कोठा भाडा तिर्न नसक्दा छोरालाई मर्न उक्साए, आफूले आत्महत्या गरे-Sutra News

कोठा भाडा तिर्न नसक्दा छोरालाई मर्न उक्साए, आफूले आत्महत्या गरे

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठा भाडा तिर्न नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा सोचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिए ।

कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज बिहान फेला परेको प्रहरीको भनाइ छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटना स्थलमा खटिएको थियो । कृष्णको शव भेटिएपछि छोरा रिचेन घाइते अवस्थामा भेटिएका थिए । दुवै जना मुखका कालो कपडाले छोपिएको र घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

प्रवक्ता अधिकारीले भने, “घाइते अवस्थामा आज भेटिएका रिचेनलाई प्रहरीले हिजो पनि चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दैगर्दाको अवस्थामा उद्धार गरेको खुल्न आएको छ ।”

प्रहरीका अनुसार कृष्ण बिगत १५ वर्षदेखि टयाक्सी चलाउँदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौंको रविभवन, गणेशथानमा भाडाको कोठामा बस्दै आएका थिए ।

पछिल्लो तीन महिनायता कोठा भाडा तिर्न नसक्दा तीनै जना ट्याक्सीमा रात कटाउँदै आएको प्रहरीको भनाइ छ । रिचेन र रश्मीको मानसिक अवस्था सामान्य नदेखिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

कृष्णले सोमबार सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै छोरीलाई त्यही छाडेर छोरासँगै हिँडेका थिए । प्रहरीले आज बिहान सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको थियो ।

रश्मीलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट