नेपाली फिल्म : हतारमा हस्ताक्षर, पछि पछुतो-Sutra News

नेपाली फिल्म : हतारमा हस्ताक्षर, पछि पछुतो

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- लकडाउन हुनु केही दिनअघि अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दामा उजुरी पर्‍यो । निर्माताद्वय रुपेन्द्र खड्गी र जयन श्रेष्ठले दिएको जाहेरीको कारण थियो– अनमोलले फिल्मका लागि गरेको सम्झौता तोड्नु ।



सम्झौता ६ महिना अघिको हो । अनमोलले फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेन्मेन्ट प्रालिसँग ४० लाख पारिश्रमिक लिनेगरी फिल्म ‘धुपौरे’मा साइन (हस्ताक्षर) गरेका थिए । साइन गरेबापत ५ लाख रुपैयाँ ‘साइनिङ अमाउन्ट’ समेत लिएका थिए । फिल्मका लागि शरीर अनुकूल बनाउन निर्माताले उनको जिम र अभिनय कक्षामा समेत लगानी गरेका थिए । तर, सुटिङमा जानु २५ दिनअघि निर्मातासमेत चकित हुनेगरी मिडियामा खबर आयो– ‘अनमोलले धुपौरे नगर्ने ।’

अनमोलले धोका दिएपछि फिल्मका निर्माता प्रहरीको शरणमा पुगे । प्रहरीमा जाँदासमेत कुरा नमिलेपछि अहिले यो मुद्दा अदालतसम्म पुगेको छ । फैसला हुन भने बाँकी छ । तर, निर्माताको स्पष्ट माग छ– ‘कि सम्झौताअनुरूप फिल्ममा काम गर्नुपर्‍यो, कि फिल्मका लागि खर्च भएको करिब ३० लाख रकम क्षतिपूर्ति तिर्नुपर्‍यो ।’

०००
डेढ वर्ष बढी भयो, अभिनेत्री बेनिशा हमालले फिल्म खेलेकी छैनन् । अघिल्लो वर्षको पुसमा ‘टुल्की’ नामक फिल्म साइन गरेकी थिइन् । बहुपति प्रथाको कथामाथि लक्ष्मण सुनारले निर्देशन गर्न लागेको यो फिल्म अघिल्लै वर्ष १५ माघ (२०७६) बाट सुटिङमा जाने चर्चा थियो । तर, अहिलेसम्म सुटिङ सुरु हुन सकेन । बरु खबर आयो– ‘बेनिशाले फिल्म छाडिन् ।’ फिल्म छाडेर उनी मुम्बई पुगिन्, फिल्ममेकिङ पढ्न । कोभिड–१९ का कारण पढाई नभएपछि उनी अहिले नेपालमै छिन् ।

०००
गतवर्ष वैशाखमा धुमधामसाथ घोषणा भएको फिल्म हो– ‘गोपी’ । घोषणाताका यो फिल्ममा प्रमुख भूमिकामा अनुबन्धित भएका कलाकारहरू थिए, खगेन्द्र लामिछाने, सुरक्षा पन्त र वर्षा शिवाकोटी । खगेन्द्रले त निर्देशक र स्क्रिप्टराइटरलाई फिल्मको पटकथा फाइनल गर्नमै सघाएका थिए । तर, फिल्म फ्लोरमा पुग्दा खगेन्द्र र वर्षा दुवैले यो फिल्म छाडे ।

वर्षा शिवाकोटी ‘आउट’ भएर वर्षा राउत ‘इन’ भएको खबरले एक दिन पार नगर्दै बजारमा अर्को खबर आयो– खगेन्द्र ‘गोपी’बाट बाहिरिए । सुटिङमा जानु एक साताअघि दुई कलाकारले फिल्म छाडेपछि फिल्म युनिट आत्तियो । शिवाकोटीको ठाउँमा राउतलाई रिप्लेस गरेको युनिटले त्यसपछि रातारात विपिन कार्कीलाई खगेन्द्रको रोलमा मनायो । विपिनले एक रातमै स्क्रिप्ट पढेर फिल्म गर्न राजी भए ।

बाहिर भने वर्षालाई फिल्मबाट निकालिएको हल्ला चलाइयो, खगेन्द्रले ‘रचनात्मक मतभेद’ भएका कारण फिल्म छाडेको बताइयो ।

०००
यी तीन प्रतिनिधि उदाहरणमात्रै हुन् । पछिल्लो समय नेपाली सिनेमा जगतमा सम्झौता गरेको फिल्म छाड्ने कलाकारहरूको संख्या बढिरहेको छ । केही उदाहरण केलाउँदा यसरी सम्झौता तोडिनुमा निर्माण पक्ष र कलाकार दुवै उत्तिकै दोषी देखिन्छन् । कहिले कलाकारले निर्मातालाई ‘धोका’ दिएका छन्, कहिले निर्माताले ‘कलाकार’लाई ।

सम्झौता गर्नुअघि स्क्रिप्टमा गम्भीर नहुँदा पछि समस्या सिर्जना भएका ‘केस’हरू थुप्रै छन् । निर्माता–कलाकारबीच कसरी फिल्म सम्झौता हुन्छ, यसको प्रक्रिया हेर्दा स्क्रिप्टलाई लिएर नेपाली फिल्म क्षेत्र कतिसम्म सचेत छ, छर्लङ्गै हुन्छ ।

यद्यपि हामीकहाँ कलाकार–निर्माताबीचका अधिकांश द्वन्द्व अन्त्यमा फिल्म नगर्ने निचोडमै पुगेर टुंगिने गरेका थिए । तर, ‘धुपौरे’का हकमा त्यसो भएन । अनमोलविरुद्ध प्रहरीमा जाहेरी पुग्यो । ‘कि मेरो फिल्म खेल्नुपर्‍यो, कि उसका कारण मैले फिल्ममा गरेको खर्चको क्षतिपूर्ति दिनुपर्‍यो,’ निर्माता रुपेन्द्र खड्गी भन्छन्, ‘नत्र म मान्नेवाला छैन । बरु मुद्दा अदालतमै पुगोस्, म लडेरै छाड्छु ।’

‘धुपौरे’को भित्री पाटो
यो फिल्म साम्तेन भुटियाले निर्देशन गर्ने तयारी थियो । साम्तेन र अनमोलबीच निकट सम्बन्ध थियो, साम्तेन उनलाई लिएर फिल्म बनाउन चाहन्थे । त्यसैले ६ महिनाअघि उनी नेपाली फिल्मको डिजिटल अधिकार लिँदै आएको कम्पनी ओएसआर डिजिटलका सञ्चालक रुपेन्द्र खड्गी भेट्न पुगेका थिए ।

अनमोललाई लिएर फिल्म बनाउन लागेको र त्यसका लागि लगानीकर्ता खोजिरहेको बताएपछि खड्गीले अनमोल लिने भए लगानी गर्न तयार रहेको बताए । बजारमा अनमोलले प्रायः बुबा भुवन केसीको उपस्थिति र सल्लाहबिना फिल्म साइन नगर्ने चर्चा थियो । तर, खड्गीका अनुसार अनमोलले यो फिल्म बुबाको अनुपस्थितिमा आफ्नै विवेक प्रयोग गरेर साइन गरे ।

‘त्यसपछि फिल्मका लागि सुगठित शरीर र ‘सिक्स प्याक’ चाहिन्छ भनियो, मैले घरमै दुई जना जिम इन्स्ट्रक्टर पठाएँ, एक्टिङ क्लास पनि जोइन गराएँ,’ निर्माता खड्गीले सुनाए, ‘काठमाडौं मेरियट होटलमा करिब एक हजारको सहभागितामा कलाकारको अडिसन पनि लिइयो । जब भोलिपल्टदेखि वर्कसपमा जाने तयारी थियो, अनमोल एकाएक गायब भए । एकैचोटी अनमोलले धुपौरे नगर्ने भनेर मिडियामा आएको खबर पढेर म चकित भएँ ।’

सुटिङमा जाने भनिएको दिन भन्दा २५ दिन अगाडिको कुरा थियो यो ।

त्यसपछि अनमोल सम्पर्कबाट टाढिए, फ्रन्टमा देखिए उनका बुबा भुवन केसी । ‘मैले तपाईंलाई डिरेक्टर चित्त नबुझे, डिरेक्टर अर्को राखौंला, स्क्रिप्ट चित्त नबुझे, स्क्रिप्ट अर्को राखौंला तर फिल्मचाहिँ गरौंभन्दा भुवन दाइले सधैं ‘हुन्छ राजा, भइहाल्छ नि’ भन्दै टार्नुभयो तर कहिल्यै स्पष्ट हुनुभएन । कहिले फोन नउठाउने, उठाएका बेला अनेक कुरा गरेर टारेपछि मैले प्रहरीमा उजुरी दिन बाध्य भएँ’ उनले भने, ‘उजुरी दिएको १५ दिनसम्म पनि उहाँ प्रहरी कार्यलय आउनुभएन । तैपनि मैले खबर बाहिर ल्याएको थिइनँ । ‘ए मेरो हजुर–४’ को सुटिङमा जाने थाहा पाएपछि यो कुरा बाहिर ल्याउन बाध्य भएँ ।’

तर, ठगीको आरोप लाग्दा ‘ए मेरो हजुर–४’ को सुटिङका लागि काठमाडौं बाहिर थिए अनमोल । लगत्तै फेसबुकमार्फत् लामो स्टाटस लेख्दै उनले ठगीको आरोपबारे आफ्नोबारे नकरात्मक खबर पढेर आफू स्तब्ध भएको प्रतिक्रिया दिए ।

उनले ‘वान लाइन स्टोरी’ सुनेर आफूले यो फिल्म साइन गरेको तर पछि स्क्रिप्ट तयार भएर आउँदा त्योभन्दा फरक पाएको दावी गरेका छन् । ‘स्क्रिप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊँ भन्नु के मेरो गल्ती हो र ?,’ उनको स्पष्टीकरण छ, ‘तर उहाँहरूले त्यही स्क्रिप्टको सुटिङमा जान मलाई कर गर्नुभयो, त्यो मैले मानिनँ । यही कुरामा मत बाझियो र ‘यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईंहरूको पैसा फिर्ता लिन सक्नुहुन्छ’ भन्दा उहाँहरूले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो ममाथि ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको छु ।’

आफूले ‘एड्भान्स’ स्वरूप लिएको पाँच लाख रुपैँया रकम जुनसुकै समयमा पनि फिर्ता दिन तयार रहेको बताउँदै उनले भनेका छन्, ‘मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौंभन्दा उहाँहरूले इगोका रूपमा लिनुभयो र सुटिङको सिलसिलामा बाहिर आएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नुभयो ।’

तर, जाहेरी पत्र हेर्दा माघ–२६ गते नै प्रहरीमा उजुरी दिएको देखिन्छ । यसले के देखाउँछ भने जाहेरी दिएको करिब १५ दिनसम्म निर्माण पक्षले यो खबर बाहिर ल्याएको थिएन । ‘जब अनमोल प्रहरी कार्यलयमा हाजिर नभई फिल्मको सुटिङमा जान लागेको थाहा पाइयो, त्यसपछि मात्रै यो कुरा बाहिर ल्याएको हो, चरित्र हत्या नै गर्ने उद्देश्य भएको भए उहिल्यै गरिन्थ्यो,’ निर्माता खड्गीले भने ।

हतारमा हस्ताक्षर, पछि पछुतो
साइन गरेर फिल्म छाड्ने अधिकांश कलाकार सम्झौता तोड्नुको कारण कमजोर स्क्रिप्टलाई औल्याउँछन् । पूरा स्क्रिप्ट नपढी हतारमा हस्ताक्षर गर्दा पछि पछुताएका कलाकारको सूची लामो छ । ‘धुपौरे’का हकमा मात्रै होइन, अनमोलले यसअघि ‘ब्याचलर बन्टी’ पनि स्क्रिप्ट चित्त नबुझेरै छाडेका थिए ।

फरक यति थियो, त्यतिबेला निर्माता सुदीप खड्काले उनको असहमतिलाई लिएर बाहिर आपत्ति जनाएनन् । त्यतिबेला पनि उनले ४५ लाख रुपैयाँ पारिश्रमिकमा फिल्म साइन गरेको चर्चा थियो । फिल्म नगर्ने भएपछि ‘साइनिङ अमाउन्ट’का रुपमा लिएको १० लाख रुपैँया उनले निर्मातालाई फिर्ता गरेका थिए ।

‘हामीकहाँ एकाधबाहेक अधिकांश फिल्ममा पूरा स्क्रिप्ट तयार गरिसकेपछिमात्रै कलाकारसँग एग्रिमेन्ट गर्ने चलन छैन,’ फिल्म समीक्षक एवं निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘वान लाइन स्टोरीकै भरका कलाकार फाइनल गरिन्छ । फिल्मको वान लाइन स्टोरी सुन्दा कलाकारलाई पनि गजबै लाग्छ । तर, पछि स्क्रिप्टले पूरा रूप लिएपछि मतभेद सुरु हुन्छ । त्यसपछि भनेजस्तो क्यारेक्टर, भनेजस्तो डायलग, भनेजस्तो सिन नभएर उनीहरू फिल्म छाड्ने स्थितिमा पुग्छन् ।’

Khagendra lamichhane.jpg‘गोपी’मा वर्षा र खगेन्द्रले फिल्म छाड्नुको कारण पनि यही थियो त ?
‘खासमा त्यो रचनात्मक मतभेद थियो । स्क्रिप्टलाई लिएर हामीबीच कुरा नमिलेपछि सहमतिमै उहाँहरूले फिल्म नगर्ने निर्णय भएको हो,’ निर्देशक लामाले भने ।

यसमा खगेन्द्रको मत दीपेन्द्रको जस्तै छ । तर वर्षाको आरोप भने ‘साइन गर्दा एउटा चरित्र सुनाए पनि पछि स्क्रिप्टमा बस्दा अर्कै पाएका कारण छोड्नुपरेको’ भन्ने छ । ‘स्क्रिप्ट रिडिङमा बस्दा त २० पाना पढ्दासम्म मेरो एउटा सिन नआएपछि मात्रै थाहा भयो, मेरो रोल त फिल्ममा ह्याप्पी इन्डिङ गर्नमात्रै रहेछ,’ वर्षाले ‘गोपी’बाट आउट हुँदाको कथा सुनाइन्, ‘त्यसपछि मैले स्क्रिप्टमा थप काम गर्ने हो भने गरौं, यत्तिकै हो भने त नगरौं भन्ने कुरा गरेको थिएँ । तर, छोड्छु या खेल्दिनँ भनेको थिइनँ ।’

उनको भनाईमा, त्यतिबेला ‘जय शम्भो’ फिल्मको प्रमोशनका लागि उनी बुटवल पुगेकी थिइन् । फर्कने क्रममा बाटोमा आउँदाआउँदै एक्कासी उनी फिल्मबाट ‘आउट’ भएको, वर्षा राउत ‘इन’ भएको न्युज देखिन् । उनले थपिन्, ‘यसबारे कसैले मलाई केही सोधेन, एकपक्षीय न्युज बन्यो । अनि, मैले फेसबुकमा स्टाटस लेखेर आफूलाई स्क्रिप्ट चित्त नबुझेको भनेर प्रष्टीकरण दिएकी थिएँ ।’

उता निर्माण पक्षको आरोप भने फरक छ । पूरा स्क्रिप्ट नै नसुनी वर्षाले फिल्म छाडेको उनीहरुको दावी छ । वर्षा भने यो कुरा स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘पछि उल्टै समय दिन नसकेका कारण फिल्म छाडेको भनेर भन्देऊ है भन्दै पो म्यासेज आयो, म त छक्क परेँ ।’

अघिल्लो वर्ष भदौमा सूवर्ण थापाले निर्देशन गर्ने फिल्म ‘राम राम’का लागि सौगात मल्ल प्रमुख भूमिकामा अनबुन्धित भएका थिए । पछि उनले पनि स्क्रिप्टकै कारण देखाएर फिल्म छाडे । निर्देशक थापाले भने स्क्रिप्ट समयमा फाइनल नभएपछि सौगातले फिल्म छाडेको प्रतिक्रिया दिएका थिए ।

‘यहाँ कलाकारहरू पूरै स्क्रिप्ट नपढी किन फिल्म साइन गर्न हतारिन्छन् ?’ यसमा अभिनेता अनमोलको जवाफ छ, ‘नेपाली फिल्म इन्ड्रस्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् ।’

यसरी ‘धोका’
फिल्म क्षेत्रमा वर्षा शिवाकोटीलाई सबैभन्दा बढी बीचमै फिल्म छाड्ने अभिनेत्रीको आरोप लाग्ने गर्छ । सम्झौता गरेर छाड्नुपरेको उनको पहिलो फिल्म थियो– ‘ब्ल्याक’ । त्यसपछि ‘मेरो पैसा खोइ’, ‘रानी महल’ र ‘गोपी’ पनि छाड्नुपर्‍यो।

‘यहाँ कहिलेकाहीँ कलाकारबाट पनि धोका हुन्छ होला तर धेरैजसो मेकरबाटै हुने रहेछ,’ उनले भनिन्, ‘सुरुमा मेकरहरू बबाल कथा र दामी क्यारेक्टर छ भन्दै आउँछन् । तर, कसैले पनि पूरा स्क्रिप्ट लिएर आउँदैन । अनि, कतै यसको मन बदलिहाल्छ कि भनेर हतारहतारमा साइन गराउन खोज्छन् । स्क्रिप्ट नपाइकन साइन गर्दिनँ भन्यो भने विश्वास गरेन भन्ने ठान्छन्, त्यसैले साइन गर्नैपर्छ । त्यसपछि यथार्थ थाहा हुन्छ । स्क्रिप्ट पढ्दा एउटा क्यारेक्टर सुनाइएको हुन्छ, पछि विल्कुलै फरक पाइन्छ । मैले यस्तै कारणले धेरै फिल्म छाड्नुपर्‍यो।’

धेरै फिल्म छाडेकै कारण उनलाई प्रायः निर्माताहरूले फिल्मको अफर लिएर आउने बेला ठट्टा गर्दै भन्ने गर्छन्, ‘हाम्रो फिल्मचाहिँ नछाड्नु है ।’ आफूमाथि लागेको यो ट्यागप्रति उनलाई दुःखेसो छ । तर, नेपाली फिल्म क्षेत्र अझै प्रोफेसनल हुन नसक्दा यस्तो अवस्था सिर्जना हुने गरेको उनको दावी छ ।

वर्षाले तामझामपूर्ण घोषण भएको ‘रानीमहल’कै कारण आएका दुई–तीनवटा अफर पनि लत्याएर ९ महिना कुरिन् । तैपनि फिल्मको सुटिङ सुरु भएन । बीचमा निर्माताकै सहमतिमा हतार–हतार ‘भैरे’ फिल्मको सुटिङ पनि सकाइन् । तर त्यसपछि पनि सुटिङको सुरसार देखिएन ।

अति भएपछि फिल्ममा प्रमुख कलाकारका रूपमा अनुबन्धित भएका प्रशान्त ताम्राकारले पनि फिल्म नखेल्ने निर्णय गरे । त्यसपछि फिल्मको निर्माण पक्षप्रति असन्तुष्ट वर्षाले पनि फिल्म छाडिदिइन् । करिब पाँच दिन सुटिङसमेत भएको यो फिल्म त्यसपछि बन्न सकेन । निर्माण पक्ष निकट स्रोत भन्छ, ‘बजेट सकिएपछि फिल्म बन्न नसकेको हो ।’

‘मेरो पैसा खोइ’मा पनि उनलाई भारतबाट आएका निर्देशक विवेक शर्माले ‘लिड हिरोइन’ भनेर फिल्मका लागि प्रस्ताव गरेका थिए । स्क्रिप्ट माग्दा ‘अझै काम भइरहेको छ, पूरा हुन बाँकी छ’ भन्दै निर्देशकले थमाइरहेका थिए । तर, पछि एक्कासी मिडियामा खबर आयो– फिल्ममा वर्षा राउत लिड एक्टरमा अनुबन्धित । यो थाहा पाएर वर्षा शिवाकोटी छाँगाबाट खसेझैँ भइन् । ‘कसरी यस्तो भयो, अचम्ममा परेँ, त्यसपछि सिधै वर्षा (राउत) लाई फोन गरेर सोध्दा उसलाई र मलाई न्यारेट गरिएको स्टोरी र क्यारेक्टर फरक–फरक पाएँ, मलाई धोका दिएको महसुस भएपछि फिल्म छाड्न बाध्य भएँ,’ उनले सुनाइन् ।

पछि यो फिल्मबाट वर्षा (शिवाकोटी) मात्रै होइन, निर्देशक शर्मासमेत ‘आउट’ भए । आन्तरिक विवादका कारण १६ दिन छायांकन गरेको सबै फुटेज डिलिट गरेर निर्देशक शर्मा बिनासूचना मुम्बई फर्किएको खबर बाहिर आयो । त्यसपछि फिल्मका निर्माता रोज राणा स्वयंले फिल्म निर्देशन गरे । शर्मा किन एकाएक फिल्म छाडेर मुम्बई भागे, खास कुरा गर्भमै रह्यो । मिडियामा निर्माताको एकोहोरो कारणमात्रै आइरह्यो ।

यहाँ प्रायः फिल्ममेकरहरू कलाकारलाई फिल्म अफर गर्दा हातमा पूरा स्क्रिप्ट बोकेर जाँदैनन्, सामान्य वान लाइन स्टोरी भए पुग्छ । अनि, कलाकारलाई फिल्मको पूरै कथा पनि सुनाउँदैनन्, सम्बन्धित कलाकारको भूमिकालाई महत्व दिएर बढाइचढाइ गरेर सुनाए पुग्छ ।

त्यसपछि बढाइचढाइ सुनाइएको आफ्नो भूमिकालाई लिएर कलाकार लोभिन्छन्, अनि तत्काल फिल्म साइन गरिहाल्छन् । तर, पछि आफूलाई भनिएजस्तो भूमिका नपाएपछि जिल खान्छन् । त्यसपछि पछुतो मान्दै फिल्म छाड्छन् ।

फिल्म ‘दाल भात तरकारी’मा अभिनेत्री स्वस्तिमा खड्कासँग पनि यस्तै भयो । अभिनेत्री आँचल शर्माले निर्वाह गरेको क्यारेक्टरका लागि सुरुमा उनलाई अनुबन्धित गरिएको थियो । तर, यो फिल्म उनले बीचमै छाड्नुपर्‍यो । कारण स्क्रिप्ट नै थियो । ‘मलाई स्क्रिप्ट सुनाउँदा मेरो भूमिका र स्टोरी जे भनिएको थियो, पछि पूरै फरक पाएँ, अनि फिल्म छाडेँ,’ उनले भनिन् ।

कारण- टिम
कलाकार–निर्माताबीचको सम्झौता सधैं स्क्रिप्टकै कारणमात्रै तोडिएका छैनन्, कहिलेकाहीँ फिल्ममा काम गर्ने ‘टिम’ चित्त नबुझ्दा पनि यस्तो अवस्था सिर्जना हुन्छ । उदाहरणका लागि स्वस्तिमालाई लिन सकिन्छ । उनी फिल्म गर्दा स्क्रिप्टमात्रै हेर्दिनन्, विश्वासिलो ‘टिम’ पनि खोज्छिन् । आफूसँग काम गर्ने ‘को–एक्टर’ को हो, त्यसलाई पनि महत्वसाथ हेर्छिन्।

उत्कृष्ट अभिनेत्रीका रूपमा नेसनल अवार्ड जितेको र निकै वाहवाही बटुलेको फिल्म ‘बुलबुल’ यही कारण उनले झन्डै छाडेकी थिइन् । ‘सुरुमा को–एक्टर मुकुन्द होइन, अर्कै राख्ने कुरा थियो । झन्डै मैले फिल्म छाडेको थिएँ, तर पछि कुरा मिल्यो अनि मैले फिल्म गरेँ, स्वस्तिमाले सुनाइन् ।

वर्षा शिवाकोटीले ‘ब्ल्याक’ फिल्म छाड्नुको कारण स्क्रिप्टमात्रै थिएन, टिम पनि थियो । लगानीकर्ता नै फिल्मको हिरो रहेको थाहा पाएपछि सो फिल्मप्रति उनको आकर्षण घट्यो । ‘यो फिल्म गर्दापनि मलाई स्क्रिप्ट उपलब्ध गराइएन,’ उनले भनिन्, ‘पछि थाहा भयो, मलाई र मेरो मेल को–एक्टरलाई न्यारेट गरिएको स्टोरी अलग–अलग रहेछ । त्यतिमात्रै होइन, फिल्ममा प्रोड्युसरहरू नै आफैँ एक्टरका रुपमा संलग्न हुनुहुँदो रहेछ । यो सब थाहा पाएपछि मैले फिल्म गर्दिनँ भनेर छाडेकी थिएँ ।’

त्यस्तै, पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’का क्रममा अनुबन्धित भएका दुई कलाकारले लगातार फिल्म छाडेका थिए । सुरुमा फिल्मको लिड रोलमा मोडल दीपक घिमिरे अनुबन्धित भएका थिए । पछि समय दिन नभ्याएको भन्दै उनले फिल्म छाडेपछि पल शाहको इन्ट्री भयो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाउँदै निर्माण पक्षले बजारमा पल अनुबन्धित भएको खबर फैलाएपछि उनले सम्झौता गर्नलाई भेट भएको दिन फिल्म नगर्ने बताइदिए । कथाको अन्तिम ड्राफ्ट पढ्न नपाउँदै बजारमा यस्तो हल्ला चलाएको भन्दै उनी रिसाए । त्यसपछि नयाँ कलाकारको इन्ट्री भयो– समुन्द्र पण्डित ।

फिल्मका निर्देशक सत्यराज चौलागाईंले भने दीपक र पल दुवैले फिल्म छाड्नुपछाडि स्क्रिप्टभन्दा अरू नै कारण रहेको खुलाए । ‘वान लाइन स्टोरी त उहाँलाई मनपरेकै थियो,’ उनले भने, ‘तर, कहिलेकाहीँ फिल्मको टिममा रहेको एकजना मान्छे चित्त बुझेन भने पनि कलाकारले सम्झौता तोड्ने गर्छन् । यो फिल्मको हकमा पनि दुई जना कलाकारले त्यही कारण फिल्म छाडेका थिए । म नामचाहिँ खुलाउँदिनँ ।’

समयमा सुटिङ नहुँदा
तोकिएको समयमा सुटिङ नहुँदा पनि कलाकारले सम्झौता तोड्नुपर्ने अवस्था सिर्जना हुन्छ । बेनिशाले ‘टुल्की’ फिल्म छाड्नुको कारण पनि यही नै हो । र, यसरी सुटिङ ढिलो गरेकै कारण फिल्म युनिट नयाँ कलाकारको खोजीमा विज्ञापन गर्दै हिँड्नुपरेको छ ।

हालैमात्र सत्यराज चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘बिच्छेद’बाट अभिनेत्री केकी अधिकारी पछि हटेकी छन् । कारण हो, ‘परदेशी–२’ सँग फिल्म जुध्नु । यो फिल्मभन्दा अगाडि उनले ‘बिच्छेद’को टिमसँग सम्झौता गरेकी थिइन् । तर, दुवैको छायांकन एउटै समयमा हुने भएपछि उनले ‘परदेशी–२’ रोजिन् ।

dayahang.jpg‘हुन त,यो एक किसिमको धोका नै हो, तर हामीले त्यस्तो आपत्ति जनाएनौं,’ निर्देशकले चौलागाईंले भने, ‘सहमतिमै उहाँलाई विदा गर्‍यौं । हामीकहाँ कलाकारहरू भ्याएसम्म सबै फिल्म गर्ने भन्ने सोच्छन् । त्यसैले सम्झौता गर्ने बेला जुध्ला कि भन्ने सोच्दैनन् । पछि एउटा भन्दा अर्को अवसर राम्रो लाग्यो भने पनि फिल्म छाड्छन् ।’

केकीका स्थानमा अहिले लक्ष्मी बर्देवाको प्रवेश भएको छ । पुरुष कलाकारका भने ‘बुलबुल’ अभिनेता मुकुन्द भुषाल अनबुन्धित भइसकेका छन् । केही महिनाअघिमात्रै अभिनेता दयाहाङ राईले ‘लप्पन छप्पन–२’ निर्धारित मितिमा फिल्म छायांकन सुरु हुन नसकेकै कारण छाडेका थिए । कारण, दयाले ‘लप्पनछप्पन–२’ साइन गर्दा यो फिल्मको छायांकन दसैंभित्र सकेर त्यसपछि ‘जारी’लाई समय दिने तालिका बनाएका थिए । तर, सुटिङ समयमा हुन नसकेपछि यो फिल्म छाड्नु उनको बाध्यता बन्यो ।

कोरोना महामारी नआएको भए र स्थिति सामान्य भएको भए अभिनेत्री वर्षा शिवाकोटीसामु पनि यस्तै परिस्थिति सिर्जना भइसकेको थियो । उनी लिड रोलमा अनुबन्धित भएको ‘परदेशी–२’ फिल्मको छायांकन तोकिएको मितिमा हुन सकिरहेको थिएन । उनले कलाकार रमेश बुढाथोकीको ‘सुदूर’ नामक फिल्ममा चैत–१५ गतेबाट सुटिङमा जाने गरी सम्झौता गरिसकेकी थिइन् ।

त्यसैले उनलाई दुईमध्ये एउटा फिल्म छाड्नुपर्ने अवस्था सिर्जना होला कि भन्ने डर थियो । तर, कोरोना महामारीले फिल्मको सुटिङै रोकियो । अहिलेलाई वर्षाको यो डर त ट-यो, तर फिल्म क्षेत्रमा व्याप्त यो प्रवृत्ति यसै टर्ने संकेत देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट