यही साता सरकारमा जाँदैछौँ: माधव नेपाल-Sutra News

यही साता सरकारमा जाँदैछौँ: माधव नेपाल

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

कास्की- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए ।



अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पारे । उनले भने,‘विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्‍याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।’

अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भने, ‘असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।’

प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गने । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए ।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट