रिचार्ड मोरिस जसले नेपाली म:म र अमेरिकी राजदूतसँग गाँसेका थिए दोस्ती-Sutra News

रिचार्ड मोरिस जसले नेपाली म:म र अमेरिकी राजदूतसँग गाँसेका थिए दोस्ती

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं– बेलायती कूटनीतिज्ञ एवम् नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस मृत भेटिएका छन्। बीबीसीका अनुसार प्रहरीले सोमबार दक्षिणपूर्वी बेलायका ह्याम्पसायरस्थित जंगलमा मोरिसको शव भेटाएको हो।



मोरिस अन्तिम गत ६ मेईमा अन्तिम पटक अल्टोन पार्कमा दौडिरहेको देखिएका थिए। ह्याम्पसायर प्रहरीले एलिस हल्ट जंगलमा शव भेटिएको र मृत्यु शंकास्पद नलागेको बताएको छ। ५२ वर्षीय मोरिस जंगलमा दौडिन रुचाउँथे। तीन सन्तानका पिता मोरिस सन् २०१९ सम्म नेपालका राजदूत थिए। उनी बेपत्ता हुनुअघि फिजिको उच्चआयुक्त नियुक्त भएका थिए।

नेपाली म:म र अमेरिकी राजदूतसँग दोस्ती

राजदूतका रूपमा नेपालमा पूरा कार्यकाल बिताएका मेरिसले यहाँ रहँदा निकै फरासिलोपना देखाएका थिए। प्रायः कूटनीतिज्ञ आफूलाई औपचारिक रूपमा बढी प्रस्तुत गर्ने गर्छन्। तर,मोरिस फरक थिए।औपचारिकताको घेरा तोडेर उनले नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीसँग गाँसेको दोस्ती समाजिक सञ्जाल ट्विटरमा प्रकट भइरहन्थ्यो। कतिसम्म भने ‘रग्वी विश्वकप’मा अमेरिकी र बेलायती टोलीका पक्षमा उनीहरूले नेपाली मःम र बारासको बाजी थापेका थिए।

उनीहरूले रग्वी विश्वकप आआफ्नो टिमले जित्ने दाबी गर्दै म:म र बाराको बाजी राखेको कुराले दुई राजदूतबीचको सम्बन्ध कति अनौपचारिक बनेको थियो भन्ने झल्काउथ्यो।

uk.jpg

जापानमा आयोजना भएको रग्वी विश्वकप २०१९ बारे ट्वीटरमा बेलायती राजदूत मोरिसलाई मेन्सन गर्दै अमेरिकी राजदूत बेरीले प्रस्ताव गरेका थिए, ‘भोलिको खेलमा अमेरिकी रग्वी टोली विजयी हुन्छ भन्ने मेरो पूर्वानुमान छ। यो बाजी हार्नेले म:म र बाराको पैसा तिर्नुपर्छ।’

लगत्तै बेलायती राजदूत मोरिसले त्यो बाजी स्वीकार्य भएको बताउँदै त्यो पैसा बेरीले तिर्नुपर्ने अवस्था आउने दाबी गरेका थिए। रग्वी विश्कपमा दुवै देशका टोली एउटै समूहमा परेका थिए। खेलमा अमेरिकी रग्वी टोलीले जित्न सकेन। बाजीअनुसारै बेरीले मोरिसलाई नेपाली म:म र बारा खुवाएका थिए।

कार्यकाल पूरा गरेर जान लागेका मोरिसलाई बिदाई शुभकामना दिँदै बेरीले आफूहरूबीचको दोस्ती सम्झिएका थिए। बिदाइ तथा शुभकामना ट्विटमा बेरीले आफूहरुबीच ‘रग्वी विश्वकप’मा चलेको दाउ (शर्त) र दारु (बियर) पनि ‘मिस’ गर्ने उल्लेख गरेका थिए।

मोरिसले पनि शुभकामनाका लागि धन्यवाद दिँदै शर्त हारेबापत नेपाली मःम खुवाएको पनि सम्झिएका थिए। तीनै फरासिला कूटनीतिज्ञ अब हामी माझ रहेनन्।

मोरिसलाई हार्दिक श्रद्धान्जली।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट