खोपका कारण कोभिड-१९ को संक्रमण दर घट्दै-Sutra News

खोपका कारण कोभिड-१९ को संक्रमण दर घट्दै

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

झापा- कोडिभ-१९ को संक्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण संक्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए ।



उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड-१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उनले बताए ।

झापामा हालसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वाथ्य कार्यालयले जनाएको छ ।

झापामा कूल संक्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उनले बताए । ‘विगतमा एकै दिन कोडिभ-१९ बाट संक्रमण हुनेको दर ३०० सम्म पुग्थ्यो’, उनले भने, ‘खोप लगाउन सुरु गरेसँगै संक्रमणको दर घटेर ८० देखि ९० मा झरेको छ ।’ जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट