संसदका सभाअध्यक्षहरूको पाँचौं विश्व सम्मेलनमा नेपालबाट तीनको सहभागिता  -Sutra News

संसदका सभाअध्यक्षहरूको पाँचौं विश्व सम्मेलनमा नेपालबाट तीनको सहभागिता  

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको संसदका सभाअध्यक्षहरुको पाँचौं विश्व सम्मेलन कोभिड–१९ का कारण आज ‘भर्चुअल’ माध्यमबाट सुरु भएको छ।



अन्तर व्यवस्थापिका संघ (आईपीयू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ अष्ट्रिया) को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी छन् । अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले सम्मेलनमा भाग लिएका छन् ।  

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन अष्ट्रियाको भियनामा यही अगष्टका लागि तयपनि आजदेखि भर्चुअल माध्यमबाट सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्नेछ ।  

सम्मेलनमा सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागी रहेको बताइएको छ । सम्मेलनको मुख्य विषय ‘मानव र पृथ्वीको शान्ति तथा दीगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व’ रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ। नेपालको तर्फबाट सहभागी अध्यक्ष तिमिल्सिना लगायत सहभागी राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेको  तिमिल्सिनाको सचिवालयले बताएको छ ।

सन्देशमा तिमिल्सिनाले नेपाल अहिले नयाँ संविधान निर्माण गरी दीगो विकासको लक्ष्य प्राप्तिका लागि ‘समृद्ध  नेपाल, सुखी नेपाली’ को नारासहित अगाडि बढिरहेको बताएका छन् । विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा पनि उनले व्यक्त गरेका छन् ।

‘हाल विश्व समुदायले भोगिरहेको कोभिड–१९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ सम्मेलनमा उनले भने, ‘आर्थिक स्थायित्व, रोजगारी सिर्जना र स्वास्थ्य क्षेत्रमा सिर्जित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।’

भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आईपीयू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोलेका थिए । 

बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ। सम्मेलन सन् २०२१ मा पुन अष्ट्रियामा नै आयोजना हुने आइपीयूको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट