सांसदका लागि बनेको विवादित ‘ब्याच पिन’ फिर्ता-Sutra News

सांसदका लागि बनेको विवादित ‘ब्याच पिन’ फिर्ता

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- संघीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ‘ब्याच पिन’मा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ। सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गरेको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मंगलबार फिर्ता गरिएको उल्लेख छ।



ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ। नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी सङ्घीय संसद नेपाल थप गरिएको सचिवालयले जनाएको छ।

संसदका पदाधिकारी र सदस्यले लगाउने प्रतीक चिह्नको ब्याच पिन ३५० थान तयार गर्न वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मेवारी दिइएको थियो।

सरकारले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार संसद्को प्रतीक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई सभामुख र अध्यक्षले स्वीकृत गरेका थिए। स्वीकृतिबमोजिम तयार भएको ब्याच पिनमा समस्या आएपछि सुधार गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट