेपाली नागरिकको रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु (खासगरी टर्कीमा), नेपाली नागरिकको हकहितको संरक्षण, तलब, विमा लगायतका सेवा सुविधाका अतिरिक्त आवश्यक कन्सुलर सेवा र संरक्षण प्रदान गरी राज्यसँग नागरिकहरूको सम्बन्ध सुदृढ गर्ने।

१४. नेपाली नागरिकहरूलाई सहज, सरल र विद्यार्थीले लामो अवधिको भीषा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्ने।

१५. सार्वजनिक तथा सांस्कृतिक कूटनीतिका विभिन्न क्रियाकलापहरू सञ्चालन गरी नेपालको सौम्य शक्ति (सौम्य शक्ति) को विस्तार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको राष्ट्रिय हित र सम्मानको अभिवृद्धि गर्ने।

१६. आतिथेय मुलकका शहरसँग नेपालको प्रमुख शहरको भगिनी सम्बन्ध स्थापना गरी दुवै देशका नागरिकबीच भातृत्वको भावना विकास गरी नेपालप्रति अन्तर्राष्ट्रिय सहयोग र सद्भावना विकास गर्ने।

१७. आतिथेय मुलुकमा अवस्थित सार्क राष्ट्र्, प्रमुख छिमेकी राष्ट्र्र र प्रमुख शक्तिराष्ट्र्रसँग सुमधुर सम्बन्ध विकास गरी नेपालले लिएको नीति, कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय सहयोग, समर्थन र सद्भावना जुटाउने।

१८. आतिथेय राष्ट्रमा नेपालको बारेमा प्रचारप्रसार गर्ने, स्थानीय राजनीतिकर्मी, उद्यमी, व्यापारी, दबाब समूह, पत्रकार, वुद्धिजिबी, थिङ्कट्याङ्क आदिको परिचालन गरी नेपालको पहिचान एक आधुनिक विचार भएको, शान्तिप्रिय र उन्नतशील मुलुकका रूपमा विकास गर्ने।

१९. इस्लामावादमा नेपाली राजदूताबासको जग्गाको संरक्षण, नेपाली पहिचान झल्किने वास्तुकला भएको चान्सरी भवन निर्माण गरी पाकिस्तानमा नेपालको दिगो सम्पत्ति सहित अलग पहिचान दिने।

२०. काठमाडौं र कराँचीबीच स्थगित हवाइ सम्पर्क पुनःस्थापना गर्न पहल गरी पर्यटन, व्यापार, लगानी र जनता–जनता बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ व्यापक र बिस्तार गर्ने।

२१. नेपालमा गणतन्त्र टर्कीको आवासीय नियोग खोल्न पहल गर्ने फलस्वरूप द्विपक्षीय सम्बन्ध मजबुत हुने, द्विपक्षीय, व्यापार, लगानी, सहयोग एवं रोजगारका क्षेत्र विस्तार हुनुका साथ नेपालको अन्तर्राष्ट्रिय सम्मान र पहिचान अभिवृद्धि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट