प्रकाशकीय : मूलधारको पत्रकारितातर्फ हाम्रो यात्रा-Sutra News

प्रकाशकीय : मूलधारको पत्रकारितातर्फ हाम्रो यात्रा

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

मानिस जति धेरै घरभित्र बस्न बाध्य हुन्छ, बाह्य संसारबारेको जानकारी विस्तृतरूपमा त्यति नै छिटो र छरितो रूपमा आवश्यक पर्दाे रहेछ । कोभिड–१९ का कारण ११ चैत २०७६ देखि सुरु भएको झण्डै चार महिना लामो ‘लकडाउन’ले नेपालीहरू घरभित्रै रहन बाध्य भए । तर, आफ्नै देशभित्र र विश्वमा के भइरहेको छ भन्ने जान्न–बुझ्न उनीहरूमा जिज्ञाशा बढ्यो ।



कोभिड–१९ र लकडाउनले सहज आवागमनका जुन खालको व्यवधान सिर्जना गर्‍यो, त्यही कारण पत्रकारिताको मूलधार मानिएको ‘प्रिन्ट मिडिया’ पहिले जसरी प्रभावकारी रूपमा छिटो र छरितोसँग सूचना सम्प्रेषण गर्न सक्ने स्थिति रहेन । असहज परिस्थितिका कारण कतिपय पत्रिकाहरू त बन्द नै भए । छिटो, छरितो र सहजरूपमा सूचना सम्प्रेषण गर्नसक्ने प्रविधिका कारण अनलाइन समाचार पोर्टलहरूको महत्व र आवश्यकता यसबीचमा बढ्यो ।

‘सूत्रन्यूज डटकम’को सुरुवात त्यही आवश्यकताको उपज हो ।

पढ्न, सुन्न र देख्न सकिने पत्रकारिता नै अहिलेको आवश्यकता हो । यसअघि हामी ‘सूत्र टिभी’को रूपमा देख्न र सुन्न सकिने पत्रकारितामा सीमित थियौँ । कोभिड–१९ का कारण सिर्जित परिस्थितिमा हामीले आफूलाई देख्न र सुन्नमात्र सकिने मिडियाबाट ‘पढ्न पनि सकिने’ मिडियाको रूपमा ‘अपग्रेड’ गर्ने प्रयासको थालनी गरेका छौँ ।

यसअघि हाम्रो परिचय ‘सूत्र टिभी’ (युट्युब च्यानल)को रूपमा सीमित थियो । युट्युबहरूको भीडमा हामी अलग र जिम्मेवार प्रकृतिको च्यानल त थियौँ, तर नेपाली पत्रकारिताले युट्युब च्यानलहरूलाई ‘मूलधारको मिडिया’को रूपमा स्वीकार नगरिसकेको स्थिति थियो, छ ।

‘सूत्र टिभी’लाई सूत्रन्युज डटकमको रूपमा गरिएको अपग्रेड युट्युब च्यानललाई पत्रकारिताको मूलधारमा ल्याउने प्रयास पनि हो । एउटा युट्युब च्यानललाई मूलधार मिडियाको रूपमा विकसित गर्न कति कठिन छ, त्यो हामीले बुझेका छौँ । तर, हामीले त्यो चुनौति स्वीकार गरेका छौँ ।

युट्युब च्यानलका कमी–कमजोरी हटाउँदै पत्रकारिताको मूल प्रवाहमा लैजाने चुनौती एकातिर छ भने अर्काेतिर ‘अनलाइन न्युज कन्टेन्ट’लाई पढ्नेमात्र होइन, सुन्न र देख्नसक्ने बनाउनु पनि उत्तिकै आवश्यकता छ ।

सूत्रन्युज डटकमको माध्यमबाट हामी युट्युब च्यानललाई कसरी पत्रकारिताको मूल प्रवाहमा लैजान सकिन्छ, त्यसको मानक स्थापित गर्ने प्रयासमा हुनेछौँ । साथै, नेपाली मूलधारका अनलाइनहरू मूलतः ‘रिटन कन्टेन्ट’ (लेखिएका सामाग्री)मा आधारित रहेकोमा पढ्न, सुन्न र देख्न सकिने अनलाइन बन्ने पनि हाम्रो प्रयास हुनेछ ।

हाम्रो यो नयाँ प्रयासमा तपाईँहरूको तर्फबाट पहिलेभन्दा अझ बढी सहयोगको अपेक्षा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट