तोकिएकै मितिमा महाधिवेशन गर्न सकिन्छ : पौडेल-Sutra News

तोकिएकै मितिमा महाधिवेशन गर्न सकिन्छ : पौडेल

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४औं महाधिवेशन गर्न सकिने दाबी गरेका छन्।



सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तक्रियामा उनले तोकिएकै समयमा महाधिवेशन गर्न विकल्पसमेत अघि सारेका छन्।

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिए पुरानै क्रियाशील सदस्यताबाट नयाँ अधिवेशन गर्न सकिने विकल्प दिँदै पौडेलले ०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा रहेका चार लाख ८० हजार क्रियाशील सदस्य मध्येबाटै वडादेखि केन्द्रसम्म महाधिवेशन गराउन सकिने बताए।

आगामी फागुन ७-१० लाई महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले साउन मसान्तभित्र ७७ जिल्लामै नयाँ सदस्यता र नवीकरण वितरण गरिसक्ने बताएको थियो। तर, अहिलेसम्म आठ जिल्लामा समायोजनका काम नै सकिएको छैन। विकल्पका रूपमा पौडेलले कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने भनाइ राखे।

अहिलेकै संख्यामा कोरोना भाइरस संक्रमित संख्या बढिरहे भने १३औं महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्न सकिने विकल्प पनि पौडेले अघि सारेका छन्। पौडेलले १३औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्न सकिने पनि सुझाएका छन्। 

‘महाधिवेशन प्रतिनिधि अहिले छँदैछन्। उनीहरू नयाँ महाधिवेशन नभएसम्म क्रियाशील नै रहन्छन्। त्यसकारण पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि नेतृत्व चयन गर्न सकिन्छ,’ पौडेलले भने, ‘महाधिवेशन जसरी पनि गराउने इच्छाशक्ति हुने हो भने विकल्प छन्।’

तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै उनले यस्तै समस्या देखा पर्ला भनेर आफूले तीन वर्षअघि नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने भनाइ पार्टीमा राखेको बताए । उनले भने, ‘महासमिति बैठकमा पनि यो एजेन्डा प्रस्तुत गरेको हुँ । त्यसबेला साथीहरूले ध्यान दिनुभएन। हेर्नुस् को रहेछ दुरदर्शी अहिले थाहा भयो नि!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट