तीन कारणले विभाजित हुनसक्छ नेकपा-Sutra News

तीन कारणले विभाजित हुनसक्छ नेकपा

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं-



– सत्तारुढ नेकपाका ६१ सांसदहरूले आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गरे। हस्ताक्षर सार्वजनिक कार्यक्रमको अगुवाई गर्ने सांसदहरुले सोही कार्यक्रममा भने, ‘जुनसुकै हालतमा पनि हामी पार्टीलाई फुट्न दिने छैनौँ।’

– साउन पहिलो सातासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै जिम्मेवारीबाट राजीनामा दिनुपर्ने माग गरिरहेका उपाध्यक्ष वामदेव गौतमले १३ साउनमा ६ बुँदे प्रस्ताव अध्यक्षद्वय समक्ष पेस गरे, जसमा ओलीलाई बाँकी अवधिका लागि प्रधानमन्त्री कायम राख्नुपर्ने प्रस्ताव गरिएको थियो।

ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका उपाध्यक्ष गौतम एकाएक ओलीलाई बाँकी अवधिका लागि पनि प्रधानमन्त्री पदमा निरन्तरता दिनुपर्ने पक्षमा किन देखिए?  गौतम आफैँले यसको प्रष्टीकरण यसरी दिने गरेका छन्, ‘ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने हो भने उनले पार्टी नै फुटाइदिन सक्छन्। ओलीले पार्टी फुटाउने परिस्थिति सिर्जना नहोस् भनेर मैले त्यो प्रस्ताव राखेको हुँ।’

– नेकपा अध्यक्ष प्रचण्डले समेत विभिन्न अवसरमा ओलीले पार्टी विभाजित गर्ने योजनामा रहेको र पार्टी बैठक स्थगित गरेर भएपनि आफूहरुले पार्टी विभाजित हुन नदिएको बताउने गरेका छन्। निर्वाचन आयोगमा अघिल्लो महिना नेकपा (एमाले)को दर्ताका दिइएको निवेदन पार्टी विभाजित गर्ने ओलीको योजनाअनुरुप भएको दाबी प्रचण्ड-नेपाल पक्षीय नेताहरुले गर्ने गरेका छन्।

उपरोक्त तीन घटनाहरुले देखाउँछन्, सत्तारुढ नेकपा यतिबेला विभाजनको संघारमा छ। यही कारण शीर्ष नेतादेखि सांसदहरुले पार्टी विभाजन हुन नदिने पहल थालेका छन्। कार्यकर्ताहरुले सामाजिक सञ्जालबाट पनि खबरदारी सुरु गरेका छन्। प्रश्न  उठ्छ, त्यसो भए नेकपा विभाजित होला कि देखिएको समस्या समाधान गरेर विभाजनबाट जोगिएला? 

‘लगभग पार्टी फुटिसक्यो,’ श्रेष्ठ भन्छन्, ‘जब अध्यक्ष नै पार्टीको बैठकमा जाँदैनन्,  केन्द्रीय समितिबाट डराउँछन् भने त्यो पार्टी ‘इन्ट्याक्ट’ रहने त कुरै छैन।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक १३ साउनयता अनिश्चितकालका लागि स्थगित छ। पछिल्लो समय ओली-प्रचण्डबीच संवादहीनताको स्थिति छ। शीर्ष नेताहरुबीच विवाद र सम्बादहीनताको स्थिति लम्बिरहेका बेला गुटगत भेला तीब्र पारिएका छन्।  

२१ साउनमा प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समूहले नेकपा विटमा कलम चलाउने पत्रकारहरुसँग सम्वाद कार्यक्रम आयोजना गर्‍यो, सो कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘आफूहरु जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेको’ उल्लेख गरे। उनको भनाइले के संकेत गर्छ भने, विभाजनबाट नेकपा जोगिने सम्भावना कम छ, त्यसैले उनीहरु जस्तोसुकै विकल्पका लागि समेत तयार भएर बसेका छन्। 

जानकारहरुका भनाइमा, यतिबेला नेकपा जुट्नेभन्दा विभाजित हुने सम्भावना ज्यादा छ। निम्न तिन कारणले नेकपा ढिलोचाँडो विभाजित हुनसक्छ।

एक, ‘पावर सेयरिङ’ 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गर्न ७ फागुन २०७४ मा गरिएको ७ बुँदे सहमति नै ‘पावर सेयरिङ’ मा आधारित थियो। सम्झौतामै लिपिबद्ध नभए पनि ओली र प्रचण्डले नयाँ पार्टी नेकपाको संयुक्त नेतृत्व र सरकार पालैपालो चलाउने ‘भद्र समझदारी’ गरे, जसलाई पार्टी एकताको अघिल्लो दिन २ जेठ ०७५ मा ओली–प्रचण्डबीचको द्विपक्षीय लिखित समझदारीमा लिपिबद्धसमेत गरियो।

४ मंसिर ०७६ मा आफूलाई पार्टीको कार्यकारी अध्यक्षका रुपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी दिइएपछि आफू र ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भन्ने २ जेठ ०७५ को लिखित समझदारीबाट प्रचण्ड पछि हटिसकेका छन्। 

पूरा कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी दिन आफू तयार भए पनि ओली एकलौटीरुपमा अघि बढ्ने गरेको दुखेको प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरुको छ। २१ साउनमा भएको पत्रकारहरुसँगको सम्बादमा पनि प्रचण्डले यो कुराको संकेत गरेका थिए। 

ओली जसरी एकलौटी ढंगले अघि बढिरहेका छन्, त्यसलाई रोक्न ओलीले दुई (प्रधानमन्त्री र पार्टी अध्यक्ष) मध्ये एक पद छाड्नुपर्ने माग प्रचण्डले गर्दै आएका छन्। दुईमध्ये एक जिम्मेवारी छाड्ने प्रस्ताव भनेको खासमा ‘पावर सेयरिङ’ को प्रस्ताव हो। तर, यसका लागि ओली तयार देखिएका छैनन्। निर्वाचित प्रधानमन्त्री भएकाले पाँच वर्ष नै प्रधानमन्त्रीको जिम्मेवारी आफूले सम्हालिरहने र महाधिवेशनले मात्र अध्यक्ष परिवर्तन गर्न पाउने बताउँदै ओली ‘पावर सेयरिङ’ को प्रस्तावमा टसमस देखिएका छैनन्। 

प्रचण्ड निकट मानिने नेकपा स्थायी कमिटी सदस्य मणि थापा प्रचण्ड–नेपाल समूहले अघि सारेको विकल्पमा ओली गम्भीर नभए पार्टी विभाजनसम्म जानसक्ने बताउँछन्। ‘एकताको पहिलो आधार दुई अध्यक्षबीचको सहमति हो,’ थापा भन्छन्, ‘दोस्रोचाहिँ महाधिवेशनसम्म दुई अध्यक्षको कार्यविभाजन प्रष्ट ढंगले गर्नुपर्छ, सबै नेताहरुको कार्यविभाजन सही ढंगले गर्नुपर्छ, यो कुरामा उहाँ (ओली) टसमस पनि हुनुभएन भने विवादले एउटा विधिको निकास लिन्छ। विधिले गरेको निर्णय पनि उहाँले मान्नुभएन भने त पार्टी फुटबाट कसैले जोगाउन सक्दैन।’

प्रचण्ड-नेपाल-खनाल लगायतका नेताहरु आफैँ पार्टी विभाजन गर्ने पक्षमा छैनन्। तर, विवाद बढ्दै जाँदा ओलीको मनमौजी जसरी झन् बढ्दो छ, यसले गर्दा वाक्कदिक्क भएका उनीहरुको पनि धैर्यताको बाँध टुट्न सक्छ।

दुई, सिद्धान्तको बखेडा     

नेकपा विवादमा झट्ट हेर्दा कुनै सैद्धान्तिक विषयले प्रवेश पाएको जस्तो देखिँदैन। विवादमा बढ्दै जाँदा दुबै पक्षले सैद्धान्तिक रंग पनि दिन थालेका छन्। 

पार्टी एकतापछि नेकपाले तत्कालका लागि ‘जनताको जनवाद’ लाई मार्ग निर्देशक सिद्धान्त बनाएको थियो। तर, पछिल्लो ओलीले कार्यनीतिक लक्ष्य ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै पार्टीको मार्ग दर्शक सिद्धान्त हुनुपर्नेमा जोड दिन थालेका छन्।

कतिसम्म भने, ‘जबज’लाई स्वीकार गरे प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने अफर समेत ओलीले गरिसकेका छन्।  तर, पार्टी एकताका बेला गरिएको सहमति विपरित ‘जबज’लाई ब्युँताउन खोजिएकोमा प्रचण्ड असहमत छन्। 

पत्रकारहरुसँगको पछिल्लो सम्वादमा पनि प्रचण्डले यसप्रति आपत्ति जनाएका थिए। ओली पक्षको तर्फबाट गरिएका कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ नारा अंकित ब्यानर प्रयोग गरिएको बताउँदै प्रचण्डले भनेका थिए, ‘जनताको जनवाद भन्ने कुरामा सहमति भइसकेपछि मैले माओवाद भन्ने, अर्कोले जबज भन्न थालियो भने यो एकतामा छु भन्नुको कुनै अर्थ रहँदैन।’

ओली पक्षले भने ‘जबज’ पक्षधरहरु एकजुट हुनुपर्ने बताउँदै आएको छ। र, ‘जबज’लाई नै आधार बनाएर पार्टीभित्र ध्रुवीकरण गराउन खोजेको छ। जबजको नाममा ओली पक्षले तीब्र पारिरहेको ध्रुवीकरण अझै बढ्यो भने त्यसले पनि पार्टीलाई औपचारिकरुपमा विजाजित गराउन सक्छ। किनभने, पूर्वमाओवादी पक्षका कुनै पनि नेता अहिले पनि ‘जबज’को पक्षमा देखिन्नन्। 

तीन, नेताहरुको मानमर्दन

अध्यक्ष प्रचण्डले बेला-बेला निकटस्थहरुसँग ओलीले आफूलाई ‘ह्युमिलेट’ गरेको बताउने गरेका छन्। माधव नेपाल, झलनाथ र अरु नेताहरुले पनि आफूहरु ओलीबाट पटक-पटक ह्युमिलेट हुँदै आएको गुनासो गर्ने गरेका छन्।  

२१ साउनको सो भेलामा प्रचण्डले आफू प्रधानमन्त्री छँदा नियुक्त भएका व्यक्तिहरुलाई ओली प्रधानमन्त्री भएपछि हटाइएको, आफूसँग भेट्ने सरकारी अधिकारीलाई ओलीले ह्युमिलेट गर्ने र बदला लिने गरेको बताएका थिए। उनले भनेका थिए, ‘बदला लिने कुरा कहाँसम्म पुग्यो भने, दुईटा अध्यक्षको कुर्सी अगाडि भने एउटा कुर्सी नै हटाइदिने कामसम्म भयो।’

प्रचण्ड-नेपाल-खनाल लगायतका नेताहरु आफैँ पार्टी विभाजन गर्ने पक्षमा छैनन्। तर, विवाद बढ्दै जाँदा ओलीको मनमौजी जसरी झन् बढ्दो छ, यसले गर्दा वाक्कदिक्क भएका उनीहरुको पनि धैर्यताको बाँध टुट्न सक्छ। र, उनीहरुले ओलीविरुद्ध निर्णायक कदम चालिदिन सक्छन्। त्यो स्थितिमा ओली अझ उत्तेजक बनेर पार्टी विभाजित गरी १६ असारमा आफू समर्थकहरुद्वारा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एमाले)को नेतृत्व गर्न सक्छन्।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपा फुटको नजिक पुगिसकेको र त्यसलाई सत्ता बाँडफाटको धागोले मात्रै जोगाउनसक्ने बताउँछन्। ‘लगभग पार्टी फुटिसक्यो,’ श्रेष्ठ भन्छन्, ‘जब अध्यक्ष नै पार्टीको बैठकमा जाँदैनन्,  केन्द्रीय समितिबाट डराउँछन् भने त्यो पार्टी ‘इन्ट्याक्ट’ रहने त कुरै छैन।

‘फेरिपनि सत्ता बाँडफाट गर्ने कुरामा केपी ओली लचिलो भए केही समय सँगै जालान्, नत्र नेकपा फुट्छ,’ उनी थप्छन्।

श्रेष्ठले भनेजस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएका कतिपय स्थायी कमिटी बैठकमा समेत ओली उपस्थित भएनन्। केन्द्रीय कमिटीको बैठक राख्ने पक्षमा पनि उनी छैनन्। कोभिड–१९ को संक्रमण विस्तारलाई बहाना बनाएर बैठकको विरुद्धमा देखिदै आएका आलीले आफू पक्षधरहरुको जमघट भने निर्वाधरुपमा गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट