हिमपात नहुँदा हुम्लाका किसान चिन्तित, बाली उत्पादनमा कमी हुने-Sutra News

हिमपात नहुँदा हुम्लाका किसान चिन्तित, बाली उत्पादनमा कमी हुने

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन बढेको हो ।



पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे । यस वर्ष जिल्लामा दुई पटक मात्रै हिमपात भएको छ ।

त्यसले किसानमा खासै उत्साह छैन । जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन ।

मंसिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मंसिर र पुस दुई महिनासम्म हिमपात खासै भएन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ ।

सिमकोट गाउँपालिका ३ का स्थानीय पेमा लामाले भने, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवती रमाउने गर्थे, तर यस वर्ष त्यसो हुनसकेन, पुस महिना सकिएर माघको आज ८ गते भइसक्यो ।”

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मंसिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् ।

सिमकोट २ ठेहेका गौगोरा बोहराले भने, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ, विगतका वर्षमा कात्तिकदेखि फागुनसम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।”

यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् । पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन् ।

हुम्लाका किसानले सोचेजस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायत बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् ।

किसान चिसो बढेकोभन्दा पनि हिमपात नभएकाले खेतमा लगाइएको हिउँदे बाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका उच्च भेगमा हिमपात नहुँदा कृषक पनि चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट