टिकटक बन्दको निर्णयमा किन पुग्यो सरकार ?-Sutra News

टिकटक बन्दको निर्णयमा किन पुग्यो सरकार ?

सोमबार, २७ कार्तिक २०८०

सोमबार, २७ कार्तिक २०८०

काठमाडौं । सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णयले ठूलो तरंग सिर्जना गरेको छ । सरकारको निर्णयबाट सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै होइन, राजनीतिक वृत्त पनि तरंगित बनेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सत्तारुढ नेपाली कांग्रेसकै संस्थापन इतर पक्ष खुलेर लागेको छ ।



कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्णय फिर्ता लिनुपर्ने अडानसहित विरोधमा देखिएका छन् भने अन्य नेताहरुले पनि विरोधमा धारणा राखेका छन् । कांग्रेसको संस्थापन इतर पक्ष विरोधमा उभिँदा संस्थापन पक्ष भने मौन देखिएको छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले मन्द विरोध गरेका छन् । एमाले वृत्तबाट विशेषगरी बन्दभन्दा नियमनको उपाय अपनाउन सुझाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको निर्णयमाथि प्रश्न उठाएको छ भने राप्रपाले फिर्ता लिनुपर्ने बताएको छ । अन्यको भने खासै प्रतिक्रिया देखिन्न ।
सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सरकारको निर्णयमा विभाजित देखिएका छन् ।

सबै क्षेत्रलाई तरंगित पार्ने गरी टिकटक बन्दको निर्णयमा किन पुग्यो सरकार भन्ने प्रश्न अहिले अहम् बनेको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा साम्प्रदायिकता भड्काउने खालका गतिविधि धेरै भएपछि सञ्जाल बन्दको निर्णयमा पुगेको बताउँछिन् । उनका अनुसार धेरैको गुनासो र आग्रहपछि सरकार एप बन्द गराउने निर्णयमा पुगेको हो ।

“टिकटकबाट सामाजिक सद्भावमा खलल पारेका कुराहरू धेरै पहिलाबाट आइरहेका थिए, यसले पछिल्ला दिनहरूमा सामाजिक सद्भाव विथोल्ने गतिविधि बढाएको थियो, साम्प्रदायिकता भड्काउने खालका गतिविधि टिकटकमार्फत बढी भयो भन्ने गुनासो आएको थियो”, उनले भनेकी छिन्, “यसरी गुनासोहरू बढी आएपछि यसलाई नियमन गर्नेलगायतका विषयमा सरकारले अलि पहिलाबाटै तयारी गरेको थियो, संयोगले आज निर्णय भयो ।”

सबैभन्दा बढी उजुरी टिकटकका

टिकटक बन्द गर्ने निर्णय हुँदै गर्दा विरोधमा बोल्नेहरुले अभिव्यक्ति स्वतन्त्रताको विषयलाई अगाडि सारेका छन् । सरकारको कदम ‘उल्टो बाटोतर्फ उन्मुख’ भएको धेरैको प्रतिक्रिया छ ।

तथापी, नेपालमा टिकटकको प्रयोगमा सदुपयोगभन्दा दुरुपयोग धेरै भएको देखिन्छ । तथ्यांकलाई हेर्दा, अधिकांश साइबर अपराधका घटनाहरु टिकटकसँग सम्बन्धित छन् ।

प्रहरीको साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै साइबर अपराधसँग सम्बन्धित सात सय २१ उजुरी परेका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै छ सय २० वटा उजुरी परेका छन् । बिडम्बना, अधिकांश उजुरी टिकटकसँग सम्बन्धित छन् ।

जुन बढ्दो क्रममा देखिन्छ । जुन तथ्यांकलाई हेर्दा, टिकटकलाई सामान्यरुपमा लिन मिल्दैन ।

टिकटक बन्द गर्ने देश नेपाल मात्र होइन

नेपालमा बन्द हुने निर्णय गर्दैगर्दा धेरैलाई टिकटक नेपालमा मात्रै बन्द गरिएको भन्ने परेको छ । तर, यो एप नेपालमात्रै होइन विश्वका विभिन्न दर्जन बढी मुलुकमा बन्द भइसकेका छन् ।

कतिपयले यसलाई बन्दको प्रक्रियामा अगाडि बढाएका छन् भने कतिपयले गम्भीर निगरानीको सूचीमा राखेका छन् । टिकटकमाथि विशेषगरी डाटा चोरीको आरोप लाग्ने गरेको छ ।

हाल टिकटक छिमेकी मुलुक भारतसहित पाकिस्तान, अफगानिस्तान, ताइवान, बेलायत, डेनमार्क, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, क्यानडालगायतका थुप्रै देश प्रतिबन्ध छ ।

छिमेकी मुलुक भारतले लद्दाख घटनापछि टिकटक बन्द निर्णय गरेको थियो । भारतले आफ्ना नागरिकको गोप्य सूचना लगेको र सुरक्षा संवेदनशीलता बढाएको आरोप टिकटकमाथि लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट