कांग्रेसमा सदस्यता वितरणको लफडा, महाधिवेशन अन्योलमा-Sutra News

कांग्रेसमा सदस्यता वितरणको लफडा, महाधिवेशन अन्योलमा

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित समयमै हुने नहुने अनिश्चित बन्दै गएका बेला कांग्रेसभित्र क्रियाशील सदस्यताको विषय विवादको मुख्य चुरो बनेको छ। आउँदो फागुन ७ देखि १० गतेसम्म महाधिवेशन मिति तोकिएको छ।



क्रियाशील सदस्यता पाउन विधानमा लामो मापदण्ड तोकिएको छ। तर, कहिल्यै पालना भने भएको छैन। विधानको दफा ५० को उपदफा ६ मा महाधिवेशन हुनुभन्दा ६ महिनाअघि सदस्यता वितरण र नवीकरण बन्द गर्नुपर्ने प्रावधान छ।

व्यवहारमा महाधिवेशन आउन करिब ६ महिना बाँकी हुँदा बल्ल क्रियाशील सदस्यताको वितरण र नवीकरण थालिएको छ। यतिबेला केन्द्रबाट ६४ जिल्लाले क्रियाशील सदस्यता फारम लगेका छन्। तीबाहेक कतिपयमा नेताहरूको स्वार्थ हाबी भएको छ। बाँकी ११ जिल्लामा भने पार्टीको पुराना संरचना समायोजन नटुंगिएकाले रोकिएको छ।

विधानमा ६ महिना अगावै सदस्य भएकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ, तर व्यवहारमा उल्टो छ। क्रियाशील सदस्यताको टुंगो लाग्नुअघि सदस्य भए पनि मतदान गर्न पाउने प्रचलन बसालिएको छ। महाधिवेशन सम्पन्न गर्न सदस्यता नवीकरण, वितरण तथा समायोजनजस्ता महत्वपूर्ण विषयले प्राथमिकता पाउन सकेको छैन।

सभापति शेरबहादुर देउवाले महाधिवेशन कब्जा गर्नका लागि सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले आरोप लगाएको छ। देउवा सभापति भएपछि लगातार उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका पौडेल र सिटौला समूहले १४औं महाधिवेशनको संघारमा क्रियाशील सदस्यता वितरण र नवीकरणको विषयमा देउवाले मनपरी गरेको आरोप लगाउँदै आएको छ। देउवाविरुद्ध सो समूहले धर्ना, अनशनमात्र नभइ, केन्द्रीय सदस्यबाटसमेत राजीनामा दिने तयारीमा रहेको बुझिएको छ ।

सदस्यता वितरणलाई लिएर संस्थापन पक्षसँग इतर समूहको जहिले पनि अविश्वास र संसय रहन्छ।तत्कालीन सभापति सुशील कोइरालाको पालामा शेरबादुर देउवालाई पनि त्यस्तै अविश्वास थियो। तत्कालीन अवस्थामा देउवाले केन्द्रीय सदस्यतबाट राजीनामा दिनेदेखि बैठक बहिष्कार, घेराउ, अनशनजस्ता कार्य गरेका थिए। ‘घुमीफिरी रूम्जारटार’ भनेजस्तै अहिले देउवाप्रति त्यस्तै खालको अविश्वास पौडेल र पूर्वमहामन्त्री सिटौला समूहले गरेको छ। उनीहरूको नेतृत्वले महाधिवेशन कब्जा गर्नका लागि सदस्यता वितरणमा अनियमितता गरेको आरोप लगाएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई भोट गर्ने मान्छे भए आफ्नो पार्टीभन्दा पनि अन्य पार्टीकै मानिस खोजेर सदस्यता दिन खोजिएको संगीन आरोपसमेत लगाएका छन्। पौडेल भन्छन्, ‘आफूलाई भोट हाल्ने मान्छे भए आफ्नो पार्टीको हुनु पर्दैन, अर्को पार्टीको भए पनि खोजेर सदस्यता दिन खोजिँदैछ। स्थानीय र केन्द्रकै नेताहरूको जोडबलमा यस्ता गलत काम हुँदैछन्। यस्ता खेलले पार्टीलाई न स्वस्थ बनाउँछ, न बलियो नै।’

वरिष्ठ नेता पौडेलले ठूलो मेहनत गरेर विधान बनाइएको बताउँदै विधान बमोजिम नै सदस्यता वितरण गर्नुपर्ने र वडा कमिटी तहमा वास्तविक कार्यकर्तालाई मात्रै सदस्यता दिनुपर्नेमा जोड दिए। ‘ठूलो मेहनत गरेर यो विधान बनाएका छौं। विधानमा व्यवस्था भएअनुसार व्यवस्थित रूपले सदस्यता बाँडिनुपर्छ। विधानले व्यवस्था गरेको प्रक्रियालाई पछ्याउनुपर्छ। व्यक्तिले बाँड्ने होइन, वडा कमिटीले सदस्यता दिने वास्तविक कार्यकर्ता खोज्नुपर्छ। वडामा को–को मानिस क्रियाशील छन्, त्यस्ता मान्छे कांग्रेसको लागि चाहिन्छ भन्ने हाम्रो अभ्यास हो’ पौडेलले भने।

सक्रिय, क्रियाशीलहरूलाई सदस्यता दिन सकिए कांग्रेसको उद्धार हुने बताउँदै पौडेलले सदस्यता वितरणमा तोडमोड गरियो भने पार्टीलाई हित नगर्ने बताए। केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सदस्यता प्रणालीलाई व्यवस्थित नबनाइँदा जहिल्यै समस्या आउने बताउँछन्। कोइरालाले पनि सभापति देउवातर्फ इंगित गर्दै चुनाव जित्नका लागि सदस्यता वितरणमै धाँधली गर्ने काम अहिले भइरहेको बताउँदै त्यसलाई रोक्न कदम चाल्नुपर्ने बताए।

कोइरालाको भनाइमा सभापति देउवाले कतिपय जिल्लामा विधान विपरीत बाटोबाट क्रियाशील सदस्यता दिने काम थालेका छन्। यसलाई रोक्नका लागि कडा कदम चाल्नुको विकल्प छैन। ‘सदस्यता प्रणालीलाई व्यवस्थित नबनाइँदा जहिल्यै समस्या आउने गरेको छ। चुनाव जित्नका लागि सदस्यता वितरणमै धाँधली गर्ने काम अहिले पनि भइरहेको छ,’ कोइराला भन्छन्, ‘शेरबहादुरजीले धेरै जिल्लामा विधान विपरीत बाटोबाट क्रियाशील सदस्यता दिने काम थाल्नुभएको छ। यसलाई तत्काल रोक्नुपर्छ ।’

तेकिएकै समयमा महाधिवेशन हुनेमा ढुक्क नरहेका कांग्रेस युवा नेता तथा केन्द्रीय सदस्य महाधिवेशनको कार्यतालिकालाई सदस्यता वितरणको कामले प्रभाव पार्ने बताउँछन्। ‘हामीलाई समस्या परिसक्यो। समयमै संगठन र सदस्यतासम्बन्धी काम गरिएको छैन। कात्तिक मसान्तसम्म जिल्लाहरूमा समायोजनको काम गर्नुपर्ने थियो। तर, अहिलेसम्म पनि प्रदेश-२ का सबै जिल्ला र पहाडका २/३ वटा जिल्लामा अहिले पनि समायोजन सकिएको छैन,’ नेता बद्री पाण्डे भन्छन्।

समायोजनका विषयमा सभापति देउवाको पहलमा केन्द्रीय निर्वाचन समितिले कुनै पहल नगरेको बताउँदै पाण्डेले समायोजनको समस्या ज्युँका त्यूँ रहेको बताउँछन्। ‘सभापतिले पहल कदमी गर्नुपथ्र्यो। त्यो नगरेका कारण समायोजनको समस्या ज्युँका त्यूँ छ, उनी भन्छन्, ‘समायोजन नभएका जिल्लामा यो काम गर्न समस्या छ, अहिले त काम गर्ने वातावरण नै छैन। पुरानो परम्पराअनुसार कुनै अलोकप्रिय निर्णय गर्नुपर्ने भए केन्द्रीय नेतृत्वले गथ्र्यो। अहिलेको नेतृत्वले अलोकप्रिय हुने डरले यस्ता कुुरा भन्नै छाड्यो। यसै कारण फागुनमा महाधिवेशन हुन सक्दैन भन्न पनि सकिरहेको छैन।’

विधान अनुसारको मापदण्ड बनाएर क्रियाशील सदस्यता दिने, महाधिवेशन सुरु हुने ६ महिनाअघि वितरण र नवीकरण बन्द गर्ने परिपाटी बसाल्नसके अहिले देखिएको विवाद नआउने देउवा निकट एक नेतृ बताउँछिन्। ‘विधानको प्रावधान फलो नगर्दा महाधिवेशनमा क्रियाशील सदस्यता विवाद निम्तिने गरेको छ,’ ती नेतृले सूत्रन्युजसँग भनिन्, ‘सभापति देउवा फेरि नेतृत्वमा दोहोरिन खोज्नुभएको छजस्तो छ। यसबाट अविश्वास झनै गहिरिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट