बिदाइ हुँदा अतिरिक्त हुलाकका कर्मचारीले कति पाउँछन् सुविधा ?-Sutra News

बिदाइ हुँदा अतिरिक्त हुलाकका कर्मचारीले कति पाउँछन् सुविधा ?

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । बजेटमार्फत घोषणा गरिएको अतिरिक्त हुलाक खारेज कार्यक्रम कार्यान्वयनमा गएको छ । सरकारले अतिरिक्त हुलाक नियमावली, २०३४ लाई संशोधन गर्दै हुलाक खारेज गराउन कर्मचारीलाई स्वेच्छिक र अनिवार्य अवकाशको कार्यक्रम ल्याएको हो ।



संशोधित नियमावलीको नियम ७ (क)अनुसार अतिरिक्त हुलाकमा काम गर्ने ५८ वर्ष उमेर पूरा भएका सबै कर्मचारी अनिवार्य अवकाशमा परेका छन् । त्यस्तै, नियम १२ (ख)अनुसार ५८ वर्षभन्दा कम उमेर भएका कर्मचारीले भने स्वेच्छिक अवकाश लिन पाउनेछन् ।

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीले जिल्ला हुलाक कार्यालयमा साउन १० गतेभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । स्वेच्छिक अवकाश लिन नचाहेका कर्मचारीलाई भने निरन्तरता दिने व्यवस्था पनि सरकारले गरेको छ । नियमावलीको नियम १५ मा उक्त व्यवस्था गरिएको छ ।

अवकाश नलिने कर्मचारीले जिल्ला हुलाक कार्यालयले तोकेअनुसार काम गर्नुपर्ने बताइएको छ ।

हाल मुलुकभर तीन हजार ७४ अतिरिक्त हुलाक सेवा कार्यालय रहेका छन् । ती कार्यालयमा तीन हजार ७४ जना हुलाक प्रतिनिधि र सात हजार ७७९ जना वितरण र डाँकबाहक रहेका छन् ।

हुलाक सेवा विभागले जनाएअनुसार तीन हजार ७४ जना हुलाक प्रतिनिधिले मासिक आठ हजार ३१० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् भने बाँकीले सात हजार ७७९ वितरक र डाँकवाहकले मासिक सात हजार २७५ रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् ।

अवकाश लिँदा कति पाउँछन् सुविधा ?

अतिरिक्तका कर्मचारीलाई बिदाइ गर्दा उपदान वा पेन्सन पाउने व्यवस्था सरकारले गरेको छैन । यद्यपि, अतिरिक्त हुलाक नियमावली, २०३४ मा बिदाइ भएका कर्मचारीलाई उपचार खर्च बापत सेवा अवधिको आधारमा केही रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

नियमावलीको नियम १२ मा कर्मचारीले बिदाइ हुँदा पाउने रकमबारे व्यवस्था गरिएको छ । जुन नियमअनुसार कर्मचारीले प्रत्येक एक वर्ष बराबर आधा महिनाको तलब पाउनेछन् । जसका आधारमा १० वर्ष काम गरेको कर्मचारीले आफ्नो सुरु पारिश्रमिकको ५ महिना बराबरको तलब पाउनेछ ।

तर, सरकारले अहिले अनिवार्य र स्वेच्छिक अवकाशमा जाने कर्मचारी थप सुविधा दिने निर्णय गरेको छ । जुन व्यवस्थाअनुसार सेवा अवधिका आधारमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म थप रकम पाउनेछन् ।

एकदेखि १० वर्ष सेवा गरेकाले ५० प्रतिशत, ११देखि २० वर्षसम्म सेवा गरेकाले ६५ प्रतिशत, २१ देखि ३० वर्ष सेवा गरेकाले ८० प्रतिशत, ३१ वर्षदेखि ४० वर्ष सेवा गरेकाले ९० प्रतिशत र ४१ भन्दा माथि सेवा गरेकाले १०० प्रतिशत नै थप रकम पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट