पिर्कामा बसेर रोटी खाइरहेका पूजारीलाई कसले हान्यो गोली ?-Sutra News

पिर्कामा बसेर रोटी खाइरहेका पूजारीलाई कसले हान्यो गोली ?

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- चार दिनअघि रौतहटमा गोली प्रहारबाट मारिएका पूजारीको हत्यामा संलग्नलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । गत भदौ ३ गते माधव नारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम शाह राति साढे नौ बजेतिर मन्दिरमै मारिएको अवस्थामा फेला परेका थिए ।



प्रहरीका अनुसार पिर्कामा बसेर रोटी खाइरहेका बेला उनीमाथि कन्चटमा गोली प्रहार भएको थियो । गोलीको आवाज सुन्नासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा पूजारी शाह रोटी खाइरहेकै ठाउँमा दायाँतर्फ ढलिरहेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न अनुसन्धान थालेको चार दिन भइसक्यो । जनकपुरबाट तालिमप्राप्त कुकुर पनि ल्याइयो । प्रदेश २ प्रहरी कार्यलयको अनुसन्धान टोली पनि हत्या अनुसन्धानमा खटिरहेको छ । तर चार दिन बितिसक्दासम्म गोली हान्ने अज्ञात समूहबारे प्रहरीले केही पत्ता लगाउन सकेको छैन ।

‘हामी सबैजना अनुसन्धानमा लागिरहेका छौं । प्रदेश कार्यलयबाट प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह स्वयं यता आइपुग्नुभएको छ,’ जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सूत्रन्युजसँग भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छौँ । केही ‘क्लु’ मिल्नासाथ पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछौं ।’

यता घटना भएको वडाका अध्यक्ष हनुमान सहनी मलाहका अनुसार पूजारी शाहले दुई वर्षअघि आफ्नै दुई कठ्ठा जमिन बेचेर गाउँदेखि एक किलोमिटर पर पश्चिमको ऐलानी जग्गामा मन्दिर बनाएका थिए । १२ वर्षअघि श्रीमती बितेपछि एक्ला भएका शाहका कुनै सन्तान थिएनन् ।

त्यसपछि साधु बनेका उनले निर्माण गरेको मन्दिरले गाउँका मान्छेलाई पूजा गर्न सहज भएको थियो । ‘साह्रै सोझा थिए उनी, कसैसँग विवाद गर्दैन थिए,’ पूजारी हत्याबारे वडाध्यक्ष सहनीले भने, ‘यस्तो सोझो मान्छेलाई कसले, किन र कसरी मार्यो भगवान जानोस्, तर यो घटनाले सारा समाज दुःखी छ । ’

सहनीका अनुसार प्रहरी यो घटनाको अनुसन्धानमा ज्यान दिएर लागेको छ । ‘वरपर प्रहरीको गाडी घुमिरहेको छ । निर्दोष पूजारीको हत्यारा चाँडै पत्ता लाग्छ होला भन्ने हामी गाउँलेलाई विश्वास छ,’ उनले भने ।

‘अधिकारको डलरे खेती गर्नेहरुको ब्याडमा उनीसँग मिल्ने फसलको बीउ छैन । पार्टी बोल्न उनी कसैको कार्यकर्ता होइनन् । मिडियाको लागि उनी विज्ञापनका म्याटर होइनन् ।’

त्यस्तै माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले पनि पूजारी शाह भलाद्मी स्वभावका रहेको बताउँदै भने, ‘उनी कसैसँग झैझगडा गर्ने खालका थिएनन् । कसले गोली हान्यो, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ’

मेयर यादवका अनुसार करिब १०–१५ दिनअघि नजिकै करुनियाँ गाउँमा स्थानीय नदीको माछा बिक्रीको रकमलाई लिएर विवाद भएको थियो । ‘त्यतिबेला एउटा पक्षले माछाबाट उठेको उक्त रकम वडालाई दिनुपर्ने बताएको थियो भने अर्को पक्षले नजिककै मठलाई दिनुपर्ने बताउँदै त्यतै दिएका थिए । त्यसपछि त्यहाँको पूजारीलाई त्यहाँबाट हटाउने प्रयास भएको थियो,’ उनले भने, ‘मैले सुनेअनुसार त्यतिबेला गाउँका मान्छेले ती साधुबाट पैसा भराउन खोजिरहेका थिए । छिमेकी गाउँमा यस्तो घटना घटिरहेका बेला यता पूजारी मारिनुले त्यो घटनासँग यसको कनेक्सन हुनसक्ने अनुमान पनि यता भइरहेको छ । कतै अपराधिक मानसिकता बोकेका मान्छेहरुले यो साधुलाई मार्दियो भने त्यताको साधु आफैँ भाग्छ भनेर तर्साउने हिसाबले त यस्तो काम गरेनन् भन्ने अनुमान पनि अहिले भइरहेको छ । प्रहरीले त्यो घटनासँग जोडेर पनि यसको अनुसन्धान गरिरहेको बुझेको छु ।’

सामाजिक सञ्जालमा न्याय माग
प्रहरीले चार दिन बितिसक्दासम्म पूजारीको हत्यारा पत्ता नलगाएपछि सामाजिक सञ्जालमा न्यायको माग सुरु भएको छ । ‘नुन र सुख्खा रोटी खाँदाखादै रौतहटमा बुधबार राति श्रीराम साहमाथि गोली हानी हत्या गरिएको छ,’ फेसबुकमा देवेन्द्र कोइरालाले लेखेका छन्, ‘ तर कोही बोल्दैनन् । अधिकारको डलरे खेती गर्नेहरुको ब्याडमा उनीसँग मिल्ने फसलको बीउ छैन । पार्टी बोल्न उनी कसैको कार्यकर्ता होइनन् । मिडियाको लागि उनी विज्ञापनका म्याटर होइनन् ।’

त्यस्तै साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेका छन् । ‘झण्डा जलाउनेलाई प्रहरीले पक्रिनै पर्थ्यो, तुरुन्त पक्रियो, राम्रो भयो । तर, रौतहटमा मन्दिरका पूजारी श्रीराम साहको हत्या भएको ३ दिन भइसक्यो । घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही होस् । हत्या-हिंसा, छुवाछुत र धार्मिक आस्थामाथिको प्रहार आदिलाई निरूत्साहित नगरे सभ्य समाज निर्माण हुन सक्दैन,’ उनले शनिबार ट्विटरमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट