बाबुराम–उपेन्द्र फेरि नजिक, के एक हुन सक्छन् ?-Sutra News

बाबुराम–उपेन्द्र फेरि नजिक, के एक हुन सक्छन् ?

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताबाट पछि हटेका डा. बाबुराम भट्टराई फेरि उपेन्द्र यादवसँग नजिकिन थालेका छन् । वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा लागिरहेका भट्टराईले उपनिर्वाचनलाई उपयोग गर्दै यादवसँग सहकार्यको थालनी गरेका हुन् ।



वैशाख १५ मा हुँदै गरेको इलाम–२ को उपनिर्वाचनमा यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने घोषणा गर्दा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि थेगिमलाई नै उम्मेदवार मानेको छ । थेगिमलाई साझा उम्मेदवार मान्दै गर्दा भट्टराई–यादव पुनः सहकार्यको अवस्थामा देखिएका हुन् ।

इलाम–२ मा थेगिमको पक्षमा भट्टराई र यादव उभिँदा पहिचान पक्षधर मानिने धरानका मेयर हर्क साम्पाङ्गले पक्षमै अभियान चलाइरहेका छन् । सिंगो पहिचान पक्षधर सँगै हुँदा भट्टराई र यादवले पनि एजेन्डागतरुपमा सहकार्यको थालनी गरेका हुन् ।

पहिचान पक्षधर समूहहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरले उपनिर्वाचनलाई जनमत परीक्षणको रुपमा पनि व्याख्या गरेका छन् ।

यसअघिसम्म पहिचान पक्षधरको आन्दोलनप्रति सहमत देखिएको माओवादी केन्द्र अहिले एमाले उम्मेदवार सुहाङ नेम्वाङ्गलाई सघाउने पक्षमा देखिएको छ । नेपाली कांग्रेसले यसअघिकै उम्मेदवार डम्बर खड्कालाई अगाडि सार्दा माओवादीमा लामो समयदेखि जोडिएका मिलन लिम्मु पहिचान विरोधी पार्टी रास्वपाबाट उम्मेदवार बनेका छन् ।

यस्तोमा भट्टराई र यादवको सहकार्यलाई निकै अर्थपूर्ण मान्न सकिन्छ ।

२०७६ वैशाख २३ मा भट्टराई र यादवबीच सहकार्य हुँदै समाजवादी पार्टी घोषणा भएको थियो । पछि समाजवादी पार्टी घोषणाको एक वर्षमै राष्ट्रिय जनता पार्टीसँग एकता भएर जसपा बन्यो । मधेशवादी र सिंगो पहिचान पक्षधर एक भएको जसपालाई निकै बलियो शक्तिको रुपमा अथ्र्याइएको थियो ।

तर, विशेषगरी नेतृत्व पंक्तिका पात्रमा व्यक्तिगत टकराव हाबी हुँदा जसपा एकपछि अर्को गरी विभाजित भयो । महन्थ ठाकुर पार्टी एकताको एक वर्षमै जसपाबाट अलग भएका थिए भने भट्टराई पनि ठाकुर पक्ष बाहिरिएको एक वर्षमै जसपाबाट अलग भए ।

भट्टराई र यादव २०७९ असार ३१ औपचारिकरुपमा अलग भएका थिए । जसपाबाट अलग भएसँगै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए ।

जसपाबाट अलग भई नेसपा गठन गरेका भट्टराई २०७९ मंसिरको आम निर्वाचनसँगै भने पुनः माओवादी केन्द्रसँग नजिक भए । चुनावी अभियानको क्रममा उनले लगत्तै पार्टी एकता गर्ने बताएका थिए ।

तर, चुनावी परिणामपछि माओवादी केन्द्रसँग भट्टराईको दुरी बढ्यो । अहिले भट्टराई नेतृत्वको पार्टी नेसपा माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विभाजित छ । यस्तोमा भट्टराई पूर्वसहकर्मी यादवसँग सहकार्यको अवस्थामा जोडिन खोजेको छन् । भट्टराईसँग सहकार्यको वातावरण बन्दै गर्दा जसपामा पनि केही उत्साह देखिएको छ । लगातारको टुटफुट र विभाजन अनि मधेशमा नयाँ शक्तिहरुको उदयसँगै जसपामा निकै नैराश्यकता बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट