पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई गाउँपालिकाको थप रकम सहयोग-Sutra News

पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई गाउँपालिकाको थप रकम सहयोग

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक-एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने चारजनाको परिवारलाई एक-एक लाख रुपैयाँको दरले राहत रकम दिएको हो ।



गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहत रकम प्रदान गरेका हुन् । फाकफोकथुम गाउँपालिका-३ आमचोकमा पहिरोमा परेर एकै परिवारको चारजनाको मृत्यु भएको थियो ।

घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । पहिरोले कटुवाल परिवारको घर समेत पूर्ण रूपमा नष्ट गरेको छ । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहात उपलब्ध गराएको थियो ।

पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा मात्रै ६ जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम गाउँपालिकाको(१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको समेत पहिरोमा परेर मृत्यु भएको थियो । उनीहरूको परिवारलाई समेत राहत रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सरु राईले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले राई र शेर्माको परिवारलाई समेत जनही दुई-दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । इलाम जिल्लामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जनाले मात्रै राहत पाएका छन् । दुई जनाको राहत दिन मिल्ने नजिकको नातेदार नभएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट