कोशीमा कार्कीलाई सकस : एमालेलाई मनाउने कि गठबन्धनलाई ?-Sutra News

कोशीमा कार्कीलाई सकस : एमालेलाई मनाउने कि गठबन्धनलाई ?

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । कात्तिक ४ मा प्रदेशसभाबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री केदार कार्कीले कोशीमा ‘सहमतिको सरकार’ बनाउने बताएका थिए । उनले सबै दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । “मध्यावधि चुनावमा जानबाट रोक्न ९५ प्रतिशतभन्दा बढी सांसदले मलाई विश्वासको मत दिनुभएको छ, अब छिट्टै सहमतीय सरकार बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छु”, विश्वासको मत पाएपछि पत्रकारसँग कुराकानी गर्दै उनले भनेका थिए ।



तर, विश्वासको मत पाएको १० दिन बितिसक्दा पनि कार्कीले मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन् । कांग्रेसको इतर पक्षका नेता कार्की एमालेको सहयोगका गत असोज २७ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीलाई अहिले एमालेसँग मिलेर सरकार चलाउने कि गठबन्धनसँग मिल्ने ? सकस परेको छ ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको एमाले कांग्रेससँग मात्रै सत्ता सहकार्य गर्न चाहन्छ । एमालेले प्रष्टरूपमै सहमतीय सरकार बन्न नसक्ने बताएको छ । गठबन्धनमा आबद्ध दलहरुलाई सहभागि गराए आफू सरकारमा नरहने अडान एमालेले मुख्यमन्त्रीलाई भेटेर सुनाएको छ ।

एमालेको कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी एमाले र कांग्रेसका बीचमा हुने सहमतिबाट मात्रै अगाडि बढ्ने पक्षमा आफूहरु रहेको बताउँछन् । “माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा हामीले हुँदैन भनेका छौं, कसरी अगाडि बढ्ने भन्ने कांग्रेस र एमालेको बीचमा हुने सहमतिबाट मात्रै हुन्छ”, भण्डारीले भनेका छन् ।

एमालेले आफूँहरुलाई पाखा पन्छाएर सरकार बनाउने परिस्थिति बनाइएको खण्डमा सरकार ढाल्न पछि नपर्ने पनि चेतावनी दिएको छ । कार्कीलाई सम्भावित अप्ठ्याराबारे पनि एमालेले सचेत बनाएको उनले बताए ।

यता, गठबन्धनमा आबद्ध दलहरु भने एमालेलाई जसरी पनि सरकारबाट बाहिर राख्ने चाहनामा छन् । केन्द्रमा जस्तै कोशीमा पनि गठबन्धनकै सरकार हुनुपर्ने अडानमा दलहरु देखिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबदादुर देउवाले पनि एमाले बाहेकको सरकार बनाउन मुख्यमन्त्री कार्कीलाई सुझाएका थिए ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो गठबन्धनकै सरकारको रुपमा अगाडि बढाउन कार्की तयार हुनुपर्ने बताउँछन् । “गठबन्धनले मुख्यमन्त्रीका रुपमा स्वीकार गरिसकेको छ, दलहरुका बीचमा पनि सोही खालको समझदारी बनेको छ, मुख्यमन्त्रीले यसलाई कार्यान्वयनमा लैजान तदारुकता देखाउनुपर्छ”, उनले भनेका छन् ।

दलहरुबीच बनेको अहसमतिका कारण मुख्यमन्त्री कार्कीलाई अगाडि बढ्न अहसज बनेको छ । न उनी एमालेको साथ छाड्न सक्छन् न त गठबन्धनलाई मात्रै साथ लिन सक्छन् । उनी निकट एक नेता सबैलाई मनाएर सरकार विस्तारको प्रयास भइरहेको बताउँछन् ।

“यहाँको आवश्यकता सहमतीय नै हो, कसैलाई निषेध गरेर अगाडि बढ्न सकिन्न”, उनले भनेका छन्, “एमालेलाई पाखा पन्छाएर अगाडि बढ्ने परिस्थिति छैन, एमालेसँगै सहमति खोजेर अगाडि बढ्ने तयारी भइरहेको छ, छिट्टै सहमति जुट्छ भन्ने आशा गरौं ।”

कोशीको ‘विशिष्ट परिस्थिति’अनुसार कांग्रेस संस्थापन पनि एमालेसँगको सहमतिमै अगाडि बढ्ने पक्षमा रहेको उनले बताए । उनका अनुसार सरकारमा गठबन्धन आबद्ध सबै दल समेटिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट