५२ सांसदकाे हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश-Sutra News

५२ सांसदकाे हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।



नेपाली कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

दाबी पेसमाथि समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। कार्कीकाे पक्षमा एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले हस्ताक्षर गरेका छन् ।

काेशीमा सरकार गठनकाे तयारी चलिरहँदा यता, सरकार गठनको आह्वानसँगै स्वत: कामचलाउ भएका मुख्मन्त्री केदार कार्की भने रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् ।

उनले रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । सर्वोच्च प्रशासनले बताएअनुसार कार्कीको रिट निवेदन आइपुगेको छ । जसमाथि अध्ययन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट