ठूला खेलमा कीर्तिमानधारी ब्याटर टिक्न सकस, कप्तान पौडेलले गरे एकल प्रदर्शनी-Sutra News

ठूला खेलमा कीर्तिमानधारी ब्याटर टिक्न सकस, कप्तान पौडेलले गरे एकल प्रदर्शनी

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बलियो टोली वेष्ट इण्डिज ‘ए’सँगको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोलीका विश्व कीर्तिमानधारी ब्याटरहरू टिक्न नसक्दा १६१ रनको लक्ष्य पूरा गर्न नसकेको हो ।



नेपालको घरेलु मैदानमा आइतबार भएको खेलमा बलिङतर्फ नेपालले कसिलो प्रदर्शन गरेको थियो । खेलको तेस्रो ओभरमा सागर ढकालले दुई विकेट लिँदै दुवै ओपनरलाई पेभिलियन फर्काउन सफल भएका थिए ।

सागरको बलिङमा ब्याटिङ गर्ने क्रममा आउट भएका वेष्ट इण्डिज ‘ए’का ओपनर जोनसन चार्ल्सले ११ र एलिक अथान्जे ६ रन मात्रै बनाए ।

यस्तै, कुशल भुर्तेलले वेष्ट इण्डिज ‘ए’का कप्तान रोस्टन चेज र केसी कार्टीलाई पेभिलियनको बाटो फर्काए ।

सोमपाल कामीले किमो पलको विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले आन्द्रे फेलचरलाई लोकेश बममार्फत आउट गराए ।

वेष्ट इण्डिज ‘ए’का लागि फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बलमा तीन छक्का प्रहार गरे । यस्तै, गुडाकेश मोती ३३ रन र कप्तान चेजले २३ रनको योगदान दिए ।

यता, नेपालको ब्याटिङमा कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । यस क्रममा उनले ४८ बल खेल्दै ६ चौका र दुई छक्का प्रहार गरे ।

शनिबार भएको पहिलो खेलमा २०५ रनको लक्ष्य पछ्याउँदा उनै कप्तान पौडेलले ११२ रन बनाएका थिए । उनको एकल प्रदर्शनीमा नेपाल पहिलो खेलमा विजयी भएको थियो । यस क्रममा उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । टी २० करिअरमा उनले पहिलो शतक बनाए ।

विजयी खेलमा कम बलमा शतक बनाउने कुशल मल्ल, कम बलमा अर्धशतक बनाउन दीपेन्द्र सिंह ऐरी जस्ता विश्व कीर्तिमानधारी खेलाडीसहित प्रमुख ब्याटरहरू चल्ल सकेनन् । टोलीलाई विजयी बनाउन कप्तान पौडेलले कप्तानी पारी खेले ।

पहिलो खेलमा विश्व विजेता टोली वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि विजयी हुने सम्भावना थियो । किनकी पहिलो खेलभन्दा दोस्रो खेलमा ४६ रनले कम लक्ष्य पाएको थियो । तर, नेपाल १० रनले पराजित बन्न पुग्यो ।

दोस्रो खेलमा पाँच खेलाडीहरू परिवर्तन भए पनि मुख्य खेलाडीहरूलाई परिवर्तन भएका थिएनन् । यस खेलमा विश्व कीर्तिमान बनाएका मल्ल र ऐरीले जम्मा पाँच रन मात्रै बनाए । मल्ल अनावश्यक रन लिन खोज्दा पहिलो बलमै रनआउट भए । ऐरीले व्यक्तिगत तीन रन बनाएपछि क्याचआउट भए ।

ओपनर तथा मुख्य ब्याटर कुशल भुर्तेलले दुई रन बनाउँदा अनिल शाह एक रनमै आउट भए । क्रिजमा गएका सोमपाल र आकाश चन्दले पनि अनावश्यक रन लिन खोज्दा रनआउट भए । एउटै खेलमा तीन खेलाडी रनआउट हुनु आफैमा पराजित हुनु हो ।

ओपनरको अवसर पाएका लोकेश बमको खुट्टामा समस्या भएसँगै राम्रो प्रदर्शन गर्न सकेनन् । गुल्सन झा र आरिफ शेख सम्हालिन खोजे पनि ठूला सट हान्ने क्रममा आउट बने । वेष्ट इण्डिज ‘ए’को दोस्रो खेलमा पनि कप्तान पौडेलबाहेक अन्य खेलाडीले टिक्ने धैर्यतासम्म राख्न सकेनन् ।

ठूलो टिममा टिकेका रोहित

ठूला प्रतिस्पर्धामा खेलाडी टिक्नु सबैभन्दा चुनौतीपूर्ण हुन्छ । वेष्ट इण्डिज ‘ए’ आफैमा विश्व विजेता टोली हो । टी २० र एक दिवशीय दुवै फम्र्याटमा यो टोलीले दुई–दुई पटक विश्वकपको उपाधि उचालेको छ ।

विश्व विजेता टोलीसँगको प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठूलो अवसर हो । तर, यही खेलमा नेपाली ब्याटरहरूले कमजोर प्रदर्शनी गरे । कुनै पनि ब्याटरले राम्रो रन बनाउन सकेनन् ।

तर, कप्तान रोहित पौडेलले सम्पन्न दुवै खेलमा राम्रो प्रदर्शन गरे । पहिलो खेलमा एक विकेट लिँदै ११२ रन बनाएका उनले दोस्रो खेलमा बलिङ गरेनन् । तर, ब्याटिङमा टिके । ७१ रनमा नटआउट बने । एकतर्फ उनी टिकिरहँदा अर्को क्रिजको विकेट खसिरह्यो ।

पहिलो खेलमा २७ बलमै अर्धशतक पूरा गरेका उनले ४७ बलमा शतक बनाए । दोस्रो खेलमा ३४ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका थिए ।

वेष्ट इण्डिज ‘ए’सँग नेपालले अब तीन खेल खेल्न बाँकी छ । दुई खेल सम्पन्न हुँदा शृङ्खला एक–एकको बराबरी बनाए पनि बाँकी खेलमा नेपालले कति सुधार गर्न सक्ला ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट