कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ-Sutra News

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता कीर्ते कसुरमा पक्राउ गर्न प्रहरी पुगेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालय पुगेको हो ।



सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली गएकाे थियाे ।

यसअघि जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । उनले आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै निवेदन दिएका थिए ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

महतोले सिरोहियाविरूद्ध १६ वैशाख २०८१ मा प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीमा जाहेरी परेपछि सिरोहियाले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर, दुइटा नागरिकता नलिएको दाबी गर्दै विज्ञप्ति जारी गरेका थिए।

विज्ञप्तीमा उनले सहकारी ठगीका विषयमा कान्तिपुरले समाचार लेखेर आवाज उठाएकाले आफूविरुद्ध राज्य संयन्त्रले प्रतिशोध साँधेको आरोप लगाएका छन् । कान्तिपुरको समाचार रोक्न, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफ्नाविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट