नेकपाभित्र यी ५ कुराप्रति कठोर हुँदै ओली–प्रचण्ड-Sutra News

नेकपाभित्र यी ५ कुराप्रति कठोर हुँदै ओली–प्रचण्ड

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं- पार्टीभित्र अनुशासनहीनता थप बढ्न नदिन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा नीति अपनाउने संकेत गरेका छन्।



भोलिदेखि पुनः सुरु हुन लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पेश गर्न अध्यक्षद्वयले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा सशक्त रुपमा रोक लगाउने विषयबारे समेत उल्लेख गरिएको छ।

समाजिक संजालमा नेताविरुद्ध हुने घोचपेच
पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रवृत्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुनु पर्ने मत ओली–प्रचण्डको प्रतिवेदनमा छ।

‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ।’

प्रधानमन्त्रीका सल्लाकारहरु नै मुख्य नेताहरुप्रति समाजिक सञ्जालमा घोचपेचमा उत्रिने गरेका छन्। पछिल्लो समय प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलक्षित टिप्पणी ट्वीटरमा गरेका थिए।

प्रेस सल्लाहकार सूर्य थापाले पनि बेला–बेला त्यस्तै टिकाटिप्पणी गर्ने गरेका छन्।

गुटबन्दी र अराजकता
अध्यक्षद्वय पार्टीभित्र हुने ‘कुटबन्दी र अराजकता’विरुद्ध पनि कडा हुने भएका छन्। यद्यपि उनीहरु आफैंलाई पनि गुटको नेतृत्वकर्ता भन्ने अरोप लाग्ने गरेको छ। ओली–प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ।’

पछिल्लो समय नेकपाभित्र देखिने गरी तीन गुट अस्तित्वमा छन्। दुई गुटको नेतृत्व अध्यक्षद्वय नै गर्छन् भने अर्का नेता माधव नेपालको नेतृत्वमा पनि अर्को गुट सञ्चालित छन्।

यो समस्या समधान गर्न सबैभन्दा पहिले आफैंप्रति उनीहरु निर्मम हुने पर्ने देखिएको छ।

अपारदर्शी जीवनशैली
सबै नेता र कार्यकर्ताको जीवन शैली पारदर्शी र जवाफदेही हुनुपर्नेमा अध्यक्षको समान धारणा छ। आफ्नो जीवन शैली, आचारण तथा कामप्रति सबै जवाफदेही हुनु पर्ने ओली–प्रचण्डको मत छ।

‘सबैलाई, विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

तर, मुख्य नेताहरुले नै भड्किलो र अपारदर्शी जीवनशैली अपनाइ रहेको आरोप लाग्ने गरेको छ।

गैरकूटनीतिक कार्य
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थागत गर्ने र गैरकूटनीतिक क्रियाकलापमा संलग्न हुन नुहने विचार अध्यक्षद्वयको छ। यद्यपि विदेशी राजदूत र नेकपा नेताहरुबीच भएका भेटघाट पनि कूटनीतिक मर्यादा बाहिर रहेको आरोप लागिरहेको छ।

‘पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धलाई पार्टीको नीति तथा विधि अनुरुप संस्थागत एवम् पारदर्शी रुपमा सञ्चालन गर्ने र कूटनीतिक मान्यतासँग अमिल्दा कार्यहरु नगर्ने,’ प्रतिवेदनमा भनिएको छ।

कमजोरी दोहोर्‍याउनेविरुद्ध
नेता, कार्यकर्ताले आआफ्ना कमिकमजोरीप्रति आत्म समीक्षा गर्ने र गल्ती दोहोर्‍याउन नुहने अध्यक्षद्वयको भनाइ छ।

‘सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ–आफ्ना गल्ती, कमिकमजोरीप्रति आत्मसमीक्षक र आत्मआलोचित हुँदै भविष्यामा यसप्रकारका गल्ती कमजोरीहरु दोहोरिन नदिन निर्देश गर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अतितमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई वेवास्ता गरेर होइन्, तीनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्जल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट