गठबन्धन भत्किने त्रास : माओवादीको पक्षमा एमाले उभिँदा माधव नेपाल सक्रिय-Sutra News

गठबन्धन भत्किने त्रास : माओवादीको पक्षमा एमाले उभिँदा माधव नेपाल सक्रिय

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धनभित्र विवाद बढिरहेका बेला गठबन्धन निर्माणमा मुख्य पात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विवाद मिलाउन सक्रिय बनेका छन् । सतहमा विवाद देखिएसँगै अध्यक्ष नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् ।



माओवादी केन्द्रको निर्णय सार्वजनिक भएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनले जसरी पनि सहमतिबाटै निकास खोज्नुपर्ने सुझाब प्रचण्डलाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“सहमतिलाई कुनै हालतमा तोड्नु हुँदैन, सहमतिबाटै निकास खोज्नुपर्छ”, अध्यक्ष नेपालले प्रचण्डलाई भनेको भनाई उद्र्धत गर्दै एक नेताले भने ।

गठबन्धन तोड्ने पक्षमा आफू नरहेको भन्दै राष्ट्रियसभा अध्यक्षको पद छाड्ने स्थिति नभएको बताएका छन् । “प्रधानमन्त्री छाड्दाको दिन संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुन्छ, यस्तो परिस्थितिमा कांग्रेसले सघाउनुको विकल्प छैन”, प्रचण्डको भनाई उद्र्धत गर्दै ती नेताले भने ।

प्रधानमन्त्रीसँगको छलफलपछि अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गरेको बुझिएको छ । उनले पनि सहमतिबाटै निकास खोज्न सुझाव दिएको स्रोतले बताएको छ ।

माओवादीको पक्षमा एमाले

राष्ट्रियसभा अध्यक्षको सन्दर्भमा एमाले माओवादी केन्द्रको पक्षमा देखिएको छ । अहिलेको शक्ति सन्तुलनलाई कायम राख्न पनि माओवादीको तर्फबाट अध्यक्ष हुनुपर्ने भनाई एमालेको छ ।

एक सञ्चार माध्यमसँगको कुराकानीमा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रको दाबी स्वभाविक भएको बताए । “राष्ट्रियसभामा माओवादी केन्द्रको दाबी स्वभाविक देखिन्छ, संवैधानिक परिषद्मा माओवादी केन्द्रको उपस्थिति प्रधानमन्त्रीको रुपमा मात्रै छ, भविष्यमा प्रधानमन्त्रीबाट प्रचण्ड हटेर अर्को कुनै दलको प्रधानमन्त्री हुँदा खेरि उसले स्वभाविकरुपमा आफ्नो भूमिका खोज्ने हुनसक्छ, यसलाई हामीले अन्यथा मानेका छैनौ”, उनले भनेका छन्, “अहिलेको शक्ति समीकरणअनुसार एकैतिर शक्ति केन्द्रीकृत हुने कुरा उचित छैन ।

उनले सत्ता गठबन्धनभित्र के हुने स्पष्ट भएपछि निर्णय लिने बताए । “एमाले कसरी अगाडि बढ्छ भन्ने विषय सत्ता गठबन्धनभित्र के हुन्छ भन्ने यकिन भएपछि हुन्छ, गठबन्धनको निर्णयपछि नै हामीले रणनीति बनाउन सक्छौं”, उनले भनेका छन् ।

बहुमत पुर्‍याउन एमालेको मत महत्वपूर्ण

५९ सदस्यीय राष्ट्रियसभामा अध्यक्ष बन्न २९ मत आवश्यक पर्दछ । आगामी फागुन २० पछि राष्ट्रियसभामा माओवादी केन्द्रसँग १७ र कांग्रेससँग १६ सिट हुनेछ ।

यस्तोमा दुवै दलले उम्मेदवारी दिएमा कसलाई बहुमत पुर्‍याउने भन्नेमा एमालेको मत महत्वपूर्ण हुनेछ । यद्यपि, १० सिट भएको एमालेको मत पूर्ण निर्णायक भने हुनेछैन ।

सम्बन्धित समाचार

राष्ट्रियसभा अध्यक्षमा किचलो : एमालेलाई ‘पुस १०’ उल्ट्याउने अवसर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट