मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुग्यो-Sutra News

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुग्यो

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ । माघ लागेसँगै तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ ।



दिउँसोको समयमा मनाङको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो ।

हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनको भनाइ थियो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ, खोलानालामा पानी जमेको छ, हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन, सवारी साधनको आवतजावत न्यून छ, पिउने पानी जोहो गर्नै मुस्किल छ ।’

यस्तै, चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मंसिरदेखि ठप्प भएको प्रजिअ लामिछानेले बताए । मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनको भनाइ थियो ।

अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।”

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट