कसरी बढ्यो प्रचण्डको पैतृक सम्पत्ति ?-Sutra News

कसरी बढ्यो प्रचण्डको पैतृक सम्पत्ति ?

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।



सार्वजनिक सम्पत्ति विवरणलाई हेर्दा प्रचण्डको सम्पत्ति बढेको छ । २०७३ सालमा प्रधानमन्त्रीकै पदमा रहँदा उनको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । तत्कालिन समय सार्वजनिक गरेको विवरणभन्दा अहिले उनको सम्पत्ति निकै बढेको छ ।

तत्कालिन समय प्रचण्ड र उनकी पत्नीको नाममा भरतपुर, चितवनमा एक कठ्ठा सातधुर जग्गा र तीन तोला सुन थियो ।

यद्यपि, आठ वर्षपछि सम्पत्ति विवरण सार्वजनिक हुँदा उनको सम्पत्ति ह्वात्तै बढेको छ ।

हाल सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रचण्डसँग १५ कठ्ठा जग्गा, एउटा घर, पाँच तोला सुन र २५ लाख नगद छ । जुन विवरणलाई हेर्दा ८ वर्षको बीचमा प्रचण्डको सम्पत्तिमा १४ कठ्ठा जग्गा, एउटा घर, दुई तोला सुन र २५ लाख नगद थपिएको छ ।

पैतृक सम्पत्ति बढ्यो !

२०७३ सालमा प्रचण्डले आफूसँग एक कठ्ठा जमिन र तीन तोला सुन भएको बताएका थिए । जुन सम्पत्तिहरु उनले आफ्नो पत्नी स्वर्गीय सीता दाहालको नाममा भएको विवरण सार्वजनिक गरेका थिए ।

रोचक विषय, आठ वर्षपछि सोही पैतृक सम्पत्ति नै बढेको देखाएर प्रचण्डले सम्पत्ति प्रस्तुत गरेका छन् ।

प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार १४ कठ्ठा जमिन र तीन तोला सुन बढेको छ । विवरणअनुसार बढेको जग्गा र सुन पैतृक हो ।

प्रचण्डले २५ लाख नगदबारे भने प्रतिनिधिसभा सदस्यको हैसियतमा कमाएको बताएका छन् ।

सधैँ सम्पत्ति विवरण घटबढ

प्रचण्डले प्रधानमन्त्रीको रुपमा पहिलो पटक सार्वजनिक गरेको सम्पत्ति विवरणमा दुई तोला सुन र एक कठ्ठा सात धुर जग्गा रहेको देखाएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन थपिएको थियो भने जग्गा एक कठ्ठा कम भएको थियो ।

जुन तेस्रो पटक सार्वजनिक गर्दा थप घटबढ भएको देखाइएको छ ।

लजिस्टिक विवरण गायब

सम्पत्ति विवरण सार्वजनिक गर्दा उच्च पदस्थले आफूसँग रहेको लजिस्टिक सामाग्री पनि सार्वजनिक गरेको पाइन्छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डले भने लजिस्टिक विवरण सार्वजनिक गर्दैनन् ।

उनले आफूसँग भएको कम्प्युटर, ल्यापटप, मोबाइलहरुबारे कुनै पनि कुरा विवरणमा उल्लेख गरेका छैनन् । प्रधानमन्त्री प्रचण्डले यस्ता चिजहरुको विवरण फाराममा ‘छैन’ भनेर उल्लेख गरेका छन् ।

सँगै उनले आफूसँग कुनै सवारी साधन र शेयर पनि नभएको बताएका छन् ।

कहिलेकाे विवरण के ?

२०७३ काे सम्पत्ति विवरण

Prachanda-property_2073

२०८१ काे सम्पत्ति विवरण

Prachanda-property_2081

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट