लुम्बिनीमा सरकार विस्तार हुँदै, एमालेका मन्त्रीले आज शपथ लिने-Sutra News

लुम्बिनीमा सरकार विस्तार हुँदै, एमालेका मन्त्रीले आज शपथ लिने

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले बिहीबार सरकार विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै सरकार विस्तार गर्ने भएका हुन् ।



लुम्बिनी प्रदेश सरकार विस्तार गर्न दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै सरकार विस्तारको तयारी भएको हो । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्यो लगाएको हो ।

योसँगै प्रदेश सरकारमा एमालेबाट पाँच, माओवादीबाट मुख्यमन्त्रीसहित दुई, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय लिने गरी सहमति भएको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्यले सरकारमा नेतृत्व गर्ने भएका छन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, एमालेबाट भूमिश्वर ढकालले सहकारी विकास, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले वन र रत्नबहादुर खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

माओवादीबाट दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीबाहेक माओवादीबाट थप एक मन्त्री बन्ने छन् ।

यसैगरी जसपाबाट भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भए पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबण्डाअनुसार दुई वटा मन्त्रालय थप्नु पर्ने देखिन्छ ।

लुम्बिनी प्रदेशमा विषयगत समिति सभापतिमा भने सत्तापक्ष र विपक्ष दलबीच सभापति बाँडफाँट भएको हो । बुधबार ६ विषयगत समिति र विशेषाधिकार समिति गरी सात वटा समितिमा सात जनाको मात्र उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत रूपमा नेतृत्व छानिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट