गगन–शेखर समूह विभाजित, देउवालाई हाइसन्चाे-Sutra News

गगन–शेखर समूह विभाजित, देउवालाई हाइसन्चाे

शुक्रबार, ३ कार्तिक २०८०

शुक्रबार, ३ कार्तिक २०८०

काठमाडौं । एमालेसँग सहकार्य गर्दै पार्टी र गठबन्धनको निर्णयविपरित कोशीमा सरकार बनाएपछि नेपाली कांग्रेसको संस्थापन इतर समूहभित्र व्यापार अन्तरविरोध सिर्जना भएको छ । डा. शेखर कोइरालाको यस्तो कदमप्रति इतर पक्षकै अन्य नेताहरुले तिव्र असन्तुष्टि जनाएका छन् । कोशीको नाटकीय घटनासँगै विशेषतः इतर समूहका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच निकै दुरी बढेको छ ।



१४औं महाधिवेशनसँगै सहकार्यमा रहेका कोइराला र थापाबीच कोशी घटनासँगै बोलचालसमेत बन्द भएको छ । महामन्त्री थापाले कोइराला कदमको खुलेर आलोचना गरेका छन् । उनले कोइराला कदमले पार्टीभित्र विभाजनको अवस्था बनाएको बताएका छन् ।

“सभापतिसँग मैंले हात जोडेर भनेको छु– सबै निर्णय एक्लै, अँध्यारो कोठामा गर्ने अनि फोहोर सफा गर्ने बेलामा नबोलाउनुहोला, आफूले गरेको फोहोर आफैं सफा गर्नुहोला”, प्रेस युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले भनेका छन्, “वरिष्ठ नेताजी (शेखर कोइराला)सँग पनि भेटघाट नभएको महिना दिन भयो, भेटघाट हुँदा भन्नुपर्ने भनौंला, तर जे गरिरहनुभएको छ, सही गर्नुभएको छैन, यसले कांग्रेसलाई सही ठाउँमा लैजादैन ।”

महामन्त्री थापाले कोइरालाको विगतको शैलीमाथि पनि घुमाउरो ढंगले प्रश्न उठाएका छन् । उनले विगतमा संसदीय दलको निर्वाचनमा आफूलाई मत नआउनुमा कोइरालाको भूमिका त होइन ? भनि प्रश्न गरेका छन् ।

“संसदीय दलको चुनाव लड्ने बेला मेरो हिसाबकिताबमा ३६ जना सांसद पक्षमा छन्, माहोल अनुकूल छ, देश बदल्नुपर्छ भन्ने थियो, तर, अन्तिममा २५ मत मात्रै आयो”, उनले भनेका छन्, “किन मत घट्यो भन्ने हेर्दा भोट सभापतिलाई हालेर फोटो खिचेर सभापतिलाई देखाउने वा देखाउन लगाउने साथीहरू रहेछन् ।”

कोइराला र थापाबीच संसदीय दलको निर्वाचनदेखि नै क्रमशः दुरी बढेको देखिन्छ । जुन मन्त्री चयनको क्रममा थप सतहमा आएको थियो । कोइरालाले थापासँग छलफलसमेत नगरी धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाएका थिए ।

कोशी घटनापछि बेग्ला–बेग्लै समूह निर्माणको प्रयास

कोशी घटनापछि शेखर कोइराला एमालेसँग गठबन्धन बनाएर देशव्यापीरुपमै सत्ता पल्टाउने खेलमा लागेका छन् । एमालेको सहयोगले कोशीमा सत्ता हात पारेका कोइराला लगत्तै बागमती प्रदेशमा पनि आफ्नो पक्षको नेतृत्वमा सरकार बनाउने प्रयत्नमा जुटेका छन् ।

माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारलाई ढाल्ने गरी कोइराला समूहले छलफल प्रारम्भ गरिसकेको छ । एमालेको साथ पाइसकेको समूहले कांग्रेसको संस्थापन पक्षका सांसदहरुलाई आफ्नो पक्षमा पार्नेगरी खेल सुरु गरेको छ । बागमतीमा सत्ता परिवर्तनको खेलमा जुटेको कोइराला समूहका सांसदले बिहीबार महामन्त्री थापालाई भेटेका थिए ।

कोइराला समूहका नेताहरुले खुलेरै देशव्यापी सत्ता परिवर्तनको खेल सुरु भएको पनि बताएका छन् । दसैँ लगत्तै केन्द्रकै सरकार ढाल्ने उनीहरुको उद्घोष छ ।

यद्यपी, नेता कोइराला देशव्यापी सरकार परिवर्तनको खेलमा समूह बनाएर लागिरहँदा महामन्त्री थापा भने कोइराला कदमको विरुद्धमा खरो गरी उत्रिएका छन् । पछिल्ला घटनासँगै थापाले बेग्लै समूह निर्माणको पनि थालनी गरेका छन् ।

अर्का, महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेस रुपान्तरण अभियानका नेताहरुलाई समेटेर बेग्लै समूह निर्माणको थालनीमा थापा जुटेको देखिन्छ । पछिल्ला घटनाहरुका बीच थापाले संस्थापन पक्ष र कोइराला पक्ष दुवैको आलोचना गरिरहेका छन् । उनले आफूलाई बेग्लै धारको रुपमा उभ्याएका छन् ।

इतर पक्ष विभाजित हुँदा देउवालाई लाभ

कोशी घटनालाई हेर्दा, तत्कालका लागि कोइरालाले जित हात पारेका छन् । तर, कोशी घटनापछि इतर पक्षमा आएको विभाजनले भने पार्टी सभापति देउवालाई राम्रो लाभ हुने देखिन्छ ।

इतर पक्षले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने गरी केन्द्रमा योजना बनाएको थियो । जुन आफैं विभाजित भएसँगै देउवालाई थप सहज बनेको छ । कोशी घटनासँगै स्वयम् महामन्त्री थापा देउवाको पक्षमा उभिने अवस्था बनेको कांग्रेसका कतिपय नेताहरुको भनाई छ ।

८८ सांसद भएको कांग्रेसमा दलको नेता परिवर्तन गर्न ४५ सांसदको मत चाहिन्छ । २०७९ पुस ७ मा भएको दलको चुनावमा देउवाले ६४ मत पाउँदा गगनकुमार थापाले २५ मत पाएका थिए । तत्कालिन समय पनि इतर पक्ष विभाजित भएको थियो । तत्कालिन समय कोइराला निकटले देउवालाई सघाएका थिए ।

पछिल्लो घटनाक्रमसँगै संसदीय दलमा देउवा थप बलिया बनेका छन् । कोशी प्रकरणले दलको नेता परिवर्तनको सम्भावना टरेको छ । देउवानिकट एक नेताका अनुसार संसदीय दलमा देउवाको विरुद्धमा १५ सांसद पनि नहुने अवस्था बनेको छ ।

देउवा नेतृत्वमा रहिरहँदा केन्द्रमा गठबन्धन तोडिने सम्भावना छैन । कोशी घटनापछि देउवाले शेखरलाई लिखित सहमति गराएर नैतिकरुपमा समस्यामा पारिदिएका छन् ।

कोशीमा सत्ता आफ्नो पक्षमा पार्न सफल भएपनि अन्य प्रदेश भने अंकगणित कोइरालाका लागि सहज छैन । कोशी घटनापछि देउवाले अन्य प्रदेशमा आफ्नो पक्षलाई थप मजबुद बनाउनतर्फ लागेको नेताहरुको भनाई छ ।

कोशी प्रकरणसँगै आगामी पार्टी नेतृत्वमा पनि सभापति देउवा पक्षलाई नै सहज हुने अवस्था बनेको नेताहरुको बुझाई छ ।

“शेखर–गगन पक्षले केही सकस पार्छ भन्ने थियो, आफैं विभाजित बन्यो, यसले पार्टीभित्र अन्य गुट निर्माणलाई पनि रोकिदिएको छ”, देउवा निकट एक नेताले भनेका छन्, “आगामी नेतृत्वमा समेत अन्यको सम्भावना टरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट