किसानलाई मल उपलब्ध गराउन नसक्नेले सरकारमा बस्नुको औचित्य छैन : डिला संग्रौला-Sutra News

किसानलाई मल उपलब्ध गराउन नसक्नेले सरकारमा बस्नुको औचित्य छैन : डिला संग्रौला

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- कांग्रेस नेतृ डा.डिला संग्रौलाले किसानलाई मल उपलब्ध गराउन नसके सत्तामा बसिरहनुको कुनै औचित्य नभएको बताएकी छिन्। युरिया मलको अभावले उत्पादन घट्ने चिन्तामा रहेका किसानलाई सरकारले समयमानै मल उपलब्ध गराउन सकेको छैन। मल अभावको विषयमा राष्ट्रिय समस्या बनिरहँदा प्रमुख प्रतिपक्षी दलकी नेतृ डा.संग्रौलाले सो कुरा बताएकी हुन्।



किसानलाई मल उपलब्ध गराउनु सामान्य काम पनि सरकारले गर्न नसकेको नेतृ डा.संग्रौलाले बताइन्। मल उपलब्ध गराउन नसक्नुका पछाडी चलखेल नै भएको उनको दाबी छ। उनले भनिन्, ‘समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडी चलखेल गर्नकै लागि नै टेन्डरमा ढिलासुस्ती गर्नु एकातर्फ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहीन कम्पनिलाई आपूर्तिको ठेक्का नै हो। २५/२५ हजार मेट्रिकटन मल आयात गर्ने जिम्मा पाएका सैलुङ र हानी मल्टिपलले मल आयात नै गरेनन्।’

उनका अनुसार यी दुबै कम्पनीका मालिक सत्ताका नजिक्का रहेका छन्। कृषिमन्त्रीले कम कबोल्नेलाई ठेक्का दिंदा समस्या भएको भन्ने गैर-जिम्मेवार अभिव्यक्ति बाहिर आएको छ। त्यसो भए सबभन्दा बढी कबोल गर्नेलाई ठेक्का दिएर मालामाल हुने अवसर आएको छ मन्त्रीजी?

सांसदसमेत रहेकी नेतृ डा.संग्रौलाले यो या त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत रहेको बताउँदै भनिन्, ‘किसानको कुरो मात्र होइन् सरकार! यो त राष्ट्रिय उत्पादनसँग जोडिएको कुरा हो। मलको अबिलम्ब व्यवस्था गर सरकार ! होइन भने कुर्सीमा टाँसीरहनुको कुनै अर्थ छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट