अशोक शर्माविरुद्ध ‘बाटो’का निर्माताले किन हाले उजुरी ?-Sutra News

अशोक शर्माविरुद्ध ‘बाटो’का निर्माताले किन हाले उजुरी ?

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं ।  टिजर र ट्रेलरबाटै चर्चामा रहेको फिल्म हो ‘बाटो : रोड टु डेथ’। मदन थापाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ ।



सडक थ्रिलर फिल्मलाई नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर ४ वटा भाषामा तयार गरिएको छ । फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

यता, फिल्म ‘बाटो’का निर्माता र वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन) बीचको लफडा बाहिरिएको छ । फिल्मको प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै वितरक कम्पनी डीसीएनका प्रमुख अशोक शर्माविरुद्ध चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा उजुरी परेको छ ।

उजुरी पत्रमा उल्लेख भएअनुसार फिल्म ‘बाटो’का निर्माता चन्दन झाले डीसीएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेको आरोप लगाएका छन् । साथै, फिल्म वितरणका लागि डीसीएनले सहज वातावरण पनि नबनाएको र अन्य कम्पनीमार्फत रिलिज गर्न बाटो पनि खुल्ला नगरेको उनको गुनासो छ ।

पत्रमा भनिएको छ, ‘हामीले डीसीएनलाई मार्केटिङ प्रमोसन आदिका लागि रकम आग्रह गरका थियौँ । र, हाम्रो पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका थियौं । तर, डीसीएनले हाम्रो सो प्रस्ताव अस्वीकार गरेको हुनाले हामीले वर्तमान सम्झौता रद्ध गर्न पनि अनुरोध गयौं । तर, डीसीएनका अध्यक्ष अशोक शर्माले सम्झौता रद्ध वा परिमार्जन गर्न अस्वीकार गरी नेपालमा हाम्रो फिल्मको प्रदर्शनमा रोक लगाउने त्रास देखाउनु भयो । निर्माताको हैसियतले म अन्त्यन्त पीडित अवस्थामा छु ।’ निर्माता झाले यो विषयमा समस्या समाधानका लागि बोर्ड र निर्माता संघसँग अनुरोध गरेका छन् ।

‘एक वर्ष अगाडि डीसीएनसँग सम्झौता हुँदा हामीलाई पैसाको खाँचो थिएन । तर, अहिले अप्ठ्यारो परेकाले केही रकम मागेका थियौं । तर, अशोक शर्माले पैसा दिँदैनौं भन्नुभयो । अरुलाई वितरण गर्न दिन्छौं भन्दा पनि उहाँले मान्नुभएन । त्यस्तो गरे रिलिज नै गर्न दिन्न भन्नु भयो ।’ फिल्ममा डीसीएनले केही लगानी गर्नुपर्ने उनको अडान छ ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा छ । यस फिल्मको छायांकन शरण ऋषिले गरेका हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा काम गर्दै आएका छन्। फिल्म डब्बी एटमस साउन्डमा तयार भएको छ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार भएको हो । काठमाडौँ फिल्मका फाउन्डर समेत रहेका चन्दन झा फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट