सर्लाहीमा युवकको शव फेला, छतबाट खस्दा पुरुषको मृत्यु-Sutra News

सर्लाहीमा युवकको शव फेला, छतबाट खस्दा पुरुषको मृत्यु

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१
काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका २ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।
बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । युवकको हत्या भएको वा आत्महत्या भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका १० का राउत मलङ्गवा नगरपालिका ९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट