पेचिलो बन्दै एसभित्रको विवाद, पार्टी भविष्य नै अन्योलमा-Sutra News

पेचिलो बन्दै एसभित्रको विवाद, पार्टी भविष्य नै अन्योलमा

सोमबार, १ असोज २०८०

सोमबार, १ असोज २०८०

काठमाडौं । आन्तरिक विवादका कारण सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकै संकटमा फसेको छ । आन्तरिक विवाद बढ्दै जाँदा पार्टीकै भविष्य के हुने अन्योलता छाएको छ । आन्तरिक विवादका कारण निराश बनेका नेता तथा कार्यकर्ता एकपछि अर्को गर्दै पार्टीबाट बाहिरिनसमेत थालेका छन् ।



पछिल्लो समय केन्द्रीय समितिको बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि)ले एकीकृत समाजवादीभित्र ठूलो हलचल मच्चाएको छ । अपानि जारी लगत्तै केही जिम्मेवार नेताहरुले घोषणै गरेर पार्टी छाडेका छन् । अपानि जारी भएकै दिन लुम्बिनी प्रदेश सचिवसमेत रहेका नेता राजु गुरुङ र दैलेख सहइन्चार्जसमेत रहेकी नेतृ सावित्रि मल्लले पार्टी छाडेका थिए ।

केहीले पार्टी नै परित्याग गर्दा अपानिको विषयलाई लिएर थुप्रै नेताहरुले विरोधस्वरुप जिम्मेवारी अस्वीकारसमेत गरेका छन् । जसमा नेतृ रामकुमारी झाँक्रीदेखि दिपक मनाङ्गेसम्म छन् । एकीकृत समाजवादीभित्र झलनाथ खनाल पक्षीय नेताहरुले अपानिप्रति निकै गहिरो असन्तुष्टि पोखेका छन् ।

अध्यक्ष माधव नेपालले जारी गराएको अपानिलाई स्वयम् खनालले ‘कोत पर्व’को संज्ञा दिएका छन् । “अपानि संस्थागतरुपमा जारी गरिनुपर्छ, जारी गरिएको अपानि त करिब–करिब कोत पर्वजस्तै छ”, उनले सार्वजनिकरुपमा भनेका छन्, “यसले पार्टीका इमानदार नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि सिर्जना गराएको छ, विद्रोहको भाव पैदा गराएको छ ।”

अपानि जारीपछि एकातिर पार्टी छाड्ने क्रम बढेको छ भने अर्कोतिर निष्क्रिय बन्ने क्रम बढेको छ । यहीबीच खनाल पक्षले अध्यक्ष माधव नेपाल पक्षमाथि राजनीतिकरुपमा प्रहारसमेत गर्न थालेको छ । खनाल पक्षले असहयोग गर्दै अध्यक्ष नेपाललाई अप्ठ्यारो पार्ने रणनीति अख्तियार गरेको देखिन्छ । जसमा गठबन्धन नेतृत्वको सरकारलाई समेत अप्ठ्यारो पार्नेगरी अभिव्यक्तिहरु आउन थालेका छन् ।

गठबन्धनभित्र दरार ल्याउने अभिव्यक्ति

आन्तरिकरुपमा अध्यक्ष नेपालप्रति असन्तुष्टि जनाइरहेको खनाल पक्षले सरकारका गतिविधिप्रति पनि विरोध जनाउन थालेको छ । सरकारका गतिविधि ‘जनताविरोधी’ हुन थालेको भन्दै खनाल पक्षीय नेताहरुले अभिव्यक्ति दिन थालेका छन् । गठबन्धन सरकारबाट पार्टी बाहिरिनुपर्ने पनि अभिव्यक्ति सार्वजनिक भएका छन् । जसले आन्तरिक विवादलाई थप पेचिलो पारेको छ ।

गत साता जनकपुर पुगेका सम्मानित नेता खनालले सरकारको भविष्य नरहेको टिप्पणी गरेका थिए । उनले सरकारका कामकारबाही सही नभएको भन्दै काँध थाप्न नहुने बताएका थिए । “सरकारको कामकारबाही ठिक छैन, यस्तै रह्यो भने सरकार धेरै दिन टिक्न सक्दैन”, खनालले भनेका थिए, “गलत कामका लागि काँध थाप्न हुन्न ।”

सरकारले एकपछि अर्को गर्दै बाह्य हस्तक्षेप निम्त्याइरहेको, धार्मिक र जातीय द्वन्द्व बढाउने सन्दर्भमा पनि भूमिका खेलेको, अर्थतन्त्रलाई थप धराशाही बनाएको जस्ता अभिव्यक्ति खनालले दिइरहेका छन् । जुन अभिव्यक्तिले अध्यक्ष नेपाललाई निकै असहज पनि बनाइरहेको देखिन्छ । एकातिर सरकारमै रहने र अर्कोतिर सरकारकै कटु आलोचना गरिँदा अध्यक्ष नेपाललाई नैतिकरुपमै प्रश्न उठेको छ ।

असहजता खोले माधवले

पार्टीभित्र विवाद बढाउने र गठबन्धनभित्र अविश्वास पैदा गराउने गरी खनालसहितका नेताहरुले दिएको अभिव्यक्तिबारे पार्टी अध्यक्ष माधव नेपालले मुख खोलेका छन् । उनले नेता खनाललाई संकेत गर्दै पार्टी विभाजन गर्ने र गठबन्धनभित्र अविश्वास सिर्जना गराउने ‘कुचेष्टा’ नगर्न चेतावनी दिएका छन् । गठबन्धन आफैंले निर्माण गरेको भन्दै उनले गठबन्धन भत्काउने कुरा सह्य नहुने बताएका छन् ।

“आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु”, सोमबार एक सार्वजनिक कार्यक्रमका बीच उनले भनेका छन्, “गठबन्धन हामीले नै बनाएको हो, यसका काम सही नभए सच्याउने हो तर, तोड्ने कुरा हुन्न, तोड्न खोज्ने परिवर्तनविरोधी हो ।”

अध्यक्ष नेपालले सरकारका सबै निर्णयहरु सरसल्लाह र छलफलमा हुने गरेको भन्दै बेठिकलाई ठिक गराउनसमेत मिल्ने भन्दै ‘अराजक अभिव्यक्ति’ नदिन पनि खनाललाई सुझाएका छन् ।

खनालसहितका नेताहरुले असन्तुष्टि जनाइरहेको बेला अध्यक्ष नेपालले दिएको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो । जसलाई आधार मान्दा एकीकृत समाजवादीभित्र विवाद निकै थप पेचिलो बन्दै गएको पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट