लागु औषध कारोबारी पक्राउ गर्न गोली प्रहार, अस्पतालमा उपचार जारी-Sutra News

लागु औषध कारोबारी पक्राउ गर्न गोली प्रहार, अस्पतालमा उपचार जारी

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । बाँकेको जानकी गाउँपालिका ६ स्थित गनापुरमा लागु औषध कारोबारी पक्राउ गर्न बिहीबार प्रहरीले गोली प्रहार गरेको छ ।



लागु औषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले कोहलपुर नगरपालिका १२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । उनको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साथै, प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट