सचिवालय बैठकका एजेन्डा तय गर्न ओली र प्रचण्डको बालुवाटारमा छलफल-Sutra News

सचिवालय बैठकका एजेन्डा तय गर्न ओली र प्रचण्डको बालुवाटारमा छलफल

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुटारमा छलफल भएको छ। खुमलटार निवास स्रोतका अनुसार करिब सवा ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको ओली र प्रचण्डबीचको छलफल अहिले पनि जारी छ।



ओली र प्रचण्डको छलफल मुख्यतया बिहीबार बस्न लागेको सचिवालय बैठकका एजेन्डा तय गर्न केन्द्रित हुने बताइएको छ। पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न यसअघि १३ भदौमा सचिवालयको बैठक बोलाइएको थियो।

तर, नेकपा सचिवालय सदस्य समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कोरोना संक्रमित भएको हुन सक्ने भन्दै क्वारेन्टीनमा बसेपछि बैठक ५ दिनपछि सारिएको थियो।

त्यसपछि गरिएको दुवै जनाको पीसीआर परीक्षण ‘नेगेटिभ’ आएको छ।

यसबीचमा राष्ट्रिय सभाको रिक्त पदमा कसलाई पठाउने भन्ने विवाद सहतमा आएको छ। सचिवालय बैठककको मुख्य विषय कार्यदलको प्रतिवेदन भए पनि भोलिको बैठकमा यो विषय पनि एजेन्डा हुने छ।

एकातिर अर्थमन्त्री डा. युवराज खतिवडाको थपिएको कार्यकाल समेत भदौ २० गते सकिँदैछ। संसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने संबैधानिक व्यवस्थाका कारण उनले अर्थ मन्त्रीमा निरन्तरता पाउन राष्ट्रियसभा सदस्य हुनैपर्छ।

अर्कातिर नेकपाको सचिवाल बैठकले राष्ट्रिय सभामा नेता बामदेव गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरिसकेको पृष्ठभूमि छ। प्रधानमन्त्रीसमेत रहेका ओली खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन्, जसका लागि २० भदौभित्र उनलाई राष्ट्रियसभाको सदस्य बनाइसक्नुपर्छ।

पहिले राष्ट्रियसभामा इच्छुक नदेखिएका गौतम पछिल्लो समय त्यहाँ जान इच्छा देखाइरहेका छन् र उनले सचिवालयको निर्णय कार्यन्वयन हुनुपर्ने बताइरहेका छन्। प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पनि सचिवालयको निर्णय कार्यन्वयन हुनुपर्ने बताइरहेका छन्।

यी सबै पृष्ठभूमिमाझ बस्न लागेको नेकपा सचिवालय बैठकलाई महत्वकासाथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट