पालिकाले आर्थिक सहयोग गरेपछि क्याम्पस पढ्ने विद्यार्थीको संख्या बढ्यो-Sutra News

पालिकाले आर्थिक सहयोग गरेपछि क्याम्पस पढ्ने विद्यार्थीको संख्या बढ्यो

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । जिल्लाको झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका ५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको संख्या वृद्धि भएको क्याम्पसले जनाएको छ ।



गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको संख्या ५३ रहेकामा यस वर्ष १४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो । सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गरेको क्याम्पस प्रमुख जिसीले बताए ।

क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा तीन हजार ५५०, दोस्रो र तेस्रो वर्षमा तीन हजार र चौथो वर्षमा दुई हजार पाँच सय भर्ना शुल्क र मासिक आठ सयका दरले शिक्षा शुल्क बुझाउनु पर्दथ्यो । गाउँपालिकाको सहयोगपछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ ।

क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक एक हजार लिने गरेको छ । क्याम्पस प्रमुख जिसीले भने, “व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नु पर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्ण रुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ ।” २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायअन्तर्गतका विषयमा पढाइ हुन्छ ।

क्याम्पसभर जम्मा २७० जना विद्यार्थी रहेका छन् । निःशुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ । पहिलो वर्षमा भर्ना भएका १४५ जना विद्यार्थीमध्ये १३० जना छात्रा रहेको क्याम्पसको तथ्यांक छ । प्रथम वर्षको रजिष्ट्रेसन सुरु नभएकाले विद्यार्थी संख्या बढेर १७० जनाको अनुमान गरिएको जिसीको भनाइ छ ।

यस वर्षपछि वृद्धि हुन थालेपछि क्याम्पस सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । आय स्रोतविहीन बस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको गाउँपालिका ५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीको भनाइ थियो ।

गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले जानकारी दिए । क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा निःशुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको उनले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २५ लाख र आर्थिक वर्ष २०८०/८१ मा २५ लाख उपलब्ध गराइसकेको छ । विद्यार्थी संख्याअनुसार थप व्यवस्था मिलाउने गाउँपालिकाको योजना रहेको छ ।

गौमुखी क्याम्पसमा अध्ययन गर्ने जुनसुकै पालिकाका विद्यार्थीको हकमा निःशुल्क हुने अध्यक्ष महतराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट