आमाले दिइन कलेजोको टुक्रा, तीन वर्षीय छोराले पाए नयाँ जीवन-Sutra News

आमाले दिइन कलेजोको टुक्रा, तीन वर्षीय छोराले पाए नयाँ जीवन

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०
फाइल तस्बिर
काठमाडौं । आमाका लागि ‘सन्तान कलेजोको टुक्रा’ सरह हुन्छन । यो भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् ।
कलेजोमा भएको क्यान्सरले जीवनसँग संघर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा  सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो । कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा‍. श्रेष्ठको भनाइ थियो ।
हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो पहिलोपटक हो, चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने ।
बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुमित अग्रवाल र डा. वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए ।
दाताको काटिएको कलेजो तीन महिनामा ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा. श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि किमोथेरापी दिइएको थियो ।
आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि उपचारका लागि भारतको दिल्लीमा लगिएको थियो । तर, भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।
सीताले भनिन्, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।”
केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाखसम्म खर्च हुने बताए । तर, तीन वर्षे बालकको हकमा भने १५ लाख मात्रै अस्पतालले लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट