‘पुजार सार्की’ भर्सेस ‘फर्की फर्की’: प्रदिप-आर्यनलाई भन्दा अनमोललाई एक शो बढी-Sutra News

‘पुजार सार्की’ भर्सेस ‘फर्की फर्की’: प्रदिप-आर्यनलाई भन्दा अनमोललाई एक शो बढी

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडाैं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’को सोमबारबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।



आक्रामक प्रचार प्रसारका कारण चर्चामा रहेका दुईवटै फिल्मले उत्साहजनक शोज पाएका छन् । ‘खल्ती’ एपमा उपलब्ध ४२ फिल्म हलको शोज विवरण हेर्दा ‘फर्की फर्की’ले देशभर १ सय ७१ शो प्राप्त गरेको छ भने ‘पुजार सार्की’ले १ सय ७२ शो प्राप्त गरेको छ । अधिकांश फिल्म हलहरुले हालसम्म खुलाएको बुकिङलाई हेर्दा दुईवटै फिल्मलाई समान शोज दिएका छन् । १ शोले अनमोलको फिल्म माथि देखिन्छ ।

सूत्र न्यूजले दुवै फिल्मका वितरक गोविन्द शाही र रोहित कट्टेलसँग कुराकानी गर्दा उनीहरुले आजै देशभरका हलहरुबाट सबै शो उपलब्ध नभइसकेकाले भोलि सम्ममा सम्पूर्ण जानकारी आइसक्ने बताए । दुवै वितरकले आफ्नो फिल्मलाई बढी शो दिलाउन दौडधुपमा रहेकाले आजै शोज विवरण खुलाउन चाहनेनन् । ‘भोलिमात्रै आउँछ’ भन्दै पन्छिए ।

सुयोग गुरुङले निर्देशन गरेको ‘फर्की फर्की’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका आउटलेटमा ६१ शोज उपलब्ध गराएको छ । काठमाडौँ उपत्यकामा क्युएफएक्सले २८ शो दिएको छ भने उपत्यका वाहिर ३३ शो दिएको छ ।

यता आईएनआईले आफ्नो आउटलेटमा १५, वान सिनेमाजले १०, बिग मुभिज ५ शोज दिएका छन् भने एफक्युब, सिडिसी सिनेमाज लगायतले पनि फिल्मलाई उत्साहजनक शोज दिएका छन् ।

क्युएफएक्सले पत्यकामा दिएको शोज
क्युएफएक्सले उपत्यकामा दिएको शोज

आइतबार आयोजना गरिएको ’फर्की फर्की’को स्पेशल शो कार्यक्रममा फिल्मकर्मी, फिल्म निर्देशक निश्चल बस्नेत लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले फिल्म हेरेका थिए । फिल्म हेरेपछि निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘अनमोलको यो फिल्म हेरेर खुब मज्जा आयो। फिल्ममा प्रयोग भएको ’टाइम लूप’ एकदम बबाल लाग्यो। निर्देशक र छायांकारको कामको सुपप छ। अनमोलले धेरै राम्रो काम गरेका छन्, उनको यो फिल्म अहिलेसम्मको उत्कृष्ट फिल्म लाग्यो ।’ साथै, निर्देशक बस्नेतले यो फिल्म नछुटाउन पनि सबै दर्शकलाई अनुरोध गरेका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिकामा छन् । यस फिल्ममा निर्देशक गुरुङकै लेखन रहेको छ ।

सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी रहेको यो फिल्मको निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह-निर्माता रामु न्यौपाने हुन् ।

यस्तै दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ ले क्युएफएक्समा ५८ शोज पाएको छ । काठमाडौँ उपत्यकामा क्युएफएक्सले २७ शो दिएको छ । उपत्यका वाहिर ३२ शो दिएको छ । आईएनआईले आफ्नो आउटलेटमा १५, वान सिनेमाजले १०, बिग मुभिजले ५, सिडिसी सिनेमाज् लगायतले पनि फिल्मलाई उत्साहजनक शोज दिएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू लगायतका कलाकारहरू मुख्य भूमिकामा छन्।

विकास सुवेदीको लेखन रहेको यो फिल्मको निर्माता सुवास भुसाल हुन्। यस फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ। फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् । यस्तै फिल्ममा साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

दुवै फिल्मको प्रतिष्पर्धालाई नेपाली फिल्मवृत्तमा स्टार कलाकारबीचको महाभिडन्तको रुपमा हेरिएको छ। अनमोलले खुलेरै यसलाई आफूबीचको षडयन्त्र भनेर आरोप लगाएका छन् । अनमोलको ‘फर्कीफर्की’ले अहिले आर्यन, प्रदिप र पल साह अभिनित ‘पूजार सार्की’ भन्दा एक शो बढी पाएको देखिएपनि बिहिबारदेखि हलमा देखिने दर्शकको चापका आधारमा हेरफेर हुने सम्भावना त छँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट