राप्रपाभित्र बढ्दै विवाद, एक्लिँदै लिङ्देन-Sutra News

राप्रपाभित्र बढ्दै विवाद, एक्लिँदै लिङ्देन

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । राजावादी राप्रपाभित्र विवाद चर्किन थालेको छ । पार्टीभित्रको आन्तरिक विवाद नेताहरुबीचको आरोप–प्रत्यारोपसँगै सतहमा छताछुल्ल देखिन्छ । बढ्दो विवादसँगै एकताबद्ध देखिएको पार्टी गुटहरुमा विभाजित हुन थालेको छ ।



अहिले विशेषगरी पार्टी केन्द्रीय समितिको निर्णयअनुसार राजसंस्था पुनस्र्थापना र हिन्दु राष्ट्र कायम गराउने सवालमा आन्दोलनमा जाने वा नजाने भन्नेमा राप्रपाभित्र विवाद छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन तत्काल आन्दोलनको पक्षमा खुलेका छैनन् भने अन्य नेता सत्ता राजनीतिबाट बाहिरिँदै आन्दोलनमा होमिनुपर्ने पक्षमा देखिएका छन् । विवादले पार्टीलाई विभाजित र धुव्रीकृत बनाइरहेको छ ।

जसमा पछिल्लो समय विकसित घटनाक्रमले थप मलजल गर्न थालेको छ । व्यवस्थाविरुद्ध आन्दोलन गर्ने भन्ने उद्घोष गरेको पार्टी पद लेनदेनमा पनि बेलाबखत बारगेनिङ्गमा देखिन्छ । पार्टी निर्णयविपरित कोशीमा सभामुखका लागि दिइएको उम्मेदवारी र राष्ट्रियसभा निर्वाचनमा गरिएको गठबन्धनले पनि राप्रपाभित्रको विवाद पेचिलो बनाएको छ ।

कोशीबाट विवाद सतहमा

गत पुस १५ मा बसेको राप्रपा पदाधिकारी बैठकले कोशी प्रदेशको ‘सत्ता भागवण्डामा हिस्सा नलिने’ निर्णय गरेको थियो । उक्त बैठकले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आन्दोलनका लागि तयारी गर्ने पनि निर्णय गरेको थियो । जुन बैठकको निर्णय स्वयम् पार्टी अध्यक्षले बाचन गरेर सुनाएका थिए ।

तर, बैठकको निर्णय सेलाउन नपाउँदै अध्यक्ष लिङ्देनकै शुभेच्छाअनुसार कोशीमा अम्बरबहादुर विष्ट सभामुखको उम्मेदवार बने । अन्यबाट उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत निर्वाचित भए ।

तर, विष्टले उम्मेदवारी दिएलगत्तै राप्रपाको केन्द्रीय कार्यनिर्देशन समितिको बैठक बसेर उम्मेदवारी फिर्ता लिन निर्देशन गर्‍यो । सो विषयमा आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिलाई निर्देशन दियो ।

जुन घटनापछि सार्वजनिकरुपमै नेताहरुले पार्टी अध्यक्षको आलोचना गरिरहेका छन् । नेताहरुले सामूहिक ढंगले नै विरोध गरिरहेका छन् । जसपश्चात अध्यक्ष एकातिर अन्य पदाधिकारी टिम अर्कोतिर देखिएको छ ।

पार्टी विवाद बढ्दै जाँदा नेताहरु व्यक्तिगत आरोप–प्रत्यारोपमा समेत उत्रिएको देखिन्छ ।

व्यक्तिगत आरोप–प्रत्यारोपकै तहमा विवाद

पार्टीभित्रको विवाद बढ्दै जाँदा नेताहरु व्यक्तिगत आरोप–प्रत्यारोमा उत्रिन थालेका छन् । विशेषगरी अध्यक्ष लिङ्देनले खुलेरै नेताहरुको आलोचना गरिरहेका छन् ।

कोशी विवादपछि महामन्त्री धवलशमशेर राणाले पार्टी निर्णय अस्वीकार गरे अध्यक्षकै विकल्प खोज्नसक्ने संकेत गरे । जसपश्चात अध्यक्ष लिङ्देनले नेताहरुको हैसियतमाथि प्रश्न उठाएका छन् । साथै, उनले केन्द्रीय कार्यनिर्देशन समितिमा सहभागि नेताहरुमाथि प्रश्न गरेका छन् ।
कोशी विवादपछि लिङ्देन र राणाबीच खुलेरै आरोप–प्रत्यारोप चलिरहेको छ ।

यता, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबीचको विवाद पनि सतहमा देखिन्छ । अध्यक्ष लिङ्देनले मिश्रको हैसियतमाथि नै प्रश्न उठाएका छन् । उनले नवआगन्तुक मिश्रले राप्रपा नै नबुझेको भनेर आलोचना गरेका छन् । जुन टिप्पणीपछि दुईबीचको विवादमा मिडियामा छताछुल्ल छ ।

विशेषगरी मिडियामा छाएका पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीसँग पनि अध्यक्ष लिङ्देन असन्तुष्ट छन् । पार्टी निर्णयविपरित दुर्गा प्रसाइँको अभियानमा सहभागिता जनाएपछि लिङ्देनले शाहीको चर्को आलोचना गरेका थिए ।

त्यसयताका विभिन्न श्रृंखलाबद्ध दुईबीच दोहोरी चलिरहेको देखिन्छ ।

यहीबीच पार्टी अध्यक्ष लिङ्देनको विरुद्ध नेतृ रेखा थापा पनि विरोधमा उत्रिएकी छिन् । विशेषगरी थापा अमेरिका पुगेको विषयमा लिङ्देनले गरेको व्यंग्यात्मक टिप्पणीपछि थापाले आपत्ति जनाउँदै विरोध गरेकी हुन् । दुईबीच अहिले सामाजिक सञ्जालमै दोहोरी चलिरहेको छ ।

राप्रपाभित्रको विवादले पूर्वराजा असन्तुष्ट

पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनको नाममा शक्ति आर्जन गर्ने अभियानमा देखिएका छन् । उनले खुलेरै राजसंस्था फिर्ता गराउने शैलीमा अभिव्यक्ति दिइरहेका छन् ।

तर, यस्तोमा राजसंस्थाको पक्षमा रहेका दलहरुबीच एकता नहुनु र दलहरुभित्रै पनि विभाजन आउनुले उनी असन्तुष्ट बनेका छन् ।

विशेषगरी राजसंस्था पक्षधरलाई एकत्रित गराउन खोजेका ज्ञानेन्द्रको चाहना विपरित पार्टीहरु विभाजित भएपछि उनमा असन्तुष्टि बढेको हो । पूर्वराजा शाहले नेताहरुलाई बोलाएर जसबारे असन्तुष्टि पनि पोखिरहेका छन् ।

नागरिक अभिनन्दनमा झरेका शाहले यसबीच राप्रपाको मुख्य नेतृत्व पंक्तिसँग दुई पटक (झापा र भैरहवा)मा देखिने गरी संवाद गरेका थिए । उनले एकत्रित राप्रपाको सहयोग खोजेका थिए । तर, राप्रपा विभाजित हुँदा नेताहरुसँग उनी असन्तुष्ट बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट