देउवाविरुद्ध काँग्रेसकै खबरदारी, आफ्नै मनमर्जीले चलेको आरोप-Sutra News

देउवाविरुद्ध काँग्रेसकै खबरदारी, आफ्नै मनमर्जीले चलेको आरोप

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक कार्यक्रममार्फत विरोधमा उत्रिएका छन्। पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको र केन्द्रीय समितिले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको दाबी गर्दै शेखर कोइराला पक्षले बुधबार राजधानीमा सार्वजनिक कार्यक्रममार्फत उनको विरोध गरेको हो।



कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित भएका हुन्। पराजयपछि उनले पार्टीमा आफूले भागबन्डाको राजनीति नगर्ने बताएका थिए। तर समय बित्दै जाँदा उनी पनि भागबन्डाका पक्षमा देखिएका छन्। साथै कोइरालाले सभापति देउवाले इतरपक्षसँग सामान्य छलफलसमेत नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन्। कोइराला पक्षले सभापति देउवको कार्यशैलीको प्रतिवाद गर्ने निर्णय यसअघि गरिसकेको छ। कोइरालाले आफूलाई देउवाले सभापतिपछिको वरीयता नदिएको, इतरपक्षबाट महाधिवेशनमा पदाधिकारी प्रत्यासी बनेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेको र पार्टीका भ्रातृ संगठनका प्रमुख तोक्दा परामर्श नगरेको गुनासो गर्दै आएका छन्।

सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट कोइरालानिकट युवा तथा विद्यार्थीले बुधबार राजधानीमा खबरदारी सभा गरेका छन्। स्थानीय तह निर्वाचनमा पनि देउवाले आफूनिकटहरूलाई मात्र उम्मेदवार बनाएको भन्दै असन्तुष्ट कोइराला पक्ष मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पेलाइमा पर्न सक्ने भयमा छ। यो भयलाई समेत चिर्न कोइराला पक्षका नेविसंघ, तरुण दल र महिला संघले आयोजना गरेको सभामा नेताहरूले देउवाले भ्रातृ संस्थामा एकलौटी गर्दा सिंगो पार्टी संगठनलाई क्षति पुगेको बताए।

खबरदारी सभामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान राख्न भ्रातृ संस्थालाई पूर्णता दिन सभापतिलाई अधिकार दिएको बताए। तापनि सभापति देउवाले भ्रातृ संगठन गठन र केन्द्रीय समितिलाई पूर्णता नदिएको उनले बताए। सभापति देउवाले गठन गरेका भ्रातृ संगठनहरूमा पनि एकलौटी गरेको आरोप लगाउँदै केसीले भने, ‘हामीलाई अध्यक्ष नदिए उपाध्यक्ष दिनुस्, त्यो पनि नभए महामन्त्री दिनुस् भनेको तर त्यसको सुनुवाइ भएन, यो दुःखद पक्ष हो।’

मंसिरमा पार्टीको १४औं महाधिवेशन भएपछि बसेको केन्द्रीय समिति बैठकले कार्यकाल गुजारेका भ्रातृ संगठनहरू भंग गर्न र नयाँ गठन गर्न सभापति देउवालाई अधिकार दिएको थियो। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देउवाले आधा दर्जन भ्रातृ संगठनका प्रमुखहरू विभिन्न चरणमा नियुक्त गरेका छन्। आफूनिकटलाई मात्र अध्यक्षमा नियुक्त गरेका देउवाले पदाधिकारी र कार्यसमितिलाई भने पूर्णता दिएका छैनन्।

देउवाले मंगलबार केन्द्रीय सदस्यमा १० जना मनोनीत गरेका छन्। तिनमा कोइराला पक्षका दुईजना मात्र छन्। देउवाले कोइराला समूहबाट पार्टी उपसभापतिमा प्रत्यासी बनेका चन्द्र भण्डारी र महामन्त्रीमा प्रत्यासी बनेका मीनेन्द्र रिजाललाई अहिलेसम्म केन्द्रीय सदस्य मनोनीत गरेका छैनन्। यसप्रति पनि कोइराला पक्षको चित्त दुखाइ छ। नेता रामचन्द्र पौडेललाई सभापति देउवापछिको वरीयतामा राखेको विषयमा पनि कोइराला पक्ष रुष्ट छ। देउवा विगतमा सभापतिमा पराजित हुँदा जित्ने पक्षले उनलाई दोस्रो मर्यादा क्रममा राखेकाले अहिले कोइरालालाई पनि सोही स्थान पाउनुपर्ने असन्तुष्टको माग छ।

नेता कोइरालाले स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको सम्मानमा बुधबार बिहान चियापान कार्यक्रम आयोजना गरे। पार्टीले सञ्चालन गरेको दुईदिने अभिमुखीकरणमा सहभागी हुन आएका पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखका साथै जिल्ला समन्वय समितिका संयोजकलाई चियापानमा आमन्त्रण गरिएको थियो। नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट