एसिड पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ : प्रधानमन्त्री-Sutra News

एसिड पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ : प्रधानमन्त्री

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। देशभर एसिड आक्रमणका घटनामा परेकामध्ये १२ जना पीडित सहभागी विशेष कार्यक्रममा बिहीबार बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।



‘वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले व्यहोर्नेछ, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

एसिड पीडितले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारवाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने पनि ओलीले बताएका छन्। यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन समेत दिएका छन्।

आक्रमणकापछि पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै ओलीले उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने पनि बताए।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने पनि बताएका छन्। हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन्।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वास्त गरेका छन्।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट