इतर पक्षको रवैयाले किचलो, कांग्रेसमा देखियो ‘पुस १०’को त्रास-Sutra News

इतर पक्षको रवैयाले किचलो, कांग्रेसमा देखियो ‘पुस १०’को त्रास

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । कांग्रेस इतर पक्षको अहसयोगले राष्ट्रियसभा निर्वाचनतर्फ माओवादी केन्द्रको तर्फबाट कोशी प्रदेशमा उम्मेदवार बनेकी चम्पा कार्की पराजित भइन् । गठबन्धनभित्र स्पष्ट बहुमत हुँदा हुँदै पनि उनले हार व्यहोरिन् ।



गठबन्धनभित्रको अन्तरघातले हार व्यहोरेपछि माओवादी केन्द्र निकै असन्तुष्ट बनेको छ । विशेषगरी माओवादी केन्द्रभित्र हालको गठबन्धनको विकल्प खोज्नुपर्ने माग उठ्न थालेको छ ।

राष्ट्रियसभाको नतिजालगत्तै माओवादी केन्द्रभित्र समीक्षा भएको थियो । जसमा धेरैजसो नेताहरूले गठबन्धनकै विकल्प खोज्नुपर्ने सुझाब दिएका थिए ।

कोशी घटनापछि गठबन्धनकै समीक्षात्मक बैठक पनि भयो । जसमा कोशी घटनालाई तत्काल थाँती राखेर जानेगरी आत्मसमीक्षा पनि गरियो । तर, त्यसले माओवादी केन्द्रभित्रको असन्तुष्टि मथ्थर गरेको छैन ।

माओवादी केन्द्रले उक्त घटनापछि कांग्रेसलाई अप्ठ्यारो पार्ने रणनीति अख्तियार गर्न थालेको छ ।

माओवादी केन्द्रले लचकता होइन, अडान लिन थालेको छ । जसको पछिल्लो उदाहरण कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाउने प्रस्ताव हो । माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष आफूले पाउनुपर्ने बताउन थालेको छ ।

जुन यसअघिको सहमतिभन्दा विपरित भएको कांग्रेस नेताहरू बताउँछन् ।

माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष मात्रै होइन, अन्य सन्दर्भमा पनि अडान लिन थालेको छ । उसले सरकारकै नेतृत्व पाँचै वर्ष आफैंले पाउनुपर्ने पनि बताउन थालेको छ ।

सहमतिको बुँदा खोल्दै कांग्रेस

माओवादी केन्द्रका नेताहरूले बेला–बेला सरकारको नेतृत्वबारे बोल्ने गरेका छन् । पछिल्ला घटनापछि नेताहरूले घुमाउरो शैलीमा हालकै सरकार पाँचै वर्ष टिक्ने पनि बताइरहेका छन् ।

हालै एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले हालकै सरकार पाँचै वर्ष जाने अवस्था बनेको बताएका थिए । उनले संविधानको रक्षा र कार्यान्वयनका लागि वर्तमान गठबन्धन पाँचै वर्ष जानुपर्ने धारणा राखेका थिए ।

पुनमात्रै होइन् स्वयम् प्रधानमन्त्री प्रचण्डका सार्वजनिक अभिव्यक्ति पनि वर्तमान सरकार पाँचै वर्ष जान्छ भन्ने खालका छन् । नेताहरूले बताएअनुसार भित्रि बैठकमा पनि प्रचण्डले सोही कोणबाट अभिव्यक्ति दिन थालेका छन् ।

प्रचण्डसहित माओवादी नेताहरू त्यस्ता अभिव्यक्ति पछि कांग्रेसका नेताहरूले सार्वजनिकरुपमा सरकारको आलोपालोबारे बोल्न थालेका हुन् । पछिल्लो पटक कांग्रेसका नेता विमलेन्द्र निधी र डा. शंशाक कोइरालाले आलोपालोको सहमतिबारे बोलेका थिए ।

नेताहरूका अनुसार पाँच वर्षमध्ये साढे दुई वर्ष माओवादी केन्द्र, एक वर्ष एकीकृत समाजवादी र डेढ वर्ष कांग्रेसले सरकारको नेतृत्व लिने सहमति भएको छ ।

“अबको एक वर्षपछि प्रधानमन्त्री बन्ने पालो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हो र त्यसपछि ०८४ को चुनाव गराउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, यही समझदारी छ”, निधिले भनेका छन् ।

तर, अत्तो थप्दै इतर समूह

यद्यपि, कांग्रेसकै इतर समूह सरकारको नेतृत्वबारे भएको पूर्व सहमतिलाई मान्य पक्षमा देखिएको छैन । इतर समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने भन्दै गठबन्धनभित्र अर्को विवाद खडा गरिरहेको छ ।

इतर पक्षीय नेता शेखर कोइराला वर्तमान सरकारको विस्थापन अनिवार्य भएको बताउने गरेका छन् । उनले पछिल्लो समय निरन्तर कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताइरहेका छन् ।

“कांग्रेस नेतृत्वमा सरकार गठन अपरिहार्य नै भइसक्यो” कोइरालाले सार्वजनिकरुपमा भनेका छन् ।

जुन शैलीले एकातिर गठबन्धनभित्रको सहमतिलाई तोडिरहेको छ भने अर्कोतिर कांग्रेसले सत्ताको नेतृत्व पाउने भन्ने विषयलाई पनि पन्छाइरहेको नेताहरू बताउँछन् ।

“अहिलेको सत्ता जटिल समीकरणमा चलेको छ, यस्तो समीकरणलाई नबुझी बोल्ने र अडान लिने गरेको देखिन्छ”, कांग्रेसका एक नेताले भनेका छन्, “कोइराला समूहका नेताहरूको शैलीले कांग्रेसलाई नै अप्ठ्यारोमा पारिरहेको छ ।”

‘पुस १०’ को त्रास

गठबन्धनभित्र भएको सहमतिअनुसार माओवादी केन्द्रले अब साढे एक वर्ष सरकारको नेतृत्व सञ्चालन गर्न पाउँछ । विगत एक वर्षदेखि सरकार उसैले चलाइरहेको छ ।

तर, सरकारको नेतृत्व छाड्ने समय आउँदै गर्दा माओवादी केन्द्रलाई बिच्क्याउने शैलीमा गठबन्धनभित्रैबाट व्यवहार हुन थालेको छ । जसको प्रभाव माओवादी केन्द्रभित्र गठबन्धनकै विकल्प खोज्नेगरी छलफल प्रारम्भ भएको देखिन्छ ।

यी घटनाक्रमले कांग्रेसभित्र पुनः ‘पुस १०’ दोहोरिने त्रास सिर्जना भएको छ ।

२०७९ पुस १० मा सरकारको आलोपालो सुरुमा कसले गर्ने भन्ने सन्दर्भमा विवाद हुँदा माओवादी केन्द्र एमालेसँग सहकार्य गर्न पुगेको थियो । एमालेसँग सहकार्य गर्दै गर्दा राष्ट्रपतिको निर्वाचनसँगै माओवादी केन्द्र फेरि कांग्रेससँग सहकार्यमा जोडियो ।

सरकारको नेतृत्व हातमा लिएको र अंकगणितमा सहजता भएको माओवादी केन्द्र कांग्रेससँग असहज हुँदा एमालेसँग पुनः सहकार्यमा त जोडिन्न ? भन्ने त्रास कांग्रेसभित्र देखिन्छ । राजनीतिक विश्लेषक पुस १० को परिस्थिति आउन्न भन्ने स्थिति नरहेको बताउँछन् ।

“अहिलेको परिस्थिति करिब माओवादी अनुकुल छ, यस्तोमा वामपन्थीहरू फेरि एक हुँदैनन् भन्न सकिन्न”, वामपन्थी विश्लेषक लोककृष्ण भट्टराई भन्छन्, “कांग्रेसभित्रको शैलीले पनि वातावरण त्यस्तै बनाइरहेको छ ।”

पछिल्लो समय कांग्रेस संस्थापन पक्षका नेताहरूले आलोपालोको सहमतिबारे राखेको भनाईले गठबन्धनभित्रको गडबडलाई इंकित गर्ने उनी बताउँछन् ।

“कांग्रेसका नेताहरूले आलोपालोको सहमतिबारे बोलिरहेका छन् ? किन सहमति पालना हुनुपर्ने बताइरहेको छन् ?”, उनले भनेका छन्, “यसले परिस्थिति अर्कै बन्दै गरेको देखाउँछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट