भ्रष्टाचारको आरोप लागेपछि सुटुक्क साउदी अरब पुगे स्पेनका पूर्वराजा कार्लोस-Sutra News

भ्रष्टाचारको आरोप लागेपछि सुटुक्क साउदी अरब पुगे स्पेनका पूर्वराजा कार्लोस

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं– आफू विरुद्धको भ्रष्टाचार मुद्दाका साथ छानबिन सुरु भएपछि केही दिनअघि स्पेन छाडेका त्यहाँका पूर्वराजा हुआँ कार्लोस खाडी मुलुक साउदी अरबमा देखिएका छन् । बीबीसीका अनुसार, स्पेनको मिडिया ग्रुप ‘एनआईयूएस’ ले हालैमात्र एउटा तस्बिर सार्वजनिक गरेको छ, जहाँ पूर्वराजा कार्लोस एक विमानबाट झरिरहेका देखिन्छन् । र, त्यो समाचारमा दाबी गरिएको छ कि, उनी अबुधावी पुगेका छन् ।



६ वर्षअघि छोरा फिलिपलाई गद्दी हस्तान्तरण गरेका राजा कार्लोसले सोमबार आफूले स्पेन छाड्न लागेको घोषणा गरेका थिए । तर,उनी कहाँ जान लागेका हुन्, त्यसको खुलासा गरेका थिएनन् । उनले देश छाडे, तर देश छाडेर कतातिर जान लागेका हुन् भन्नेबारे कसैलाई पनि जानकारी दिएका थिएनन् । उनले अबुधावीस्थित पाँचतारे होटल इमिरेट्स प्यालेसमा एउटा फ्ल्याट खरिद गरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

देश छाड्ने निर्णय उनले यस्तो बेला गरेका थिए, जतिबेला स्पेनमा एउटा भ्रष्टाचार घटनाको छानविन भइरहेको थियो र त्यो भ्रष्टाचारमा उनलाई पनि मुछिएको थियो । यद्यपी, उनले भ्रष्टाचारमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। स्पेनका पूर्वराजा कार्लोसको अबुधावीका युवराज मोहम्मद बिन जायेद अलन्हयानसँग निकट सम्बन्ध रहेको मानिन्छ ।

उनी साउदी अरब पुगेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेपनि उनी कहाँ छन् भन्ने बारेमा स्पेनको राजपरिवार र सरकारले कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् । बीबीसीले उनी अबुधावी पुगेको दाबी गरेपनि अन्य केही सञ्चारमाध्यमहरूले उनी डोमिनिक रिपब्लिक पुगेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।

६ वर्ष पहिले आफ्ना छोरा फिलिपलाई सत्ता सुम्पेका कार्लोसमाथि त्यहाँको सर्वोच्च अदालतले तीब्रगतिको रेल खरिद सम्बन्धी सम्झौतामा भएको भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेको थियो । त्यसको केही समय स्पेनमै रहेपनि गत सोमबार उनले अचानक देश छाड्ने निर्णय गरेका थिए ।

स्पेनको इतिहासमा राजा कार्लोसलाई मुलुकलाई प्रजातान्त्रिक बाटोमा हिँडाउने राजाको रुपमा लिइन्छ । १९७५ अघिसम्म स्पेन तत्कालिन सैनिक शासक जनरल फ्रैंकोको तानाशाही शासन भोगिरहेको थियो । जनरल फ्रैंकोको निधनपछि राजा कार्लोसले मुलुकलाई प्रजातान्त्रिक नेतृत्व प्रदान गरेका थिए । लामो समयसम्म उनको गणना विश्वका सबैभन्दा लोकप्रिय राजाको रूपमा गर्ने गरिएको थियो ।

तर, पछिल्लो समय स्पेनका जनताहरुमा उनीप्रतिको भरोसा कम हुँदै जान थाल्यो । सन् २०१४ मा उनकी छोरी र बुहारीमाथि भ्रष्टाचार मुद्दा लागेपछि त्यहाँको राजपरिवार विवादको घेरामा त पर्यो नै, स्वयं राजाको लोकप्रियता पनि ह्रास हुन थाल्यो । उनको लोकप्रियता अझ त्यतिबेला खस्किन पुग्यो, जब मुलुकमा आर्थिक संकट बढिरहेका बेला उनी हात्तीको शिकारका लागि अफ्रिकी मुलुक बोत्स्वाना पुगे ।

एकातिर छोरी र बुहारीमाथि भ्रष्टाचारको आरोप, अर्कोतिर मुलुक आर्थिक संकटमा परेका बेला शिकारका लागि विदेशतिर लाग्नु– यी दुई कारणले उनी ठूलो ठूलो विवादमा परे कि, ६ वर्षअघि उनी गद्दी छाडेर छोरा फिलिपलाई सत्ता सुम्पन्न बाध्य भए । अहिले आफै भ्रष्टाचारमा मुछिएपछि देश नै छाड्न बाध्य भए ।

स्वदेश त्याग्नुअघि पूर्वराजा कार्लोसले एक पत्र पनि लेखेका छन्, जसमा उनले भनेका छन्, ‘मेरो जीवनमा घटेका केही घटनाका कारण जनताको प्रतिक्रिया मध्यनजर गर्दै देश छाड्ने निर्णय गरेको हुँ ।’ गद्दीमा रहेका छोरा फिलिपले शान्तिपूर्वक राजाको हैसियतमा जिम्मेवारी निर्वाह गर्न सफल हुने आशापनि उनले सो पत्रमा व्यक्त गरेका छन् । ‘यो निर्णय गर्दै रहँदा म निकै भावक बनेको छु, तर यो निर्णय मैले शान्त र स्थित बनेर लिएको छु’ सो पत्रमा उनले लेखेका छन् ।

लगत्तै स्पेनिस राजदरवारका तर्फबाट राजा चतुर्थले विज्ञप्ती जारी गर्दै आफ्ना बाबुले गरेको यो निर्णयप्रति सम्मान र आभार व्यक्त गरेका छन् ।
स्पेनका भ्रष्टाचारविरोधी अभियन्ताहरुले धेरै पहिलेदेखि पूर्व राजा कार्लोसले स्वीट्जरल्याण्डमा अघोषित रुपमा सम्पत्ति राखेको आशंका गर्दै आएका छन् । स्पेनको सरकारले कानून सबैका लागि बराबर भएको बताउँदै यस सम्बन्धमा हुने छानविनमा कुनै हस्तक्षेप नगरिने बताउँदै आएको छ ।

जहाँसम्म पछिल्लो समय उनीमाथि गरिएको जाँचको प्रसंग हो, यो सन् २०१४ मा राजा कार्लोसको साउदी अरबसँग सम्झौता गरेको ६ अर्ब पाउण्ड बराबरको परियोजनासँग सम्बन्धित छ । मक्का–मदिनामा रेल लिंक निर्माणका लागि एउटा स्पेनिस कम्पनीले ठेक्का प्राप्त गरेको थियो । सो ठेक्का प्रकरणमा पूर्वराजा कार्लोशको मात्र होइन, स्वीस बैंकको भूमिकाको समेत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट