सावित्रा नखेल्दा बंगलादेशको मनोबल उच्च-Sutra News

सावित्रा नखेल्दा बंगलादेशको मनोबल उच्च

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौं- राष्ट्रिय महिला लिग खेल्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकिन् । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसविरुद्ध बल ‘कन्ट्रोल’ गरेर ‘ल्याण्डिङ’ गर्ने क्रममा सावित्राले खुट्टामा चोट बोकेकी थिइन् । चोट लागेर घाइते भएपछि सावित्रा मैदान छाड्न बाध्य भइन् । त्यसअघि सावित्राले लिगमा पूरा खेल खेलेकी थिइन् । एपीएफ क्लबको मुख्य हतियार रहेकी सावित्राले २४ गोल गरिसकेकी छन् ।



चोटका कारण मैदानमा ढलेकी सावित्राको लगत्तै एमआरआई गरिएको थियो । रिपोर्टमा सावित्राको एन्टेरिएल क्रुसियल लिगामेन्ट (एसीएल) च्यातिएको पुष्टि भयो । त्यसपछि भने सावित्राले एक वर्ष मैदान छाड्नुपर्ने भयो । सावित्राले चोट बोकिरहेकै समय नेपालले दुई मैत्रीपूर्ण खेल र एएफसी महिला कप २०२२ छनोट खेल खेल्दैछ । 

यदि नेपाल एएफसी महिला कपमा छनोट भए सावित्रा पक्कै त्यति बेलासम्म फर्कने भने पक्का छ । तर त्यसअघिका मैत्रीपूर्ण खेल र छनोट खेलमै नेपाली टोलीमा सावित्राको अभाव खड्किएको छ । सावित्राले दक्षिण एसियाली महिला फुटबलमा नम्बर वान स्ट्राइकर र फिनिसरको रुपमा आफूलाई स्थापित गरिसकेकी छन् । नेपाल घरेलु लिग तथा अन्तर्राष्ट्रिय फुटबलमा मात्रै नभएर सावित्राले माल्दिभ्स लिगसहित भारतीय आई लिगमा सेथु एफसी र गोकुलम केरेलालाई लिग उपाधि नै जिताएकी छन् ।

तर यतिबेला हुन लागेको मैत्रीपूर्ण खेलमा सावित्राको अभावबीच बंगलादेशी महिला फुटबल टोली नेपाललाई पराजित गर्ने दाउमा छ । उसको मनोबल उच्च छ । त्यो पनि नेपालकै घरेलु मैदानमा । नेपाल र बंगलादेशबीचको दुई खेलमध्ये भोलि (बिहीबार) पहिलो तथा आइतबार दोस्रो खेल हुनेछ ।

पछिल्लो समय नेपाल र बंगलादेश विराटनगरमा भएको पाँचौ संस्करणको साफ च्याम्पियनसिपमा भिडेका थिए । सावित्राको प्रदर्शन प्रेरित नेपालले बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । जब महिला फुटबलमा सावित्राले अग्रपंक्तिको भूमिका निर्वाह गर्छिन् । तब विपक्षी टोलीको गोलपोष्ट र डिफेन्स लाइनको जिम्मेवारी पाएका खेलाडी र टोलीकै टाउको दुखाईको विषय बन्छ । 

तर यसपटक भने सावित्राबिना बंगलादेश नेपाललाई खुलेर दबाब दिन चाहन्छ । उसले यसअघिझै दबाब झेल्ने भन्दा पनि नेपाललाई दबाब सिर्जना गर्ने रणनीति बनाएको छ । खेलको अघिल्लो दिन भएको प्रि म्याच पत्रकार सम्मेलनमा बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोन र कप्तान सविना खातुनले सावित्राबिना आफूहरुले खुलेर खेल्ने र नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल हुने बताए । 

‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन् । उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो । तर उनी (सावित्रा) नहुँदा हाम्रो डिफेण्डरलाई दबाबमुक्त महसुस हुनेछ,’ बंगलादेशी प्रशिक्षक चोटोन भन्छन् । उनको भनाइअनुसार बंगलादेशले नेपालविरुद्ध काउण्टर खेल खेल्न सक्छ । रक्षापंक्तिमा बिना दबाब खेल्ने बताइरहँदा कप्तान तथा स्ट्राइकर सविना खातुन नेपालविरुद्ध अग्रपंक्तिबाट नेपाली डिफेन्सलाई दबाब बढाउने योजनामा छिन् । 

कप्तान सविनाले खेलअघि बोल्दै आफ्ना युवा खेलाडीबीच राम्रो तालमेल भएको र खेल प्रतिस्पर्धात्मक हुनेमा आशावादी रहेको बताइन् । ‘हामी तयार छौं । धेरै खेलाडी उमेर समूहबाट छन् । राम्रो तालमेल छ । प्रतिस्पर्धात्मक खेल हुनेमा आशावादी छु,’ कप्तान सविनाले भनिन् । यता, नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राबिना ‘पावर गेम’ भन्दा ‘टिम गेम’मा जोड गर्ने र नयाँ खेलाडीले सावित्राको अभाव हुन नदिने विश्वास व्यक्त गरे । फाइल तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट