अमेरिका हिँडेका दश नेपाली मेक्सिकोमा बन्धक, ८३ लाख फसेपछि उद्धार गर्न आग्रह-Sutra News

अमेरिका हिँडेका दश नेपाली मेक्सिकोमा बन्धक, ८३ लाख फसेपछि उद्धार गर्न आग्रह

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । अमेरिका पुर्‍याउँछु भन्दै मानव तस्करहरूले मेक्सिको लगेर दश जना नेपालीलाई बन्धक बनाएर राखेका छन् ।



रुकुम पश्चिम् मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका ‘सम्राट’ भनेर चिनिने खगेन्द्र रेउले र सोही नगरपालिका सल्ले घर भई हाल बाँकेको खजुरा बस्दै आएका पवन खड्काले अवैध बाटोबाट अमेरिका लैजाने भन्दै मेक्सिको पुर्‍याएर दश जनालाई बन्धक बनाएर राखेका हुन् ।

उनीहरूले मध्य अमेरिकी देशहरूमा लगेर बन्धक बनाउँदै फिरौती माग्दै गरेको पीडितले बताएका छन् । पीडितका अनुसार जनावरी १८ मा दुबईको एअरपोर्टबाट जोर्डन एअरले निकारागुवाको लागि उडान भरेको थियो । उक्त जहाज मानव तस्करहरूले चार्टर गरेको पीडितहरू बताउँछन् ।

दुबईबाट जोर्डन-मोरक्को हुँदै निकारागुवा गएको जहाजमा दुई नेपाली मानव तस्कर (चन्द्र गजमेर र अम्मर बहादुर ओली)सहित करिब १५० नेपाली र दुई सय भारतीय नागरिक सवार थिए ।

त्यसमध्ये ३० जना नेपालीलाई मध्य अमेरिकी देशहरूमा लगेर बन्धक बनाएर लुटपाट गरेको पीडितको भनाइ छ । सम्राट भनेर चिनिने खगेन्द्र र पवनको निर्देशनमा काठमाडौं स्वयम्भू घर बताउने चन्द्र र सुर्खेत घर भएका अम्मरले बन्धक बनाई माफिया लगाएर लुटपाट गरेका हुन ।

दुबईबाट जोर्डन-मोरक्को हुँदै निकारागुवा गएको विमान निकारागुवा अवतरण गरेपछि दुई मानव तस्करले ३० नेपालीलाई माफिया लगाएर होटेलमा राखेर बन्धक बनाएको पीडितहरु बताउँछन् । ‘माफियाले हामी सबैलाई होटेलको कोठामा थुनेर पहिला मोबाइल लगे, त्यसपछि हामीसँग भएको पैसा लगे,’ एक पीडितले भने, ‘एक डलर राख्छु भन्दा नि अम्मर ओलीले मेरो पर्स खोसेर सबै पैसा लग्यो ।’

सूचनाका अनुसार चन्द्र मेक्सिकोमा बसेर मानव तस्करीको काम गर्ने र अम्मरले अमेरिका गएर सोही काम गर्ने योजना बनाएर नेपालबाट गएका हुन । तर, अहिले उनीहरू मेक्सिको बोर्डर पार गरेर अमेरिका पुगिसकेका छन् ।

‘हामीले सम्राट र पवनको निर्देशनमा माफिया लगाएर उनीहरूबाट पैसा लिएका हौँ,’ अम्मरले भने, ‘त्यो पैसा हामीले फिर्ता गर्छौं भनेर लिएका थियौँ, तर सम्राट र पवनले फिर्ता नगर्न निर्देशन दिएपछि उनीहरूलाई फिर्ता गर्न सकेनौँ ।’

स्रोतअनुसार निकारागुवामा पैसा लिएपछि पीडितहरुलाई ग्वाटेमाला लगेर एक महिना बन्धक बनाएर राखिन्छ । त्यहाँ राखेर धम्की दिने निधारमा पेस्तोल ताकेर पैसा माग्ने गरेको पीडितहरुको भनाइ छ ।

पीडितबाट सम्राट र पवनले प्रतिव्यक्ति ८३ लाख असुली गरिसकेका छन् । पैसा असुलेर पनि पीडितहरूलाई पवन र सम्राटले मेक्सिकोमा बन्धक बनाएर राखेका छन् ।

स्रोतका अनुसार मेक्सिकोमा छोडिएका १९ जना भने मेक्सिको बोडर पार गरेर अमेरिका प्रस्थान गरिसकेका छन् । एक जनालाई मेक्सिकोमा बन्धक बनाएको एक महिनापछि छाडिएका छन् । १९ जनामध्ये दुई जना पवन निकट र अन्य सम्राट निकटका थिए ।

उनीहरुले आफू निकटका मान्छेलाई छाडेर अन्य ११ जनालाई बन्धक बनाएर राखेका हुन् । सम्राट र पवनले पीडितलाई बन्धक बनाएर अझै फिरौती मागिरहेको पीडितका आफन्तहरूले बताएका छन् । उनीहरूका अनुसार पवनले ज्यान मार्ने आसयको धम्की दिँदै पैसा मगिरहेका छन् । पवनले पैसाको बार्गेनिङ गरिरहेको प्राप्त अडियो सन्देशबाट प्रमाणित हुन्छ ।

पीडितलाई खानासमेत नदिएर राखिएको सम्राटले पीडितलाई पठाएको अडियो सन्देशले पुष्टि गर्छ । सम्राट र पवनले दिइएको तनाव सहन नसकेर पीडितहरूले आत्महत्या गर्ने प्रयास गरेको खुलेको छ ।

उनीहरुलाई बचाइदिन पीडितका आफन्तले हारगुहार गर्दा सम्राट र पवनले झनै दुःख दिने गरेको उनीहरुको भनाइ छ । ‘हाम्रो मान्छेलाई त्यहाँबाट निकलिदिनुस् भनेर फोन गर्छौं सम्राट र पवनले उल्टै तिमीहरूलाई केही न केही गर्नु पर्ने भो भन्दै धम्क्याउने गर्छन् रे, हामीले ८३ लाख बुझाइसकेका छौँ, यति धेरै पैसा लिएर नि हाम्रो मान्छे किन बन्धक बनाएर राखेका छन् थाहा छैन,’ एक पीडितका आफन्तले भने ।

उनीहरूले नेपालमा सहमति गरेको भन्दा दोब्बर पैसा माग्ने, भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट