मन्त्रीलाई कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको ‘पिसिआर टेष्ट’ गर्नुपर्छ कि पर्दैन ?-Sutra News

मन्त्रीलाई कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको ‘पिसिआर टेष्ट’ गर्नुपर्छ कि पर्दैन ?

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भयो, २१ साउनमा। साउन दोस्रो साता काठमाडौँ आएका मन्त्री यादव १५ साउनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रहरी समायोजनसम्बन्धी बैठकमा सहभागी थिए।



मन्त्री यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेथ थापा क्षेत्री, गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी लगायतको  सहभागिता थियो। बालुवाटारमा भएको बैठकमा सहभागीहरुले त्यसक्रममा सामूहिक तस्बिर खिचेको पनि देखिन्छ।

जसलाई कोरोना संक्रमणको पुष्टि हुन्छ, उसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि पिसिआर परीक्षण गर्ने गरिएको छ। प्रादेशिक मन्त्री यादवलाई कोरोना संक्रमण रहेको पुष्टि भएपछि प्रश्न उठेको छ, मन्त्री यादवसँगै बैठकमा रहेका प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण भए-नभएको जान्न पिसिआर परीक्षण गर्नुपर्छ कि पर्दैन?

‘सचिवालयमा रहनुभएका व्यक्तिहरु के भन्नुहुन्छ, त्यो उहाँहरुको ठाउँमा छ, स्वास्थ्यसम्बन्धी ‘गाइडलाइन’अनुसार जाने हो भने त परीक्षण गर्नुपर्ने हुन्छ।’

यही प्रश्न हामीले प्रधानमन्त्री ओलीको सचिवालयसँग गरेका थियौँ। उनको सचिवालयले भने प्रधानमन्त्रीको पिसिआर परीक्षण गर्न आवश्यक नरहेको बताएको छ। सूत्रन्यूसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजागाईंले भने, ‘कार्यक्रम दूरी कायम गरेर गरिएको थियो। त्यहाँ हात मिलाउने काम पनि भएन। सुरक्षाको सबै विधि प्रयोग गरेर कार्यक्रम गरेको हुनाले प्रधानमन्त्रीको परीक्षण गर्नु पर्दैन।’

तर, मन्त्री यादवले एक हप्ताअघि आफ्नो फेसबुक पेजमा राखेको तस्बिर हेर्दा प्रेस संयोजक बजगाईंले दाबी गरेजस्तो बैठकमा सामाजिक दूरी कायम गरेको देखिँदैन। कतिसम्म भने मन्त्री यादवले सामाजिक सञ्जालमा राखेको तस्बिरमा सहभागीहरुले मास्कसमेत लगाएका छैनन्।  

जनस्वास्थ्यविद्हरुको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्रीलगायत बैठकमा सहभागी सबैको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ। जनस्वास्थ्यविद् डा. सुजनबाबु मरहठ्ठाका अनुसार, कसैलाई संक्रमण पुष्टि भयो, त्यो व्यक्ति न्यूनतम ६ फिटको अन्तरमा १५ मिनेटभन्दा बढी समय बसेको पाइयो भने सँगै बस्ने व्यक्तिहरुको पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने हुन्छ।’

यो मापदण्ड फलो गर्ने हो भने, त्यो बैठकमा सहभागी सबैको पिसिआर परीक्षण गर्नुपर्ने मरहट्टा बताउँछन्। उनी भन्छन्,  ‘सचिवालयमा रहनुभएका व्यक्तिहरु के भन्नुहुन्छ, त्यो उहाँहरुको ठाउँमा छ, स्वास्थ्यसम्बन्धी ‘गाइडलाइन’अनुसार जाने हो भने त परीक्षण गर्नुपर्ने हुन्छ।’

संक्रमण पुष्टि भएका मन्त्री यादव ‘होम आइसोलेसन’मा बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। मन्त्री यादवले आफू अहिले ‘होम आइसोलेन’मा रहेको र कुनै लक्षण नदेखिएको बताए। यसका विपरित प्रधानमन्त्री ओलीले भने राजनीतिक भेटघाट गरिरहेका छन्। कतिसम्म भने, यसबीचमा उनी एउटा सानो समूहका साथ बालकोटस्थित निजी निवासमा पनि पुगिसकेका छन्।

(यसअघि असावधानिवस प्रहरी महानिरीक्षकको नाम गलत पर्न गएकोमा सच्याइएको छ । यो गल्तीप्रति क्षमाप्रार्थी छौं।–सम्पादक)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट