एमालेका लागि फलिफाप हुँदा कांग्रेसभित्र अत्यास, रविको मिसन–८४ माथि ठूलाे धक्का-Sutra News

एमालेका लागि फलिफाप हुँदा कांग्रेसभित्र अत्यास, रविको मिसन–८४ माथि ठूलाे धक्का

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतकाे इलाम–२ र प्रदेशसभाअन्तर्गतकाे बझाङ–१(१)काे उपनिर्वाचन नेकपा (एमाले) एक्लैले जित्याे । दुबै क्षेत्रमा एमालेले जित निकाल्दा निकटतम प्रतिद्वन्दी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नै रह्यो ।



इलाम र बझाङले एमालेलाई ठूलो राहत प्रदान गर्दा मिसन–८४ को लक्ष्यमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ठूलाे धक्का लाग्याे । रास्वपाले इलाममा जमानतसमेत जाेगाउन सकेन । जमानतसमेत जाेगाउन नसकेपछि रास्वपाकाे मिसन-८४ पनि ८१ मै टुंग्गिएकाे विश्लेषण अहिले राजनीतिक वृतमा भइरहेकाे छ ।

उम्मेदवारी मनोनयनदेखि नै इलाम उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठा नै बनाएको रास्वपाले आफ्ना उम्मेदवारको जमानत समेत जोगाउन नसक्दा मिसन ८४ मार्फत बहुमत हासिल गर्ने घोषणा पनि अलपत्र परेको बुझाइ धेरैकाे छ । उपप्रधान तथा गृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सहित दर्जनौं केन्द्रीय नेता र सांसदहरू खटिए पनि रास्वपाका लागि इलाम उपनिर्वाचन केवल राजनीतिक पर्यटनमा मात्रै सिमित बन्यो ।

रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेसहित उच्च तहका नेताहरू नै सहकारी ठगी प्रकरणमा मुछिएपछि त्यसको असर इलाम २ मा परेको बुझ्न कठिन छैन । दोस्रो पटक उपप्रधान सहित गृहमन्त्री बनेका लामिछानेले मन्त्री बनेकै दिनदेखि सहकारी ठगीको आरोपको सामना गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दा संसदीय छानबिनको लागि समेत तयार नभएपछि रास्वपाको यो हविगत बनेको कतिपयकाे टिप्पणी छ ।

उपनिर्वाचनमा मतदानमार्फत इलाम २ का जनताले सहकारी ठगीमा निष्पक्ष छानबिन गर्नसमेत रास्वपामाथि दबाब बढाएको विश्लेषण हुन थालेको छ । उनकै पार्टीका कतिपयले साेबारे सार्वजनिकरूपमा धारणा राखेका छन् ।

इलाम २ मा भएको उपनिर्वाचनमा आफ्ना बाबुको विरासत कायम राख्दै एमालेका उम्मेदवार सुहाङ नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का २१ हजार ९ सय ४२ मतमै रोकिएपछि सुहाङले ५ हजार ८ सय ३० को मतान्तरले जित निकाले । अघिल्लो आम निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग १४४ मतको झिनो अन्तरले पराजित भएका खड्काले यसपटक आफ्नो अघिल्लो निर्वाचनको मत समेत जोगाउन सकेनन् । अघिल्लो आम निर्वाचनमा दिवंगत एमाले नेता सुवासचन्द्र नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ भोट प्राप्त गरेका थिए ।

भलै त्यो निर्वाचनमा खड्कालाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका तत्कालीन गठबन्धनका अन्य दलको समेत समर्थन थियो । त्यस हिसाबले इलाम २ मा कांग्रेस पराजित हुनुमा यसपटक गठबन्धनको साथ टुट्नुलाई पनि मानिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम–२ को नेपाली कांग्रेसको मत पहिचान पक्षधर तर्फ गएको देखिएको दाबी गर्दै एमालेका जनजाति पृष्ठभुमिका उम्मेदवार हुनुको नाताले कांग्रेसको धेरै मत पहिचान पक्षधरतर्फ गएको र यसको आवश्यक समिक्षा हुने बताएका छन् । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पहिचान पक्षधरलाई सहयोग गरेका विषय पनि कांग्रेसभित्र गाइगुई चल्न थालेको छ ।

यता इलाम–२ को उपनिर्वाचनमा तेस्रो स्थान हासिल गरेका पहिचान पक्षधरहरूले पाएको मतभार हेर्दा, कोशी प्रदेशमा पछिल्लो समयमा निकै पेचिलो बन्दै गएको पहिचानको मुद्दालाई उचित ढंगले निकास दिन दबाब दिएका छन् । उपनिर्वाचनका क्रममा इलाम पुगेका कांग्रेस, एमाले र रास्वपाका नेताहरूले समेत आफूहरू पहिचान पक्षधर नै रहेको दाबी गर्दै गर्दा कोशी प्रदेशको पहिचानको मुद्दालाई नयाँ ढंगबाट सम्बोधन गर्नुपर्ने दायित्व थपिएको छ । पहिचान पक्षधरहरूले पनि इलाम–२ मा पाएको मतलाई सम्मानजनक मान्दै यसले पहिचानको पक्षमा दलहरूलाई सोच्न बाध्य बनाउने टिप्पणी गरेका छन् ।

कोशी प्रदेश नामाकरणदेखि असन्तुष्ट रहेका पहिचान पक्षधरहरू एक ठाउँमा उभिदाँ पहिचान पक्षधरहरूले इलाम–२ को मतलाई मुलधारका दलहरूले स्वीकार नगरे आगामी दिनमा थप सशक्त बनाउने उर्जा मिलेको भन्दै रास्वपाले अपेक्षित मत नपाउँदा जित निकाल्न भने चुकेको आन्तरिक विश्लेषण गरेका छन् । अब पनि पहिचानको मुद्दाको उचित निराकरण नभए मेचीदेखि महाकालीसम्म नै पहिचान पक्षधरबिच चुनावी समीकरण बनाउनुपर्ने चर्चा हुन थालेको छ ।

बझाङको प्रदेशसभाको एक र इलाम–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनले देशका प्रमुख शक्तिको रूपमा भने कांग्रेस-एमालेलाई स्वीकार गरेको प्रष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट