यात्रुको काल भन्दै जीर्ण सडक, पाँच वर्षमा ११ हजार जनाले गुमाए ज्यान-Sutra News

यात्रुको काल भन्दै जीर्ण सडक, पाँच वर्षमा ११ हजार जनाले गुमाए ज्यान

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् ।



नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् । एक बिहानै सुलोचनाका देवरले फोन गरे ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौं आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका रहेछन् ।

मध्यरातको २ बजे श्रीमानसँग फोन सम्पर्क गरी सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् । उनले श्रीमानलाई पटकपटक फोन सम्पर्क गर्न खोजिन् । तर, फोन लागेन ।

त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी पुगे । सुलोचनाको भने जाने हिम्मत बनेन । उनी पछि मात्र त्यहाँ पुगिन् । प्रकाश पनि दुर्घटनामा परेका थिए ।

दुर्घटनामा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीयबासी, आफन्तजन र प्रहरीको प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो ।

“प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ,” सुलोचनाले भनिन् ।

वित्त विषयमा एमफिल पूरा गरेकी सुलोचना विद्यावारिधिको तयारीमा थिइन् । श्रीमानको निधनसँगै उनको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ ।

नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए । उनको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ ।

लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौं आएको लु २ ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी सय मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाए । ४२ जना घाइते भए ।

उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् ।

यस्तै, गत चैत ५ गते रुकुम पश्चिमबाट मध्य पहाडी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो ।

दुर्घटनामा विक्रमको मृत्युसँगै एकल आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१-००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटना स्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो ।

बस सडकबाट अन्दाजी १५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै भे १ ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

यसैगरी गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए ।

प्रदेश ३-०१-२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौं प्रहरीले जनाएको छ ।

माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटना हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् ।

सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार ३०५ जनाले अकालमा ज्यान गुमाए । २७ हजार ७२६ व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार ३०३ जनाले अकालमा ज्यान गुमाएका छन् ।

सडक दुर्घटनाका मुख्य कारण

सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।

उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँच वटा रहेको बताएको छ ।

जसमा सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारी साधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ ।

नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारी साधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारीरिक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट