कुलमानले भने – ग्यास र पेट्रोलियमको उपभोग बढाऔं, विद्युतको प्रयोग बढी गरौँ-Sutra News

कुलमानले भने – ग्यास र पेट्रोलियमको उपभोग बढाऔं, विद्युतको प्रयोग बढी गरौँ

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ देशमा पर्याप्त विद्युत उत्पादन भएकोले स्वदेशमै खर्चिन विभिन्न योजनाहरू अगाडि सारिएको बताएका छन् ।



साइट भिजिटको सिलसिलामा शनिवार रुपन्देही आइपुगेका घिसिङले प्राधिकरण देशमै विद्युत खपत गराउने योजनामा जुटेको बताएका हुन् ।

‘अहिले हामीलाई चाहिएको भन्दा ४०० मेगावाट विद्युत उत्पादन भइरहेको छ,’ घिसिङले भने, ‘इन्डक्सन कुकिङ, इलेक्ट्रिक भेइकल योजना देशमा अगाडि सार्नुपर्नेछ । इलेक्ट्रिक भेइकल चार्ज गर्न देशमा ५० प्रमुख ठाउँमा चार्जिङ सेन्टर बनाउँदै छौं । अब विद्युतको बढी प्रयोग गरौं, ग्यास र पेट्रोलियम पदार्थको कम प्रयोग गरौं ।’

उनले ठूला उद्योगहरूलाई चाहे जति विद्युत उपलब्ध गराउन प्राधिकरण तयार रहेको स्पष्ट पारे । परासी, सुनवल क्षेत्रका ठूला उद्योगलाई १३२ केभीए प्रसारण लाइन दिइने बताए । उनले तत्काल खपत गर्न सक्ने उद्योगलाई १३३ केभीए प्रसारण लाइन पनि प्राधिकरणले उपलब्ध गराउन सक्ने बताए ।

घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन, कानून नै बाधक भएको गुनासो समेत गरे । विभिन्न ऐन नियमका कारण काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने गरेको गुनासो गरे ।

एक्सटेन्सन लाइन विस्तार गर्न ‘राइट अफ वे’का लागि वन क्षेत्रहरूमा जग्गा अधिग्रहण प्रक्रिया लामो र जटिल हुँदा समयमै योजनाहरू सम्पन्न गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

‘वन क्षेत्रमा रुख काट्नका लागि मन्त्रीस्तरको निर्णय हुनुपर्‍यो । उक्त प्रक्रियामा पुग्दासम्म एक–डेढ वर्ष लाग्छ । स्वीकृति लिएर आउँदासम्म त्यहाँ रहेका रुखहरू पनि ठूला भइसकेका हुन्छन् । फेरि रिकाउन्ट गर्न पर्‍यो । यो प्रक्रिया नै अति जटिल हुँदा काम गर्न गाह्रो छ,’ घिसिङले भने ।

उनले देशका प्रमुख शहरहरूमा भूमिगत तार बिछ्याउने अभियान पनि थालिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट